Author: Multi Media

  • इन्द्रणी तालमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण, डुङ्गा सेवासँगै चहलपहल वृद्धि

    इन्द्रणी तालमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण, डुङ्गा सेवासँगै चहलपहल वृद्धि

    दमक, मंसिर ८ । झापाको दमक–१० स्थित इन्द्रणी ताल पछिल्ला दिनमा आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा तेजीका साथ उदाउँदै गएको छ। महिनौँदेखि ओझेलमा परेको यो ताल स्थानीयवासीको सक्रियता, संरक्षण र प्रवर्द्धनका कारण पुनः आकर्षणको केन्द्र बनेको छ।

    हालै स्थानीय युवा रोहित राईले संचालनमा ल्याएको डुङ्गा सेवाले तालमा थप चहलपहल बढाएको छ। दैनिकजसो दमक, गौरादह, कमल र उर्लाबारीबाट आन्तरिक पर्यटकहरु आकर्षित भई दृश्य कैद गर्न र रमाइलो गर्न इन्द्रणी ताल पुगेका देखिन्छन्। विशेषगरी सामाजिक सञ्जाल टिकटकमा तालका दृश्य भाइरल भएपछि यहाँ आउने भीड अझ बढेको स्थानीयले बताए।

    पहिले नै पर्यटनका हिसाबले सम्भावना बोकेको भए पनि सम्बन्धित निकायहरूको बेवास्ताका कारण इन्द्रणी ताल लामो समयसम्म आवश्यक प्रचार–प्रसारमा पछि परेको थियो। तर हाल युवाहरूको निरन्तर चासो र पहलका कारण ताल पुनर्जीवित भएको जस्तो दृश्य देखिन थालेको छ।

    दमक चोकबाट करिब ७.५ किलोमिटर दक्षिणमा अवस्थित यो तालसम्म पुग्ने कालोपत्रे सडक पनि निर्माण भइसकेको छ, जसले यात्रालाई सहज बनाएको छ। साथै, ताल परिसरको सडक किनारमा स्थानीय युवाले विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरणलाई सम्वर्द्धन गरेसँगै यहाँको प्राकृतिक सौन्दर्य अझ निखरिएको छ।

    स्थानीयवासीका अनुसार इन्द्रणी तालमा दैनिक आउने सर्वसाधारण तथा पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ, र नजिकिँदै गरेको चाडपर्व तथा विहार–भ्रमण मौसमका कारण आगामी दिनमा यहाँको पर्यटन गतिविधि झनै बढ्ने अपेक्षा गरिएको छ।

  • भीम पौडेलको प्रभावशाली नेतृत्वमा दमक–७ को मुहार फेरियो, विकास र व्यवस्थापनमा उदाहरणीय कार्य

    भीम पौडेलको प्रभावशाली नेतृत्वमा दमक–७ को मुहार फेरियो, विकास र व्यवस्थापनमा उदाहरणीय कार्य

    मङ्सिर ७, दमक / दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौडेल केवल एक जनप्रतिनिधि मात्र होइन, नगरकै सक्षम, इमानदार र प्रभावकारी नेतृत्वकर्ताको रूपमा परिचित छन् । लगातार तेस्रो कार्यकालमा निर्वाचित हुनुले जनताले उनको कार्यशैलीमा दिएको ठोस भरोसा स्पष्ट गरिएको छ । स्थानीय निर्वाचनमा सबै पार्टीको मत जोड्दा पनि पौडेलले पाएको मत बराबरी हुन नसक्नु उनको लोकप्रियताको प्रमाण मानिन्छ ।

    उनको नेतृत्वमा पहिले अस्तव्यस्त, अव्यवस्थित बसोबास र बाढीको त्रासले त्रसित वार्ड आज सुरक्षित, व्यवस्थित र विकसित बन्दै गएको छ । खासगरी रतुवा खोलामा गरिएको तटबन्धनपछि बाढीको जोखिम हटेको छ । वर्षा लागेपछि रातभर निदाउन नसक्ने बासिन्दा आज निश्चिन्तसँग बस्न सकिरहेको जनताले बताउँछन् ।

    विगतमा नपाको जमिनमा अनियमित रूपमा बसेका सुकुम्बासीलाई व्यवस्थापन गर्नु ठूलो चुनौती थियो । तर पौडेलको संयोजन, समन्वयात्मक शैली र नगरपालिकाको सहयोगले वास्तविक सुकुम्बासीलाई व्यवस्थित स्थानान्तरण गरियो भने अन्यलाई घर सार्न बजेट व्यवस्था गरेर समस्या समाधान भयो ।

    वार्डमा पिच सडकदेखि लक्की टायलसम्मका संरचनागत परिवर्तनले विकासको छाप स्पष्ट देखिन्छ । केही स्थानमा बाँकी रहेका काम भने जेनजी आन्दोलनका अवरोधका कारण रोकिएको वडाध्यक्ष पौडेल बताउँछन् ।

    दमक–७ लाई अहिले ‘भाग्यमानी वार्ड’ पनि भनिन थालिएको छ । नगरकै प्रमुख सेवामूलक संरचनाहरू यही वडामा छन्—बसपार्क, रेडक्रस, बाल अस्पताल, गाइनो अस्पताल, कभर्ड हल, सरकारी तथा निजी विद्यालय, धार्मिक तथा सामाजिक संघ–संस्थाका कार्यालय, र ४३ करोड रुपैयाँमा निर्माणाधीन व्यापारिक कम्प्लेक्स । निकट भविष्यमा आन्तरिक राजस्व कार्यालय र पत्रकार महासंघको कार्यालय समेत यही वडामा बन्ने निश्चित भइसकेको छ ।

    रतुवा खोलामा निर्माणाधीन ५० फिटे बाइपास सडकले बजार क्षेत्रलाई धुलो–धुँवा र भीडभाडबाट मुक्त गरिदिनेछ । भारी सवारी–साधनलाई बजारभित्र प्रवेश निषेध गरी बाइपास प्रयोग अनिवार्य गरिने तयारी छ ।यसैगरी काजकिरिया भवन निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको छ, जसले घर नहुनेहरूको संस्कार–परम्परा पूरा गर्ने समस्यालाई समाधान गर्नेछ ।२०२० सालमा ताप्लेजुङमा जन्मिएका पौडेल २०४५ सालमा झापा आएर शिक्षादेखि राजनीतिसम्मको यात्रा निरन्तर अघि बढाउँदै आएका छन् । विद्यार्थी राजनीति हुँदै जनसेवामा समर्पित भएका उनी आज राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगरका एक मात्र निर्वाचित वडाध्यक्ष हुन् ।

    उनलाई अन्य दलहरूको बलियो उपस्थितिले नगर नेतृत्वमा चुनौती पार्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, “संख्याले मात्र काम सजिलो हुँदैन । विकास चाहने अठोट, इमानदारी र जनताको विश्वास मुख्य हो । हामी नगरका काममा दलगत भेदभाव राख्दैनौं ।”

    उनले आफ्नो कामप्रति पूर्ण सन्तुष्टि नभए पनि जनताबाट प्राप्त विश्वास नै सबैभन्दा ठूलो प्रेरणा भएको बताउँछन् । दमकलाई “सुन्दर, शान्त र समृद्ध शहर” बनाउने उनको दीर्घकालीन लक्ष्य हो ।

    पौडेलले रतुवा तटबन्धन, सार्वजनिक सम्पत्तिको सुरक्षार्थ १२÷१३ विगाहा जमिनको संरक्षण, शिक्षा–स्वास्थ्यमा सुधारजस्ता काम आफ्नो गर्वका उपलब्धि भएको बताए । आगामी दिनमा उच्च जिम्मेवारी लिने हो कि ? भन्ने प्रश्नमा उनी भन्छन्, “मेरा शुभेच्छुकहरू भन्छन्—अब तपाईँका लागि वार्डभन्दा माथिको जिम्मेवारी उपयुक्त हुन्छ । तर जनताकै सेवामा रहिरहने चाहना भने यथावत छ ।”दमक–७ को विकासको गतिलाई हेर्दा भीम पौडेलको नेतृत्व निकट भविष्यमा नगरस्तरमा पनि प्रभावकारी बन्न सक्ने संकेत देखिन्छ ।

  • जेसीज सप्ताह २०२५ सम्पन्न : छात्रवृत्ति हस्तान्तरणसँगै PRIVILEGE CARD पहिलोपटक अनावरण

    जेसीज सप्ताह २०२५ सम्पन्न : छात्रवृत्ति हस्तान्तरणसँगै PRIVILEGE CARD पहिलोपटक अनावरण

    दमक, मंसिर ६ / शुक्रबार दमक जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२५ अन्तर्गत ‘Scholarship Handover’ तथा ‘Closing Ceremony & Privilege Card Distribution’ कार्यक्रम धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रम दमक–७ स्थित दमक उद्योग बाणिज्य संघको सभा हलमा नेपाल जेसीज २०२५ का राष्ट्रिय अध्यक्ष तथा २०२६ का लागि Elect JCI Vice President जेसीआई सिनेटर रजनी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दमक जेसीज २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईले गर्नुभएको थियो।

    Scholarship Handover कार्यक्रममा सिनेटर राजकुमार भट्टराईले आफ्ना दिवंगत पिता गणेश बहादुर भट्टराईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्ति कोषमार्फत दमक–१ की लक्ष्मी कुमाललाई छात्रवृत्ति प्रदान गर्नुभयो। दमक बहुमुखी क्याम्पसमा बि.बि.एस दोस्रो वर्ष अध्ययनरत कुमाललाई एक वर्षको शैक्षिक तथा भर्ना शुल्क बराबरको रकम र छात्रवृत्ति प्रमाणपत्र प्रदान गरिएको थियो।

    जेसीज सप्ताहको समापनसँगै दमक जेसीजले पहिलोपटक PRIVILEGE CARD (सदस्य विशेष सुविधा कार्ड) सार्वजनिक गरेको छ। प्रमुख अतिथि सिनेटर रजनी थापाको हातबाट अनावरण गरिएको उक्त कार्डमार्फत दमकका होटल, रेस्टुरेन्ट, हस्पिटल, ब्रान्डेड पसल, हार्डवेयर, मोबाइल पसललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा छुट तथा विशेष अफर उपलब्ध गराइने छ। सम्झौता भएका व्यापारी तथा सेवा प्रदायकसँगको सहकार्यमा तयार पारिएको कार्ड पूर्वअध्यक्ष, सिनेटर तथा सक्रिय जेसीज सदस्यहरूलाई वितरण गरिएको थियो।

    सन् २०२५ मा सम्पूर्ण प्रक्रिया पूरा गरी सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरूलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले जेसीज पिन प्रदान गर्नुभयो।दमक उद्योग बाणिज्य संघको तर्फबाट २०२६ का लागि Elect JCI Vice President बन्नु भएकी सिनेटर रजनी थापालाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो।

    कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख तथा पूर्व जेसीज अध्यक्ष रेगिना भट्टराई प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक जेसीजका पूर्वअध्यक्ष तथा बोर्ड अफ ट्रष्टीज अध्यक्ष गञ्जबहादुर दाहाल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संस्था, शैक्षिक तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    जेसीज सप्ताह २०२५ का मूल संयोजक तथा उपाध्यक्ष जेसी रूबल अधिकारीले स्वागत मन्तव्य दिँदै एक हप्ता सन्चालित विविध कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो। Scholarship Handover कार्यक्रमका संयोजक जेसी सुमन कुमाल र Closing Ceremony तथा Privilege Card Distribution कार्यक्रमका संयोजक जेसी पंकज पोखरेलले समग्र संयोजन गरेका थिए। कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव जेसी राजेन्द्र विमलीले गर्नुभएको थियो।

  • दमक नगरपालिकाद्वारा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा

    दमक नगरपालिकाद्वारा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा

    दमक,मंसिर ६ । झापाको दमक नगरपालिका वडा नम्बर ३ का ९० बर्षमाथिका ज्येष्ठ नागरिक, अपाङगथता र असहायहरुलाई स्थानीय सरकारले घरदैलोमानै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ ।दमक नगरपालिकाको चालू आर्थिक बर्षको नीति कार्यक्रम अन्तर्गत नगरपालिकाको महिला बालबालिका, स्वास्थ्य शाखा र दमक नगर अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु सहिहतको टोलीले आईतबारसो वडामा सेवा प्रदान गरेको हो ।सो क्रममा वडा नं. ३ का ८० जना ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई चिकित्सकसहित स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख सरिता भण्डारीले बताउनुभयो ।उहाका अनुसार, यस क्रममा स्वास्थ्य परीक्षण गरिएका व्यक्तिहरूलाई औषधी र उपचारका सल्लाह पनि प्रदान गरिएका छन्।

     

    दमक नगरपालिकाको यस कदमले वृद्ध र अपाङ्ग नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षाका साथ, स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउनका लागि विभिन्न पहलहरू भइरहेका छन्।नगरपालिकाले यी नागरिकहरूको स्वास्थ्य स्थिति र आवश्यकताहरूलाई ध्यानमा राख्दै उनीहरूको लागि उपयुक्त उपचारका सामग्री र औषधि उपलब्ध गराइरहेको दमक नगरपालिका कार्यपालिका सदस्य देबका भुजेलले बताउनुभयो ।

     

    स्वास्थ्य परीक्षणका लागि दमक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले सक्रिय सहभागिता जनाएका थिए। यस क्रममा, स्वास्थ्यकर्मीहरूले नागरिकहरूको स्वास्थ्य स्थिति मूल्यांकन गर्दै, आवश्यक स्वास्थ्य सुझाव र परामर्श पनि दिएका थिए। ‘।घरदैलोमा सहभागी दमक अस्पतालकी चिकित्सक डा.ऐश्वर्य गुप्ताले स्वस्थ्य परिक्षण गरिएका जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुमा स्वस्थ अवस्था जटिल देखिएको भन्दै नगरपािलकाले बिशेष पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

     

    दमक नगरपालिकाले ९० वर्ष माथिका वृद्ध बुवा आमा साथै क वर्गका अपाङ्गताको कार्ड भएका नगरबासीहरूका लागि घर घरमा गएर बिशेषज्ञ चिकित्सक सेवा सहित निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सबै वडामा यस किसिमको कार्यक्रम हरेक तीन÷तीन महिनामा सञ्चालन गर्दै आएको छ । यसबाट नागरिकहहरुले सन्तुष्ट भएको प्रतिक्रिय दिएका छन् । स्थानीय गोबिन्द बुढाथोकीले नगरको यसखाले सेवाबाट आफूहले राहत पाएको बताउनुभयो ।

     

    घरदैलो कार्यक्रममा नगर कार्यपालिका सदस्य देबका भुजेल निरौला , महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारी,स्वस्थ्य शाखाकी फोकल पर्सन कमला पौडेल,दमक अस्पतालकी चिकित्सक ऐश्वर्य गुप्ता,आधारभुत स्वस्थ्य केन्द्र वडा ३ का अहेब देबी प्रसाद काफ्ले,दमक अस्पतालकी सहायक फर्मासिष्ट कबिता भटराई लगायतको टोली सहभागि थियो ।

  • एलभिडी झापा महिला गोल्डकपमा त्रिभुवन आर्मीको शानदार जित, आरएस पोखरामाथि ६–० को फराकिलो विजय

    एलभिडी झापा महिला गोल्डकपमा त्रिभुवन आर्मीको शानदार जित, आरएस पोखरामाथि ६–० को फराकिलो विजय

    कार्तिक २०, झापा / झापाको दुधेमा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी बिजयी भएको छ । त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    खेलको सुरुवाती चरणदेखिनै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । उक्त फ्रिकिक उषा शाहीले दिपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो ।

    ३३ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गरिन् । हिमा चौधरीले त्यसमा असिस्ट गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्‍याइन् ।

    दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो । ८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्‍याइन् । त्यसपछि ९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाइन् ।

    इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन् ।

    खेलमा आर्मीको बल पोजेसन, पासिङ र फिनिसिङ उत्कृष्ट देखियो भने पोखराको डिफेन्स र गोलकिपिङ कमजोर रह्यो । आर्मीका लागि विमला चौधरीले ह्याट्रिक, विमला विक, जेनिफर राना र शर्मिला थापाले समान एक–एक गोल गरे ।

    खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।

    योसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुबटल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुबटल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

    हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

  • पूर्वराजा ज्ञानेन्द्र शाह दमक आगमन

    पूर्वराजा ज्ञानेन्द्र शाह दमक आगमन

    कार्तिक १९ , दमक / पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह बुधबार झापाको भद्रपुर विमानस्थल हुँदै दमक पुगेका छन्। बुद्ध एयरको उडान BHA955 (काठमाडौँ–भद्रपुर) मार्फत पूर्वराजा शाह, श्रीमती कोमल राज्यलक्ष्मी देवी शाह, छोरी प्रेरणा राज्यलक्ष्मी देवी शाह सहित सात सदस्यीय टोली झापामा आइपुगेका हुन्।

