Category: परोपकार

  • गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

    गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

    वैशाख १२, गौरादह /  पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौरादह नगरपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा कोपिला फर्टिलिटी एण्ड वुमन क्लिनिक, आमा डेन्टल र अस्मिता फार्मेसी दमकको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

    शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी संयोजक रहेका थिए। कार्यक्रमको उद्घाटन वडा नं. ८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले व्यानर वाचन गरी गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा शाखा प्रतिनिधि दिवस खतिवडा उपस्थित रहेका थिए भने सदस्य पोसङ्का बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा आमा डेन्टलका प्रोप्राइटर अर्जुन कुमार श्रेष्ठ, कोपिला फर्टिलिटी एण्ड वुमन्स क्लिनिककी डा. सीता राई, अस्मिता फार्मेसीका जीवस शाह, समाजसेवी भरत निरौला लगायतको उपस्थिति रहेको थियो। शाखा प्रतिनिधि दिवस खतिवडाले संस्थाका विभिन्न सामाजिक अभियानबारे जानकारी गराउँदै गौरादह शाखाले उत्कृष्ट कार्यक्रम गर्दै आएको बताए। त्यस्तै, प्राविधिक सहयोगी संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    शिविरमा १०१ जना सेवाग्राहीहरूले दन्त सेवा, फिजिसियन सेवा, हाडजोर्नी सेवा तथा महिला विशेषज्ञ सेवा लिएका थिए। कार्यक्रमकै अवसरमा अस्पताल टोलीहरू र समाजसेवी भरत निरौलालाई सम्मानपत्र प्रदान गरिएको थियो भने वडा कार्यालयलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो।

    कार्यक्रममा प्रथम उपाध्यक्ष निशा पौडेल दहाल, कोषाध्यक्ष सुस्मिता भुजेल, सदस्यहरू यमुना खत्री, भुवन कटुवाल, चाहना योगी, लोकनाथ रेग्मी तथा स्काउटका सदस्यहरू नेश्मा प्रसाईं र मनिषा कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव प्रदीप धमलाले गरेका थिए।

  • दमकमा हनुमान जन्मजयन्ती धुमधामका साथ मनाइयो

    दमकमा हनुमान जन्मजयन्ती धुमधामका साथ मनाइयो

    चैत १९, दमक / दमक–६ स्थित श्री पञ्चमुखी हनुमान मन्दिरको आयोजनामा बिहीबार श्री हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ। पञ्चमुखी हनुमान मन्दिर समितिका अध्यक्ष तथा व्यवसायी अजय अग्रवालको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

    कार्यक्रमपश्चात् दमकका विभिन्न चोकहरूमा भक्तजनहरूले धार्मिक र्याली निकालेका थिए। र्यालीमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो।

    उक्त कार्यक्रममा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा, व्यवसायी, धार्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दमक बहुमुखी क्याम्पसका प्राध्यापक परसमणि आचार्यले गरेका थिए।

  • इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

    इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

    माघ २२, इलाम / इलामको चुलाचुली गाउँपालिका–५ स्थित श्री भानु माध्यमिक विद्यालय, बुकुवामा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक, जुत्ता तथा मोजा वितरण गरिएको छ। आमा डेन्टल केयर प्रा.लि. दमकको आर्थिक सहयोगमा कक्षा १ देखि ४ सम्म अध्ययनरत ७१ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो।

    आमा डेन्टल केयर प्रा.लि. दमककी सञ्चालिका मन्दिरा श्रेष्ठको जन्मदिनको अवसर पारेर फजुल खर्चलाई निरुत्साहित गर्ने उद्देश्यसहित करिब १५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै आमा डेन्टल केयर प्रा.लि.का सञ्चालक अर्जुन श्रेष्ठले समाजसेवा गर्न धनसँगै मन पनि आवश्यक हुने बताउँदै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने धारणा व्यक्त गर्नुभयो।

