Category: महत्वपूर्ण जानकारी

  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

    जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

    चैत २८, दमक / जीवन चक्र समाज नेपालको आयोजनामा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले सवारी दुर्घटना न्यूनीकरण, सिटी सफारी व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।दमक ट्राफिक प्रहरी प्रमुख मनोज कुमार खड्गाले सिटी सफारी चालकहरूमा बढ्दो लापरबाहीले दुर्घटना वृद्धि भइरहेको उल्लेख गर्दै अनिवार्य रूपमा लाइसेन्स लिनुपर्नेमा जोड दिए। उनले सबैलाई सवारी नियम पालना गर्न आग्रह गरे।

    यसैगरी इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले नयाँ वर्ष २०८३ मा दुर्घटना नघट्ने वातावरण बनोस् भन्ने शुभकामना व्यक्त गर्दै सवारी दर्ता, कर तिर्ने व्यवस्था र इन्सुरेन्स अनिवार्य हुनुपर्ने बताए। सिटीमार्फत चोरी तथा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै कडाइका साथ कानुन कार्यान्वयन गरिए सिटीको संख्या आधा घट्न सक्ने बताए। उनले दमकमा करिब १४०० सिटी सञ्चालनमा रहेको र व्यवस्थापनका लागि एप्रन आवश्यक रहेको धारणा राखे।समाजसेवी मदन बोहोराले विगतमा करेन्ट लागेर हात गुमाएको आफ्नो अनुभव सुनाउँदै दुर्घटना हुनुअघि नै सचेत रहन सबैलाई आग्रह गरे। उनले समाज र परिवार समृद्ध बनाउन व्यक्तिगत जिम्मेवारीबाट सुरुवात गर्नुपर्ने बताए।

    सिटी चालक सूर्य बहादुर सोडारीले लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने र सिटी सफारीका कागजपत्र नियमित जाँच हुनुपर्ने धारणा व्यक्त गरे। संस्थाका प्रतिनिधि टिकाराम अधिकारीले संस्थाको सिद्धान्त र सकारात्मक भूमिकाबारे प्रकाश पारे। पत्रकार बिमल लामिछानेले समाजमा घट्ने घटनाबाट सिक्नुपर्ने आवश्यकता औंल्याउँदै व्यक्तिगत सचेतनाले दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। समाजसेवी केदार चापागाईंले सवारी दुर्घटनाबाट जोगिन स्वयं सचेत हुनुपर्ने, जीवनको मूल्य बुझ्नुपर्ने र सवारीका संकेत बत्तीहरू चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए। साहित्यकार बिन्दु मुखदर्शकले सिटी सफारी धेरैका लागि बाध्यता भएको उल्लेख गर्दै सरकारले रोजगारी सिर्जना गर्नुपर्ने बताए। साथै, लाइसेन्स प्रणाली स्थानीय तहमै उपलब्ध भए सहज हुने धारणा व्यक्त गरे।

    कार्यक्रम संस्थाका अध्यक्ष गणेश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईंले राखेका थिए। कार्यक्रमको संयोजन डाक्टर लेखनाथ न्यौपानेले गरेका थिए। कार्यक्रममा सिटी सफारी चालक, यातायात व्यवसायी, मजदुर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको संस्थाका प्रवक्ता सिद्धार्थ दाहालले जानकारी दिए।

  • आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

    आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

    चैत १, दमक / झापाको दमकमा निजी तथा सार्वजनिक विद्यालयका बसहरूमा बढ्दो गुनासोपछि दमक ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको छ। आइतबार दमकको पशुहाट डाँडामा गरिएको विशेष चेकिङका क्रममा करिब १५ वटा विद्यालय बस जाँच गरिएको थियो।

    चेकजाँचका क्रममा चालकको अल्कोहल परीक्षण, सिटको अवस्था तथा विद्यार्थी सुरक्षासम्बन्धी आवश्यक मापदण्डहरूको विशेष निरीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ। विद्यार्थीहरूले चर्को शुल्क तिरे पनि सुरक्षित र व्यवस्थित यातायात सुविधा नपाएको गुनासो बढेपछि ट्राफिक प्रहरी सक्रिय भएको हो।

    दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईका अनुसार केही विद्यालयका बसहरूले नियम उल्लंघन गरेको पाइएको छ। विशेष गरी झापाको दमकमा रहेको आस्था कलेज र एकता एकेडेमीका विद्यालय बसहरूले सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको भेटिएको उहाँले जानकारी दिनुभयो। राईका अनुसार ती बसहरूलाई यसअघि पनि पटकपटक कारबाही गरिएको भए पनि सुधार नदेखिएको र विद्यालय व्यवस्थापन पक्षको गम्भीर कमजोरी समेत देखिएको छ।

    “विद्यार्थीको सुरक्षामा कुनै पनि लापरबाही सह्य हुँदैन। नियम पालना नगर्ने विद्यालय बसमाथि निगरानी र आवश्यक कारबाही निरन्तर जारी रहनेछ,” प्रमुख राईले भन्नुभयो। यसैबीच ट्राफिक प्रहरीले चेकिङकै क्रममा विद्यार्थीहरूलाई सडक सुरक्षा तथा बसमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानीबारे छोटो सचेतना सन्देश समेत दिएको जनाएको छ।

  • दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    माघ २३, दमक / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दमकका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। शुक्रबार दमक नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सहभागी दल तथा उम्मेदवारहरूले घृणा फैलाउने अभिव्यक्ति बन्द गर्दै शान्तिपूर्ण, मर्यादित र स्वच्छ निर्वाचन सम्पन्न गर्न आफूहरू तयार रहेको साझा धारणा व्यक्त गरे।

    कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम थापाले निर्वाचन नागरिकको अभिमत प्रकट गर्ने लोकतन्त्रको सुन्दर प्रक्रिया भएकाले यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँले झापा क्षेत्र नम्बर ५ सबैको चासोको क्षेत्र भएकाले यहाँ स्वस्थ राजनीतिक प्रतिस्पर्धा देखिनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निर्वाचन आचारसंहिता पालनाको अवस्था सूक्ष्म रूपमा अनुगमन भइरहेको जानकारी दिँदै आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारीसमेत खारेज हुन सक्ने भन्दै सबै दललाई सजग रहन आग्रह गर्नुभयो।

    छलफलमा नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेल, नेपाली कांग्रेस दमक नगर कार्यवाहक सभापति प्रेम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी नगर अध्यक्ष रवि बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति तीर्थ लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष हेम सुवेदी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई लगायत धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले जेलबाट फरार कैदी तथा अवैध हतियार नियन्त्रणका लागि एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधि प्रयोगमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।दलहरूले आचारसंहिता विपरीत गतिविधिमा संलग्न आफ्ना कार्यकर्तालाई आफैं कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने साझा निष्कर्ष निकालेका छन्।

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    माघ ८, दमक / दमक ट्राफिक प्रहरी कार्यालयको भवनमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. इटहरी, सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    कार्यक्रममा दमक ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक विजय राई, दमक नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रजापति सापकोटा , लायन्स क्लब तथा लियो क्लबका विभिन्न पदाधिकारीहरू, बस व्यवसायी संघ, अटो तथा ई–रिक्सा संघका अध्यक्षहरू, मझौला ट्याक्सी स्टेन्डका अध्यक्ष, यातायात तथा ट्राफिक व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    अन्तरक्रियामा सवारी दुर्घटनाका कारण, न्यूनीकरणका उपाय, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक तथा यात्रुको सचेतना अभिवृद्धि र सरोकारवालाबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले दुर्घटना न्यूनीकरणका लागि संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    कार्यक्रमबाट ६५ जना सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आयोजकले यस्ता कार्यक्रमले सडक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

  • दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

    दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

    सुजन गाैतम / पुष २९, दमक /नेपालकै नम्बर–१ ब्रान्ड भनेर प्रचार गरिँदै आएको बर्जर पेन्ट्स दमकमा गम्भीर विवादमा फसेको छ। उपभोक्तालाई ठग्ने, गल्ती लुकाउन लाखौँ रुपैयाँको अफर गर्ने र सत्य बाहिर ल्याउन खोज्दा कुटपिटसम्म गर्ने आरोपसहित बर्जर पेन्ट्सको कथित ‘लुट धन्दा’ सार्वजनिक भएको हो।

    दमक नगरपालिका–४ का अनूप कटुवालले आफ्नो घरमा १० वर्ष टिक्ने वारेन्टीसहित लगाइएको भनिएको बर्जर पेन्ट्स मात्र २० दिनमै खुुइलिन थालेपछि कम्पनीको वास्तविकता उजागर भएको बताए। घरको बाहिरी तथा भित्री भागको रंग बिग्रिएर सम्पूर्ण घर नै कुरुप बने अवस्थ भएको अनुप कटुवालको भनाइ छ। कटुवालका अनुसार उजुरी गरेपछि समस्या समाधान गर्नुको सट्टा कम्पनी पक्षले “मिडियामा नलैजानू” भन्दै करिब २० लाख रुपैयाँ दिने प्रस्ताव गर्‍यो। उनले रंगको गुणस्तर खराब भएको विषय सार्वजनिक गर्ने अडान लिएपछि भने कम्पनीबाट आएका करिब ७ जना व्यक्तिहरु दादागिरी शैलीमा घर वरिपरि आएर गएका पनि थिए।

    आफ्नो गल्ती लुकाउन बर्जर पेन्ट्सका कथित ‘सलाहकार’ भन्दै ९८५१०९८०९२ नम्बरबाट पटक–पटक फोन गरी लाखौँ रुपैयाँ दिन्छौँ, चुप लाग भन्ने दबाब दिइएको कटुवालले खुलासा गरेका छन्। तर पैसा लिएर भाग्नुको सट्टा सत्य बाहिर ल्याउनु नै उचित ठानेको उनले बताए। घटना दमक–५ बेलडाँगी रोडमा रहेको बर्जर पेन्ट्सको एक डिलरबाट खरिद गरिएको पेन्ट प्रयोग गरेपछि भएको पीडितको दाबी छ। तर आश्चर्यजनक रूपमा कम्पनीले आफ्नो आधिकारिक पत्रमार्फत “उक्त घरमा बर्जर पेन्ट्स प्रयोग नै भएको छैन” भन्ने दाबी गर्दै उल्टै उपभोक्तामाथि नै दोष थोपरेको छ।

    यसै विषयमा दमक–५ बेलडाँगी रोडमै रहेको विशपति सिरेमिक एन्ड कलर हाउसका सञ्चालक बिलास बरालले आफ्नो पसलमार्फत बिक्री हुने पेन्ट कम्पनीबाटै आउने र कम्पनीकै निर्देशनअनुसार ग्राहकलाई उपलब्ध गराइने स्पष्ट पारेका छन्। यसले बर्जर पेन्ट्सको आधिकारिक दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ। मंगलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा पीडित अनूप कटुवालले बर्जर पेन्ट्सको ठगी, दबाब, धम्की र हिंसाको श्रृंखला सार्वजनिक गर्दै उपभोक्तामाथि कम्पनीले निषेधाज्ञा जस्तै मुद्दा हालेर आतंक मच्चाएको सम्म बताउनुभयो ।नेपालभर गुणस्तरको नाममा बजार कब्जा गर्दै आएको बर्जर पेन्ट्सको यो प्रकरणले साधारण उपभोक्ताको सुरक्षा कति कमजोर छ? भन्ने गम्भीर प्रश्न उठाएको छ।

