दमकमा ब्युटी पार्लर तालिम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

दमक, साउन १९ – झापाको दमकमा आधारभूत ब्युटी पार्लर तालिम सम्पन्नसँगै प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। दमक नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र चन्द्रसूर्य सीप विकास संस्थाको सहकार्यमा तालिम तथा समापन कार्यक्रम सम्पन्न गरिएको हो।

दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्यता र उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। आर्थिक वर्ष २०८१/८२ अन्तर्गत महिला लक्षित कार्यक्रमअन्तर्गत जेठ ४ गतेदेखि सुरु गरिएको तालिम साउन १९ गते सम्पन्न भएको हो।

३५ दिने ३९० घन्टे तालिममा प्रशिक्षक सुनिता राईले सहभागीहरूलाई ब्युटी पार्लर सम्बन्धी विभिन्न सीपहरू प्रदान गर्नुभएको थियो। कार्यक्रममा मेयर रामकुमार थापाले सिप सिकेर मात्र नहुने, सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। दमक नगरपालिकाले सीप सिकेका व्यक्तिहरूलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

त्यस्तै उपप्रमुख रेगिना भट्टराई प्रसाईले सिटिइभिटीसँग आबद्ध तालिम भएकोले देश तथा विदेशमा प्रमाणपत्र मान्य हुने बताउँदै सहभागीहरूलाई सिकेको सीपको सही सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा अध्ययन तथा व्यवसायिक क्षेत्रमा एआइ प्रविधिको उपयोगमा पनि जोड दिनुभयो।

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले चन्द्रसूर्य सीप विकास संस्थाले प्रविधिसहित सुलभ मूल्यमा तालिम प्रदान गरेको भन्दै प्रशिक्षार्थीहरूलाई व्यावसायिक क्षेत्रमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। त्यस्तै दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश कुमार मेहता लेखले ब्युटी पार्लर सम्बन्धी सीपहरू छालासम्बन्धी स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुनाले सचेतपूर्वक अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षार्थी एलिसा चापागाईंले तालिम अत्यन्त प्रभावकारी रहेको र सिकेको सीपलाई स्वदेशमै उपयोग गर्दै आत्मनिर्भर बन्ने योजना रहेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता चन्द्रसूर्य सीप विकास संस्थाका अध्यक्ष विष्णु अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *