दमक, १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार देशभर विविध कार्यक्रमका साथ मनाइएको छ। अपाङ्गता भएका नागरिकहरूको हक अधिकार, समानता र समावेशिताको प्रवर्द्धनका उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९२देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर यो दिवस मनाउँदै आएको छ।
यस वर्षको दिवसको नार ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ रहेको छ। सोही अवसरमा दमकमा पनि ‘अपाङ्गता हामी एक हौँ’ लेखिएका पलेकार्डसहित र्याली निकालिएको थियो। र्यालीपछि आकसे पुल छेउमा एक विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा तथा उपप्रमुख रेगिना भट्टराई प्रसाई रहेका थिए। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सामाजिक संस्था, अपाङ्गता क्षेत्रमा क्रियाशील संघ–संस्था तथा अपाङ्गता भएका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा अपाङ्गता भए पनि विभिन्न पेशा–व्यवसायमार्फत जीवन निर्वाह गरिरहेका व्यक्तिहरू तथा अपाङ्गता क्षेत्रमा योगदान पुर्याउने सहयोगी व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा क्रितिम हात प्रयोग गरी माइक समातेका एक अपाङ्ग व्यक्तिको प्रस्तुतीले सहभागीहरू चकित बनेका थिए।
कार्यक्रम सञ्चालन राष्ट्रिय अपाङ्ग महासंघ, दमक अपाङ्गता सहयोग समितिका सचिव मदन बोहोराले गरे।
उपप्रमुख रेगिना भट्टराई प्रसाईले अपाङ्गता अपराध नभई शारीरिक अशक्तता मात्रै भएको बताउँदै, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज जीवनयापन गर्न सदैव साथ दिने प्रतिबद्धता व्यक्त गरिन्।
दमक अपाङ्ग सहयोग समितिकी कार्यवाहक अध्यक्ष मनमाया तिम्सिनाले दिवसका विविध कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन्।
स्थानीय तह तथा राज्यले निरन्तर सहयोग र बलियो नीतिगत आधार प्रदान गर्न सके अपाङ्गता भएका व्यक्तिहरूले अझै सहज, सम्मानजनक र आत्मनिर्भरतापूर्ण जीवन बिताउन सक्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।