  • दमक ८ को पुरानो ट्याक्सी स्टेन स्थानान्तरण गरिए पनि पार्किङ जथाभावी, टोल विकास संस्थाले नगरपालिकामा ध्यानाकर्षण

    दमक ८ को पुरानो ट्याक्सी स्टेन स्थानान्तरण गरिए पनि पार्किङ जथाभावी, टोल विकास संस्थाले नगरपालिकामा ध्यानाकर्षण

    दमक, साउन २० — झापाको दमक नगरपालिका वडा नम्बर ८ स्थित पुरानो ट्याक्सी स्टेन सराएर वडा नम्बर ७ मा स्थानान्तरण गरिएपनि पुरानै स्थानमा ट्याक्सी पार्किङको समस्या ज्यूँका त्यूँ रहेको छ। दमक नगरपालिकाले पटक–पटक सूचना जारी गरी पुरानो स्टेनमा पार्किङ नगर्न आग्रह गरेपनि वेवास्ता गर्दै ट्याक्सीहरू पुरानै स्थानमा राखिने गरेको छ।

    केही दिनअघि नगरपालिका प्रहरी टोलीले नियम उल्लङ्घन गर्ने पाँच वटा ट्याक्सीलाई हुईलक लगाएको थियो। तर त्यसपछि ती ट्याक्सीहरू नजिकै रहेको मिलन मार्ग टोल विकास संस्था परिसरमा लगेर पार्किङ गरिने गरेको पाइएको छ।

    यसले व्यापार व्यवसायमा अवरोध पुगेको भन्दै मिलन मार्ग टोल विकास संस्थाले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। संस्थाले ट्याक्सी व्यवसायीहरूले लापरवाही गर्दै जथाभावी पार्किङ गर्ने गरेको र यसले स्थानिय व्यवसायमा असर परेको भन्दै तत्काल पार्किङ निषेध गर्न र ट्याक्सी व्यवस्थापनको लागि प्रभावकारी कदम चाल्न माग गरेको हो।नगरपालिकाले अब कडा कदम चाल्ने जनाएको छ।

  • दमक-७ मा बालमैत्री घोषणाका लागि अनुगमन सुरु

    दमक-७ मा बालमैत्री घोषणाका लागि अनुगमन सुरु

    दमक, १७ साउन — झापाको दमक नगरपालिका वडा नम्बर ७ स्थित कियोच बाल अस्पतालको स्वामित्वमा रहेको रोज गार्डेन पार्क लगायतका क्षेत्रमा बालमैत्री घोषणाका लागि अनुगमन सुरु गरिएको छ। दमक नगरपालिका वडा नम्बर ७ बाल क्लबकी अध्यक्ष सुवेक्षा बिमलीको नेतृत्वमा शनिबारदेखि औपचारिक रूपमा अनुगमन प्रक्रिया थालिएको हो।

    अध्यक्ष बिमलीका अनुसार पार्कमा बत्ती व्यवस्थापन र फोहोर व्यवस्थापनको व्यवस्था तत्काल गर्न आवश्यक रहेको बताउनुभयो। दमक नगरपालिका वडा नं ७ लाई बालमैत्री वडा घोषणा गर्ने उद्देश्यले विभिन्न चरणमा अनुगमन तथा सुधार अभियान सञ्चालन भइरहेको क्लबले जनाएको छ।

    दमक नगरपालिका वडा नं ७ र दमक नगरपालिका बालमैत्री घोषणा अभियानलाई सशक्त बनाउने उद्देश्यले यस्ता अनुगमन र सुधारात्मक गतिविधिहरू जारी रहने बाल क्लबले जनाएको छ।अनुगमन टोलीमा बाल क्लब सचिव आयुषा गौतम, सह सचिव कमल पोख्रेल, कोषाध्यक्ष युनिस श्रेष्ठ, सदस्य समीज्ञा बास्कोटा लगायतको सहभागिता रहेको थियो।