
दमक, १३ असार / झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा एकमहिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। हिमालय रोभर–रेन्जर स्काउट क्र्यु तथा हिमालय स्काउट ट्रुपको आयोजना, हिमालय माध्यमिक विद्यालयको सहयोग र ओम शान्ति डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरअन्तर्गत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको दन्त परीक्षण गर्ने लक्ष्य राखिएको छ।
ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार अघिल्लो शुक्रबार पहिलो शिविर सम्पन्न भएको थियो भने शुक्रबार दोस्रो चरणको शिविर सम्पन्न गरिएको हो। प्रत्येक शुक्रबार एक महिनासम्म सञ्चालन हुने शिविरमा स्मारक दाहाल र मालिका श्रेष्ठसहितको चिकित्सक टोलीले विद्यार्थीहरूको दन्त परीक्षण गरिरहेको छ।
शिविरमा सहभागी विद्यार्थीहरूले ओम शान्ति डेन्टल हस्पिटलबाट प्रदान गरिने सेवामा २० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। आवश्यक परे चिकित्सक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको सञ्चालक गैरेले जानकारी दिनुभयो। दमक–५ मा रहेको ओम शान्ति डेन्टल हस्पिटलले विशेषज्ञ चिकित्सकमार्फत दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।
जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यस वर्ष वृद्धिभई ५ दशमलव ८० पुगेको हो ।
अघिल्लो साल चैते धानको मूल्य क्विन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्विन्टल दुई हजार सम्ममा भइरहेको रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारी बताउँछन् । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ९ नलबारीका किसान नरबहादुर कटुवालले भने “भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुँचमा भण्डारण हुनेथ्यो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन । ”
कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।
काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
काठमाण्डौ । यसपाली देशमा मनसुन भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधवारदेखि देशभर वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । पर्यावरण तथा मौसमबिज्ञ उज्जवल उपाध्यायका अनुसार आउँदो बुधवारदेखि देशका सबैजसो ठाउँमा वर्षाको संभावना छ ।
उहाँका अनुसार पश्चिम र सुदुरपश्चिममा भने बिहिवार वर्षा हुनेछ । धान रोपाइँका लागि आकासे पानीको भर पर्नेहरुका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रवार उपयुक्त हुने मौसमविद्को भनाई छ ।
पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदीबीचका तराई क्षेत्रमा भने आउँदो मंगलवार नै राम्रो वर्षा हुने संभावना छ । पूर्वी पहाड तथा मध्यपहाडका केही ठाउँमा भने आज भोलि पनि वर्षाको संभावना छ ।
अर्को हप्ता अर्थात असार २२ गतेदेखि २९ गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको संभावना रहेको मौसमविद् उपाध्यायले बताउनुभयो ।
यसैबीच अबको ३र४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ ।
यसवर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो । तर मनसुन कमजोर अवस्थामै छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ।
पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।
विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो।
पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ।
त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए।
रोग नियन्त्रणका लागि पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ।
विभागका अनुसार हालसम्म कोसी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ।
तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा दाहालले बताए।
सङ्क्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ।
विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अन्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ।
यसैगरी पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशीविदेशी शक्तिको घेराबन्दी भएका बेला मैदान छाडेर भाग्नेप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् । शनिबार (असार १३) काठमाडौं आयोजित कार्यकर्ता भेलामा उनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिको घेराबन्दी भइरहेको बताएका हुन् ।
