माघ २५, दमक / प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा नेपाली कांग्रेसका उम्मेदवारलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जिताउने अभियानमा सक्रिय हुनुहुन्छ।
यसै सन्दर्भमा मल्टिमिडिया डट कमसँगको संवादमा अध्यक्ष शेर्पाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘जेन्जी आन्दोलन’को विपक्षमा रहेको दाबी गर्नुभयो। उहाँले पूर्व प्रधानमन्त्री ओलीमाथि विभिन्न काण्डहरूलाई लिएर व्यापक आलोचना भइरहेको उल्लेख गर्नुभयो।
अध्यक्ष शेर्पाका अनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेन्जी आन्दोलनलाई हाइज्याक गर्ने प्रयास गरेका छन् र उनी भ्रष्टाचारविरुद्ध प्रभावकारी रूपमा नलागेको आरोप लगाउनुभयो। हालसालै बनेको सरकार पनि बालेन शाहको आडमा गठन भएको भन्दै उहाँले वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको आरोप समेत लगाउनुभयो।
बालेन शाहको आह्वानमा भएको आन्दोलनले देशमा ठूलो मोड ल्याएको उल्लेख गर्दै शेर्पाले आन्दोलनका क्रममा देशका ठूला संरचना, सिंहदरबार आसपासका क्षेत्र र केही ठूला होटलमा आगजनी भएको दाबी गर्नुभयो। साथै काठमाडौँ महानगरपालिकाले हालसम्म गरेका कामहरू उल्लेखनीय नभएको पनि उहाँको भनाइ छ।
अध्यक्ष शेर्पाले बालेन्द्र शाह र केपी शर्मा ओली दुवैलाई ‘अतिवादी शक्ति’को संज्ञा दिनुभयो। भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा विभिन्न नेताहरूका घरमा आगजनी भएको र नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा हाल गठन भएको छानबिन समितिले सत्य–तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो।
दमक– ५ स्थित थ्री इन होटलमा पत्रकारहरूसँगको भेटघाटमा उहाँले जेन्जी आन्दोलनलाई बालेन शाहले प्रधानमन्त्री बन्ने उद्देश्यले हाइज्याक गरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्न योग्य नरहेको धारणा व्यक्त गर्नुभयो।



