
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका आकांक्षीहरूले धमाधम उम्मेदवारी फिर्ता लिने र समर्थन गर्ने क्रम चलिरहँदा उम्मेदवार गणेश कार्कीले प्रतिनिधिलाई आफ्नो मत अधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।
कार्कीले सर्वसम्मतिको नाममा कसैलाई उम्मेदवारी फिर्ता गर्न लगाउने, समर्थन गरेको भन्दै प्रचार गर्नेतिर नलागी प्रतिनिधिलाई आफ्नो मत अधिकार प्रयोग गर्न दिनुपर्ने बताएका हुन् । नेताको प्रभावबाट नभइ प्रतिनिधिको विवेकबाट छानिन पाउनुपर्ने उनको भनाइ थियो ।
कार्कीले प्रतिनिधिले आफ्नो विवेक प्रयोग गर्ने भएकाले उनीहरूकै मतबाट परीक्षण हुने तर बन्द कोठाबाट हुन सक्ने बताएका हुन् । सर्वसम्मतको प्रयास र कसैलाई अघि सार्दै उम्मेदवारी फिर्ता क्रम चलिरहेका बेला अनलाइनखबरसँग कुरा गर्दै कार्कीले भने, ‘प्रतिनिधिको मतबाट टुंगो लाग्नुपर्छ, कोठाबाट होइन ।’
महामन्त्रीका आकांक्षी कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, रन्जु दर्शना र गणेश पराजुलीलगायतले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन् । अब महामन्त्री पदका लागि कार्कीसँगै मनिष झा, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम भिडन्त हुँदैछ ।
यसैसन्दर्भमा कार्कीले महाधिवेशनमा प्रतिनिधिहरूलाई आफ्नो मत दिन लोकतन्त्रमा रोक्न नमिल्ने बताए । उनीहरूलाई विवेक प्रयोग गर्न दिनुपर्ने भन्दै प्रभावित पार्ने कामसमेत गर्न नुहने उनको भनाइ थियो ।
‘आकांक्षीले आफ्नो दाबेदारी प्रस्तुत गर्ने हो, बाँकी त मेसिन छ, यति धेरै दिनसम्म राखिसक्यौं । मत हाल्नकै लागि प्रतिनिधि बसिरहनुभएको छ, उहाँहरूले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ,’ कार्कीले भने ।
आकांक्षीहरू मध्येमा कोही उम्मेदवारीलाई समर्थन गरें भन्दै दाबेदारी फिर्ता गरिरहनुभएको छ, तपाईंलाई दबाब वा त्यस्तो प्रस्ताव छ कि छैन भन्ने प्रश्नमा कार्कीले भने, ‘छलफल त हुने कुरा भइहाल्यो । तर, मेरो सधैं कुरा के हो भने चुनाव भनेको लोकतन्त्र हो, यसको अभ्यास गर्नुपर्छ ।’
रास्वपाजस्तो लोकतान्त्रिक पार्टीभित्र झन् बढी चुनाव गराउनुपर्ने उनको भनाइ थियो । चुनावले कसैलाई कमजोर बनाउँदैन, लोकतन्त्रलाई बलियो बनाउँछ र प्रतिनिधिले आफैं मत दिएर छान्दा झन् अपनत्व बढ्छ भन्ने कुरा नयाँ पार्टीमा बढी महसुस गराउनुपर्ने कार्कीले बताए ।
‘म चुनावमा जाने भनेको कोही साथीलाई कम आँकेर, कसैको विरुद्धमा होइन कि म सक्छु भनेर आफ्नो दाबेदारी प्रस्तुत गरेको हुँ,’ कार्कीले अनलाइनखबरसँग भने, ‘लोकतान्त्रिक अधिकार प्रतिनिधिहरुले प्रयोग गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
आफ्नो नेतृत्व र अधिकार प्रयोग गर्दै प्रतिनिधिले नै छान्ने पाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो । अन्तिमसम्म पनि आफू यही अडानमा रहने कार्कीले बताए ।




