जेठ २०, दमक / झापाको दमक–३ स्थित दावगाछीमा रहेको श्री महाराज मन्दिर ग्रामथानमा हरेक वर्ष लाग्दै आएको परम्परागत तथा सांस्कृतिक सिरिजात जातिरी मेला यस वर्ष पनि धुमधामका साथ सम्पन्न भएको छ।
स्थानीय भूमिपुत्र समुदायका रूपमा चिनिने धिमाल समुदायले करिब १४० वर्षअघि देखि निरन्तर रूपमा आयोजना गर्दै आएको यो मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। जेठ १९ गते मंगलबार आयोजित मेलामा करिब सात सयभन्दा बढी मानिसले अवलोकन तथा सहभागिता जनाएको अनुमान गरिएको छ।
मेलाका अवसरमा धिमाल समुदायले ग्रामथानमा आफ्ना ग्राम देवताको पूजा–आराधना गरी भोग चढाएका थिए। प्रकृतिपूजक धिमाल समुदायले नयाँ वर्षको प्रारम्भसँगै प्रत्येक वर्ष वैशाख २ गतेदेखि असार २ गतेसम्म विभिन्न ग्रामथानमा आलोपालो गरी जातिरी मेला आयोजना गर्ने परम्परा रहेको छ।
धिमाल समुदायका अनुसार वर्षभरि गाउँ–समाजमा प्राकृतिक प्रकोप, दुर्घटना, महामारी तथा अन्य विपत्तिहरू नआउन् भन्ने कामनासहित कुल देवताको पूजा गरेर जातिरी मेला मनाउने गरिन्छ। यस मेलाले धार्मिक तथा सांस्कृतिक आस्थालाई मात्र नभई सामाजिक सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
धिमाल युवा अगुवा जितबहादुर धिमालका अनुसार जातिरी मेलामा उमेर पुगेका युवक–युवतीहरूले एकअर्कालाई चिन्ने, बुझ्ने र जीवनसाथी रोज्ने परम्परासमेत रहेको छ। “यो मेला केवल धार्मिक अनुष्ठान मात्र होइन, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर पनि हो,” उनले भने।
दमक–१ का पुराना बासिन्दा तथा सामाजिक–राजनीतिक अगुवा गजेन्द्र देवानले धिमाल समुदायले आयोजना गर्ने यस प्रकारका मेलाहरू आफूहरूका लागि पनि रमणीय र स्मरणीय बनेको बताए। “हामी सानैदेखि धिमाल दाजुभाइहरूसँग जातिरी मेला भर्न आउँथ्यौं। यस्ता सांस्कृतिक मेलाले धिमाल समुदायका परम्परा, संस्कृति र धार्मिक मूल्य–मान्यताको संरक्षण तथा जगेर्नामा ठूलो योगदान पुर्याइरहेका छन्,” देवानले बताए।
यस्तै, हरेक वर्ष दावगाछी मेला भर्दै आएका दमक–३ का स्थायी बासिन्दा तथा स्वास्थ्यकर्मी दिपक दाहालले बाल्यकालदेखि नै आमाबुबासँग हात समाएर मेला हेर्न आउने गरेको स्मरण गरे। उनका अनुसार मेलामा धिमाल समुदायका परम्परागत बाजागाजा, सांस्कृतिक प्रस्तुति, ढोल वादन तथा परम्परागत पोशाकमा सजिएका कलाकारहरूको नृत्य आकर्षणका केन्द्र रहने गरेका छन्।
स्थानीयवासीका अनुसार दावगाछीको जातिरी मेला धिमाल समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित हुँदै आएको छ। पुस्तौंदेखि निरन्तर चलिआएको यो परम्पराले धिमाल समुदायको मौलिक संस्कृति जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

Leave a Reply