    विद्यालयमा हाल विपन्न वर्गका २८१ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्रले दिनुभयो। उहाँले यस किसिमको सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप उत्साह मिल्ने बताउनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सम्मानफेले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अनिवार्य रूपमा पोशाक लगाएर विद्यालय आउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रम भानु मिलन बाल क्लबकी अध्यक्ष निशा सम्भाव्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक माधव खनालले गर्नुभएको थियो। आमा डेन्टल केयर प्रा.लि.ले यसअघि पनि यस्ता सामाजिक तथा मानवीय सेवा कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।

  • इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

    इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

    माघ २१, दमक / इलाका प्रहरी कार्यालय दमकले ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गर्नु भएकी प्रहरी नायव निरीक्षक (सई) सुजाता सुवेदीको विदाई तथा प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएकी संगिता देवी निरौला श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ।
    कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा अनिवार्य अवकाश प्राप्त सई सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक किशोर लम्सालले प्रशंसा पत्र प्रदान गर्नुभयो। सो अवसरमा बोल्दै कार्यालय प्रमुख लम्सालले सुवेदीले प्रहरी संगठनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अवकाशपछिका दिनमा पनि नेपाल प्रहरी संगठनलाई निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
    यसैगरी दज्र्यानी चिन्ह प्राप्त गर्नु भएकी प्रहरी वरिष्ठ हवल्दार संगिता देवी निरौला श्रेष्ठलाई बधाई दिँदै कार्यालय प्रमुख लम्सालले पदोन्नतिसँगै जिम्मेवारी पनि बढेकाले इमान्दारिताका साथ कर्तव्य निर्वाह गरी उदाहरणीय प्रहरी बन्न निर्देशन दिनुभयो।
    विदाई मन्तव्य राख्दै सई सुवेदीले आफ्नो ३० वर्षे सेवा अवधिमा भोगेका अनुभवहरू साझा गर्नुभयो। संगठनमा रहँदा विभिन्न कठिन परिस्थिति, दुःख–सुख, बाधा–बेहोरनाका बाबजुद अग्रज तथा सिनियर अधिकृतहरूको साथ, सहयोग र मार्गदर्शनका कारण लामो समयसम्म प्रहरी संगठनको गरिमा कायम राख्न सफल भएको बताउनुभयो।

    सेवा अवधिभर कुनै पनि कारबाहीमा नपर्न पाएकोमा गर्व लागेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रमको अन्त्यमा इलाका प्रहरी कार्यालय दमकका सम्पूर्ण प्रहरी परिवारले सई सुवेदीलाई सहसम्मान विदाई गर्दै प्रहरी भ्यानमार्फत घर पठाएको कार्यालयले जनाएको छ।

  • जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

    जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

    माघ १२, दमक  / दमक स्थित Crimson Universal Educational Consultancy का सञ्चालक विशाल सिटौलाले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै गौरीगञ्ज गाउँपालिका–१ स्थित श्री बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको छ।

    आइतबार आयोजित एक कार्यक्रमका बीच सिटौलाले करिब ४० हजार रुपैयाँ बराबरका स्कुल ब्याग तथा विभिन्न खेलकुद सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो। फजुल खर्चलाई निरुत्साहित गर्दै जन्मदिनलाई अर्थपूर्ण सामाजिक कार्यमार्फत मनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

    कार्यक्रममा Crimson Universal Educational Consultancy Damak का सञ्चालक विवेक सिटौला, खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवी न्यौपाने, दमक क्याम्पसका सभु अध्यक्ष भुवन बस्नेत, गौरीगञ्ज गाउँपालिका–१ का वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो। विद्यालय परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेको छ।

  • दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    दमक, २३ असोज / झापाको दमकस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणका लागि दमक मेनपावर संघ झापाले १ लाख ५७ हजार बराबरका जिन्सी सामग्री प्रदान गरेको छ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमक इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएका थिए। ती कार्यालयहरूको पुनर्निर्माणका लागि सहयोगस्वरूप संघले इलाका प्रहरी कार्यालय दमकलाई एक थान दराज, दुई थान टेबल, ३० थान प्लास्टिकका कुर्सी र २५ पिस सिलिङ फेन प्रदान गरेको हो। त्यस्तै, ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान फ्रिज र २० थान प्लास्टिकका कुर्सी उपलब्ध गराइएको संघका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो।