केहीले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उनले उल्लेख गरे । पछिल्लो चुनावमा विघटित संसद्मा रहेका सबै राजनीतिक दलको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीका रूपमा कायमै रहेको उनले बताए ।
अध्यक्ष लिङ्देनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर कांग्रेस, कम्युनिस्टजस्तै भए देशलाई विकल्प दिने एक मात्र पार्टी राप्रपा भएको उनको भनाइ थियो ।
मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार भएको सवारी दुर्घट नामा परी दुई जना बालबा लिकाको मृत्यु भएको छ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको युपि १३ ए ०७७७० (UP 13 A 07770) नम्बरको भारतीय कारले पैदलयात्री बालबालिकालाई ठ क्कर दिएको थियो। गाडीको तीव्र ठक्करबाट गम्भीर घाइते भएका दुवै बालबालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत बुधबार साँझ गएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ। साथै, ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार अझै सयौँ मानिस बेपत्ता रहेका छन्। भग्नावशेष हटाउने तथा बेपत्ता व्यक्तिको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। उद्धार टोलीले शुक्रबारसम्म २४३ जनालाई जीवितै उद्धार गर्न सफल भएको जनाएको छ।
उद्धार तथा खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ। भूकम्पले प्रभावित क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका छन्।
दमक, १३- असार / दमक–६ मा अवस्थित ग्लोबल एजुकेशनल एकेडेमीले आज (शुक्रबार) विद्यालयमा विद्युतीय मतदान प्रणाली मार्फत क्याप्टेन र हाउस क्याप्टेनको छनौट कार्य सम्पन्न गरिएको छ। निर्वाचनमा करिब विद्यालयका नौ सय जना विद्यार्थीहरु विद्युतिय मतदानमा सहभागी भएका थिए। पहिलो पटक विद्युतीय मतदान प्रणालीमार्फत २ जना स्कूल क्याप्टेन र ८ जना हाउस क्याप्टेनको निर्वाचन सम्पन्न भएको हो । उक्त निर्वाचनले विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास र डिजिटल मतदानबारे व्यवहारिक ज्ञान प्रदान गरेको विद्यालयले जनाएको छ।
दन्त शिविरमा ४७७ जनाको परीक्षण, ३९ जनाको मात्रै मुख स्वास्थ्य सामान्य
दमक, १२ असार–मोरङको मिक्लाजुङ–३ (टाँडी) धोबेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कालिका सामुदायिक माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा दमकस्थित दमक थुलुङ डेन्टल केयर सेन्ट्ररका दन्त रोग विशेषज्ञ डाक्टरसहितको टोलीले दन्त परिक्षण गर्नुका साथै दाँत तथा मुखको हेरचार, महत्वका बारेमा जानकारी गराइएको थियो ।
शिविरमा त्यहाँ अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु र शिक्षक–शिक्षिकाहरुसहित ४ सय ७७ जनाले सेवा लिएका थिए । सो मध्ये ३९ जना विद्यार्थीहरुको मात्रै दाँत र मुख स्वास्थ्य देखिएको दमक दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले जानकारी गराउनुभयो । डाक्टर थुलुङका अनुसार विद्यालयका अधिकाँष विद्यार्थीहरुमा दाँत तथा मुखसम्बन्धि समस्या देखिएको छ । उनिहरुलाई तत्काल थप उपचार र परामर्शको समेत जरुरी रहेको डाक्टर थुलुङले बताउनुभयो ।
शिविरमा ५१ जना विद्यार्थीहरुलाई दाँत माझ्ने ब्रस प्रदान गरिएको दमक थुलुङ डेन्टल केयर सेन्टरका सञ्चालकसमेत रहनुभका दन्त रोग विशेषाज्ञ थुलुङले जानकारी गराउनुभयो । वहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा कोठामै दाँत तथा मुखसम्बन्धि हेरचार, यसको महत्व र यसबाट वच्न ध्यान दिनुपर्ने विषयमा समेत जानकारी गराउन आवश्यक भएको बताउनुभयो । डाक्टर थुलुङले दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले दाँतको उपचार लिन टाढा जानुपर्ने र खर्चििलो उपचार भएको बुझाइका कारण यो समस्या विकराल बन्दै गएको बताउनुभयो ।
यसबारेमा समयमै उचित शिक्षा पुर्याउँन नसके प्रायः ग्रामिण क्षेत्रमा बसोबास गर्ने घर परिवारका सदस्यहरुमा दाँतसम्बन्धि समस्याहरु बढेर जाने डाक्टर थुलुङले चिन्ता व्यक्त गर्नुभयो । वहाँले यस्ता समस्यालाई न्यूनिकरया गर्न विद्यालयस्तरमा दाँत तथा मुखको हेरचार र महत्वका बारेमा शिक्षा दिन जरुरी रहेको बताउनुभयो । शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।






