दमक, झापा – सामाजिक सेवामा लामो समयदेखि सक्रिय रोटरी क्लब अफ दमकले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा गोर्खा डिपार्टमेन्टको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले प्रमुख अतिथिको रूपमा गर्नुभयो।
अध्यक्ष अग्रवालका अनुसार क्लबले प्रत्येक वर्षजस्तै यो वर्ष पनि स्थापना दिवसलाई रक्तदान जस्ता सामाजिक क्रियाकलापमार्फत अर्थपूर्ण बनाउँदै आएको छ। कार्यक्रममा क्लबका सदस्यहरू सहित लाइन लाइन अस्पतालका प्रतिनिधि, जीवन चक्र समाजका सदस्य तथा ग्लोबल एजुकेशनल एकेडेमीका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा कुल ५२ पिन्ट रगत संकलन गरिएको क्लबले जानकारी दिएको छ।
यस्तै, स्थापना दिवसकै अवसरमा हालैको आन्दोलनका क्रममा क्षति पुगेका इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकलाई एक/एक थान कुर्सी तथा टेबल हस्तान्तरण गरिएको जनाइएको छ। उक्त सामग्री उपप्रमुख रेगिना भट्टराई प्रसाईँ र क्लब अध्यक्ष अग्रवालले ईप्रका दमकका प्रमुख किशोर लम्साल तथा ट्राफिक प्रहरी प्रमुख विजय राईलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो।