    संघले इलाका प्रहरी कार्यालयका लागि १ लाख १७ हजार र ट्राफिक प्रहरी कार्यालयका लागि ४० हजार बराबरका सामग्री हस्तान्तरण गरेको थियो।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिम्बूले जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दमकको सुरक्षात्मक वातावरण सुदृढ गर्न संघले सहयोग गरेको बताउनुभयो।

    दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा इलाका प्रहरी कार्यालय पुनर्निर्माण समितिका कोषाध्यक्ष गोपाल गुरागाईका अनुसार इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। विभिन्न संघसंस्थाको सहयोगमा भवनको रंगरोगन र मर्मतका काम तीव्र गतिमा अघि बढेको जानकारी दिनुभयो।

    दमक नगरपालिकाका प्रमुख तथा पुनर्निर्माण समितिका संयोजक रामकुमार थापाले दमकको सुरक्षालाई मजबुत बनाउन प्रहरी कार्यालयहरूको पुनर्निर्माण अत्यावश्यक रहेको बताउँदै छिटो पुनःस्थापनाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो।

    पुनर्निर्माण समितिमा नगरप्रमुख थापासहित उपप्रमुख रेजिना भट्टराई प्रसाई, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाई, रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, र इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना सदस्य रहेका छन्।

    सहयोग हस्तान्तरण कार्यक्रममा दमक मेनपावर संघका सचिव रोशन लिम्बू, कोषाध्यक्ष बीबी लिम्बू लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो। संघका अध्यक्ष लिम्बूका अनुसार दमक मेनपावर संघ झापा समाजसेवामा निरन्तर सक्रिय रहँदै आएको छ।

    दमक नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख केशवप्रसाद प्रसाईले जिन्सी तथा अन्य सहयोग सामग्रीहरू उपलब्ध गराउने कार्यको सहजकरण गर्नुभएको थियो । ट्राफिक प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय दमक धमाधम निर्माण भइरहेको छ।

  • जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    भदौ १६, दमक / जन्मदिनलाई मात्र रमाइलो र फजुल खर्चमा सीमित गर्ने परम्परालाई तोड्दै पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लबराज खडकाले आफ्नो जन्मदिनलाई समाजसेवामुखी बनाएका छन्।

    खडकाले यस वर्षको जन्मदिनमा दमक–२ स्थित मानव उदार सेवा आश्रममा आश्रित विपन्न मानवलाई खाद्यान्न सामग्री वितरण गरेर खुसी बाँडेका हुन्। उनको यस पहलले आश्रममा बस्नेहरूलाई सानो भए पनि ठूलो सहयोग पुगेको आश्रम परिवारले जनाएको छ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै खडकाले भने, “जन्मदिनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्दै समाजका आवश्यकता भएका व्यक्तिलाई सहयोग गर्नु नै सबैभन्दा अर्थपूर्ण कार्य हो। यसले आत्मसन्तुष्टि मात्र होइन, अरूलाई पनि समाजसेवातर्फ प्रेरित गर्छ। खडकाको सामाजिक उत्तरदायित्वपूर्ण यो कदमले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ। स्थानीयवासीहरूका अनुसार, यस्तो पहलले अरूलाई पनि आफ्ना खुसीका क्षणहरू समाजको हितमा प्रयोग गर्न उत्प्रेरित गर्नेछ।

    सहयोग हस्तान्तरण कार्यक्रममा पहिलो पाइला नेपाल दमकका सल्लाहकार गणेश प्रधान, केन्द्रीय सदस्य मेघनाथ फुयाल, दिवस खतिवडा, क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीलगायतको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष राजु निरौलाले गरेका थिए।