Category: धारणा

  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

    जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

    चैत २८, दमक / जीवन चक्र समाज नेपालको आयोजनामा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले सवारी दुर्घटना न्यूनीकरण, सिटी सफारी व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।दमक ट्राफिक प्रहरी प्रमुख मनोज कुमार खड्गाले सिटी सफारी चालकहरूमा बढ्दो लापरबाहीले दुर्घटना वृद्धि भइरहेको उल्लेख गर्दै अनिवार्य रूपमा लाइसेन्स लिनुपर्नेमा जोड दिए। उनले सबैलाई सवारी नियम पालना गर्न आग्रह गरे।

    यसैगरी इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले नयाँ वर्ष २०८३ मा दुर्घटना नघट्ने वातावरण बनोस् भन्ने शुभकामना व्यक्त गर्दै सवारी दर्ता, कर तिर्ने व्यवस्था र इन्सुरेन्स अनिवार्य हुनुपर्ने बताए। सिटीमार्फत चोरी तथा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै कडाइका साथ कानुन कार्यान्वयन गरिए सिटीको संख्या आधा घट्न सक्ने बताए। उनले दमकमा करिब १४०० सिटी सञ्चालनमा रहेको र व्यवस्थापनका लागि एप्रन आवश्यक रहेको धारणा राखे।समाजसेवी मदन बोहोराले विगतमा करेन्ट लागेर हात गुमाएको आफ्नो अनुभव सुनाउँदै दुर्घटना हुनुअघि नै सचेत रहन सबैलाई आग्रह गरे। उनले समाज र परिवार समृद्ध बनाउन व्यक्तिगत जिम्मेवारीबाट सुरुवात गर्नुपर्ने बताए।

    सिटी चालक सूर्य बहादुर सोडारीले लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने र सिटी सफारीका कागजपत्र नियमित जाँच हुनुपर्ने धारणा व्यक्त गरे। संस्थाका प्रतिनिधि टिकाराम अधिकारीले संस्थाको सिद्धान्त र सकारात्मक भूमिकाबारे प्रकाश पारे। पत्रकार बिमल लामिछानेले समाजमा घट्ने घटनाबाट सिक्नुपर्ने आवश्यकता औंल्याउँदै व्यक्तिगत सचेतनाले दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। समाजसेवी केदार चापागाईंले सवारी दुर्घटनाबाट जोगिन स्वयं सचेत हुनुपर्ने, जीवनको मूल्य बुझ्नुपर्ने र सवारीका संकेत बत्तीहरू चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए। साहित्यकार बिन्दु मुखदर्शकले सिटी सफारी धेरैका लागि बाध्यता भएको उल्लेख गर्दै सरकारले रोजगारी सिर्जना गर्नुपर्ने बताए। साथै, लाइसेन्स प्रणाली स्थानीय तहमै उपलब्ध भए सहज हुने धारणा व्यक्त गरे।

    कार्यक्रम संस्थाका अध्यक्ष गणेश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईंले राखेका थिए। कार्यक्रमको संयोजन डाक्टर लेखनाथ न्यौपानेले गरेका थिए। कार्यक्रममा सिटी सफारी चालक, यातायात व्यवसायी, मजदुर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको संस्थाका प्रवक्ता सिद्धार्थ दाहालले जानकारी दिए।

  • दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    माघ २३, दमक / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दमकका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। शुक्रबार दमक नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सहभागी दल तथा उम्मेदवारहरूले घृणा फैलाउने अभिव्यक्ति बन्द गर्दै शान्तिपूर्ण, मर्यादित र स्वच्छ निर्वाचन सम्पन्न गर्न आफूहरू तयार रहेको साझा धारणा व्यक्त गरे।

    कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम थापाले निर्वाचन नागरिकको अभिमत प्रकट गर्ने लोकतन्त्रको सुन्दर प्रक्रिया भएकाले यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँले झापा क्षेत्र नम्बर ५ सबैको चासोको क्षेत्र भएकाले यहाँ स्वस्थ राजनीतिक प्रतिस्पर्धा देखिनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निर्वाचन आचारसंहिता पालनाको अवस्था सूक्ष्म रूपमा अनुगमन भइरहेको जानकारी दिँदै आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारीसमेत खारेज हुन सक्ने भन्दै सबै दललाई सजग रहन आग्रह गर्नुभयो।

    छलफलमा नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेल, नेपाली कांग्रेस दमक नगर कार्यवाहक सभापति प्रेम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी नगर अध्यक्ष रवि बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति तीर्थ लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष हेम सुवेदी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई लगायत धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले जेलबाट फरार कैदी तथा अवैध हतियार नियन्त्रणका लागि एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधि प्रयोगमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।दलहरूले आचारसंहिता विपरीत गतिविधिमा संलग्न आफ्ना कार्यकर्तालाई आफैं कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने साझा निष्कर्ष निकालेका छन्।

  • चुनावबाट राप्रपा नभाग्ने अध्यक्ष लिङ्देनको स्पष्ट भनाइ: ‘तयारी गरेर मात्रै जानेछौं’

    चुनावबाट राप्रपा नभाग्ने अध्यक्ष लिङ्देनको स्पष्ट भनाइ: ‘तयारी गरेर मात्रै जानेछौं’

    असाेज २९, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने स्पष्ट पारेका छन् ।

     

    ‘पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, निर्वाचन प्रणाली अहिलेको अवस्थामा दीर्घकालीन समस्या समाधान गर्न सक्दैन, तर निर्वाचन भएमा हामी भाग्दैनौं, तयारी गरेर मात्रै जानेछौं।’

     

    उनले जेनजी आन्दोलनको बीचमै संसद्ले निकास नदिएपछि पार्टीले राजीनामा दिएका र संसद् विघटन भएको स्मरण गराए। लिङ्देनका अनुसार, नयाँ निर्वाचन आवश्यक छ, तर यही प्रणालीले हुने चुनावले देशलाई स्थायी समाधान दिन सक्दैन।

  • म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए’ – पत्रकार गञ्जबहादुर दाहाल

    म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए’ – पत्रकार गञ्जबहादुर दाहाल

    दमक / प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले पत्रकारिताका अनुभव र प्रेरणादायी भोगाईहरु नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ ।

    चौतारीको झापा शाखाले गत वैशाखदेखि सञ्चालन गर्दै आएकाे‘अग्रजलाई सुनौं’ कार्यक्रम अन्तर्गत याे दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा दाहाललाइ आमन्त्रित गरिएकाे हाे । बिगत ५० वर्ष अघिदेखि झापालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील दाहाल दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकका प्रधान सम्पादन तथा प्रकाशन हुन् ।

    लेटर प्रेस हुँदै पत्रकारितामा प्रवेश गर्नुभएका दाहालले पत्रकारितामा भविष्य रहेको बताउनुभयो ।पत्रकारिताबाटै जीवनमा सामाजिक र आर्थिक उन्नति गरेको बताउँदै उहाँले नयाँ पुस्तालाई नयाँ ढंगबाट निष्ठापूर्वक निरन्तर काम गर्न सुझाव दिनुभयो । नयाँ पत्रकारहरुले पुरानै शैली अपनाइयो भने यो क्षेत्रमा प्रगति गर्न नसकिने उहाँको भनाई थियो ।

    पत्रकारितामा प्रवेश गरेको केहि समयपछि मात्रै पेशाको बारेमा जानकारी पाएको बताउनुभयो । ‘काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भयो,’ उहाँले थप्नुभयो ।अग्रजलाई सुन्न सहभागी नयाँ र अघिल्लो पुस्तासँग दाहालले पत्रकारितामा आफू नआएको भए बैंकिङ वा शिक्षण क्षेत्रमा जाने सम्भावना रहेको सुनाउनु भयो ।‘म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए,’ उहाँले भन्नुभयो –‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो । पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो ।’

    मासिक १२५ रुपैयाँमा शिक्षण समेत गर्नुभएका दाहालले अहिलेका पत्रकारहरुको लेखाईमा धेरै प्रभाव नरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘पहिले सानो समाचार बनाउँदा पनि ठुलै प्रभाव पर्ने थियो, अहिले पहिले जस्तो छैन ।’

    कुनै पनि पेशामा निरन्तरता दिए मात्रै सफलता प्राप्त गर्न सकिने पत्रकार दाहालको धारणा छ । उहाँले भन्नुभयो– ‘निरन्तरताको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो । आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काममा हुन्छ ।’

    छापा पत्रकारिताको युग सकियो कि भन्ने टिप्पणीप्रति दाहालले असहमति जनाउँदै अझै पनि भविष्य रहेको बताउनु भयो । विज्ञापन र ग्राहक शुल्कबाट व्यवसायलाई अघि बढाइरहेको सुनाउनुभयो ।०६२/६३ को आन्दोलनहरुलाई स्मरण गर्दै शाही सेना र माओवादी विद्रोहीको दोहोरो दवदवा रहेका अवस्थामा समाचारमा सन्तुलन ल्याउनु चुनौतिपूर्ण रहेको विषयमा रोचक प्रसंगहरु सुनाउनु भएको थियो ।

    दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारे पनि पत्रिकार र छापाखानाको काम बन्द नगरेको उहाँले सुनाउनुभयो । पत्रिकामा आम नागरिकलाई धेरै विश्वास हुने भन्दै उहाँले पत्रकारहरुलाई खोज समाचारमा लाग्न आग्रह समेत गर्नुभयो ।झापामा अग्रज पत्रकारहरुको जीवन अनुभव, पत्रकारिता क्षेत्रमा गरेका संघर्षहरु सुन्नका लागि प्रेस चौतारी नेपाल झापाले सुरु गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।

    कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले अग्रज पुस्ताका अनुभव र भोगाइहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले हरेक तीन–तीन महिनामा कार्यक्रमलाई नियमित गरिने बताउनुभयो ।कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा समेत राख्नु भएको थियो । दाहालले जिज्ञासाहरुको उत्तर दिनु भएको थियो ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्यहरु सावित्रा दाहाल, शम्भु दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।