    भद्रपुर विमानस्थलमा उनीहरूको स्वागत हल्दिबारि गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की सहित करिब ५० जनाको उपस्थितिमा गरिएको थियो।

    स्वागत कार्यक्रमपछि पूर्वराजा शाहसहितको टोली बा २१ च ७३१८ नम्बरको सवारी साधनमार्फत दमकतर्फ प्रस्थान गरेको थियो। उनीहरू बेलुकी ४:३० बजे दमक नगरपालिका–९ स्थित हिमालयन महालक्ष्मी टि स्टेट मिनि दरबार पुगेका छन्।

    दमक आगमनका क्रममा दमक नगरपालिकाका मेयर रामकुमार थापा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी लगायतका नेताहरु तथा कार्यकर्ताहरू उपस्थित रहेकाे थिए।

    पूर्वराजा शाह केही दिनसम्म दमक नगरपालिका–९ को हिमालयन महालक्ष्मी टि स्टेट मिनि दरबारमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

  • कोशी प्रदेशमा कृत्रिम हात वितरण कार्यक्रम उद्घाटन, १३७ स्थानीय तहले लाभ लिन पाउने 

    कोशी प्रदेशमा कृत्रिम हात वितरण कार्यक्रम उद्घाटन, १३७ स्थानीय तहले लाभ लिन पाउने 

    इटहरी, कार्तिक १७ – करुणा फाउन्डेशन नेपालले सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र सम्बन्धित स्थानीय सरकारहरूको साझेदारीमा आज औपचारिक रूपमा कृत्रिम हात वितरण कार्यक्रमको शुभारम्भ गरेको छ।

    अपाङ्गता निवारण र पुनःस्थापनाको लक्ष्यसहित कोशी प्रदेशका सबै १३७ स्थानीय तहमा सञ्चालन हुने यस कार्यक्रमको उद्घाटन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमन भण्डारीले गर्नुभयो। “द ह्यान्ड प्रोजेक्ट”सँगको सहकार्यमा सञ्चालन गरिएको यो अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क रूपमा कृत्रिम हातको मापन, जडान र प्रयोग सम्बन्धी तालिम प्रदान गरिँदैछ।

    इटहरीमा सञ्चालन भइरहेको यो विशेष शिविर नोभेम्बर ३ देखि १२ तारिखसम्म चल्नेछ। उक्त अवधिमा दैनिक २० देखि २५ जना लाभग्राहीलाई सेवा उपलब्ध गराइने कार्यक्रमका निर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो।

    जर्मनी, न्यूजिल्याण्ड र युगाण्डाबाट आएका प्राविधिक टोलीहरूले मापन, जडान तथा तालिम सत्रहरू सञ्चालन गरिरहेका छन्। यो अभियान अन्तर्गत कोशी प्रदेशका १३ जिल्लाका २०४ जनालाई हलुका, कार्यात्मक र सौन्दर्ययुक्त कृत्रिम हात निःशुल्क रूपमा वितरण गरिनेछ।

    उद्घाटन समारोहमा पहिलो समूहका केही लाभग्राहीहरूले आफ्ना कृत्रिम हात प्राप्त गरेका थिए। सो अवसरमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूले सहायक उपकरण प्राप्त गर्ने अधिकार रहेको बताउँदै, लाभग्राहीहरूलाई दैनिक जीवनमा कृत्रिम हात प्रयोग गर्न निरन्तर अभ्यास गर्न आग्रह गर्नुभयो। उहाँले प्रदेश सरकार अपाङ्गता अधिकार, निवारण र पुनःस्थापनाका पक्षमा प्रतिबद्ध रहेको पनि पुनः पुष्टि गर्नुभयो।

    कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, करुणा नेपालका पदाधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि, लाभग्राहीका परिवार, सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको थियो।

    “द ह्यान्ड प्रोजेक्ट” टोलीमा संस्थापक तथा निर्देशक क्रिस गली, ग्रोथ रोबर्ट गली, इसाक माकुला, र कामान्जी ब्लेसल समेत सहभागी थिए। कार्यक्रमका निर्देशक योगेन्द्र गिरीले भने, “यो अभियानको उद्देश्य केवल कृत्रिम हात वितरण गर्नु मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर, सम्मानित र उत्पादक जीवनमा पुनःस्थापित गर्नु हो।”