झापा, दमक — दमक ९ चियादोकानमा ‘मुनलाइट होटल एण्ड लज’ तथा ‘मुनलाइट क्याफे एण्ड रेस्टुरेन्ट’ भव्य समारोहका साथ उद्घाटन गरिएको छ। सुविधा सम्पन्न संरचना, आधुनिक अवधारणा र युवा उद्यमशीलताको उत्कृष्ट संयोजनका रूपमा अगाडि आएको यो व्यवसायको शुभारम्भ नेपालका चर्चित कलाकार धिरेन शाक्यले गरेका हुन्।
युवा व्यवसायी मोहन बस्नेतले मेहनत, लगनशीलता र दूरदृष्टिकाले निर्माण गरेका यी संरचनाहरू दमक क्षेत्रको पर्यटन तथा आतिथ्य सेवामा नयाँ वातावारण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रमलाई दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, इलाका प्रहरी कार्यालयका प्रमुख किशोर लम्साल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, कमल गाउँपालिकाका उपाध्यक्ष, होटल व्यवसायी संघका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपाने, उर्लाबारीका पूर्व मेयर खड्ग फागो, सामाजिक व्यक्तित्व बुद्धि थापा, नम चेम्जोङ तथा अन्य प्रतिष्ठित व्यक्तित्व, पत्रकार, व्यापारी र युवाहरूको उपस्थितिले झनै भव्य बनाएको थियो।
युवाहरूको उल्लेखनीय उपस्थितिले व्यवसायी मोहन बस्नेतलाई हौसला प्रदान गर्नुका साथै स्वदेशमै केही गर्न सक्ने आत्मविश्वास अझ मजबुत भएको बताइएको छ। विपरीत परिस्थितिमा पनि स्वदेशमै रोजगारी, सेवा र आतिथ्यताको क्षेत्रमा योगदान दिनु आफैँमा अनुकरणीय कदमको रूपमा हेरिएको छ।
मुनलाइट होटल तथा क्याफे सञ्चालनमा आएसँगै दमक क्षेत्रको सेवा, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ।






