२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

दमक । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा झापाको दमकस्थित प्रतिफल कृषि सहकारी संस्थाले सोमबार विशेष रोपाइँ कार्यक्रम आयोजना गरी दिवस उल्लासपूर्वक मनाएको छ।

कार्यक्रममा जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, खाद्य सुरक्षा प्रवर्द्धन तथा कृषिप्रति युवाको आकर्षण बढाउने उद्देश्यका साथ सामूहिक रूपमा धान रोपाइँ गरिएको थियो।

संस्थाका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नगरपालिकाको कृषि शाखाका अधिकृत, विभिन्न संघ–संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, सहकारीका सदस्य तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। नौमती बाजाको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

वक्ताहरूले कृषि उत्पादन वृद्धि, आधुनिक तथा जलवायुमैत्री खेती प्रणालीको विस्तार र खाद्य आत्मनिर्भरताका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै कृषिको सम्मान, किसानको योगदान र परम्परागत संस्कृतिको संरक्षणमा जोड दिएका थिए।

कार्यक्रमले कृषि उत्पादन बढाउने, सहकारीमार्फत किसानलाई संगठित बनाउने तथा समुदायमा कृषि सचेतना अभिवृद्धि गर्ने सन्देश दिएको आयोजकले जनाएको छ।

असार-१५,दमक/पहिलो पाइला नेपाल (प्रस्तावित कमल शाखा) ले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सोमबार कमल गाउँपालिका–५ स्थित रमा बिन्देबासिनी गुरुकुलमा दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका सह–संयोजक कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रतिनिधि ओम प्रधान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले धर्म, संस्कार र संस्कृतिको संरक्षणमा गुरुकुलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव र एकता बढाउने विश्वास व्यक्त गर्दै कार्यक्रम आयोजकलाई धन्यवाद तथा शुभकामना दिनुभयो।

कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय सचिव दिवस खतिवडा, जीवनचक्र समाज नेपालका अध्यक्ष जीपी गौतम, मङ्गलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, सामाजिक अगुवा तारा बस्नेत, गङ्गा निरौला, रमा बिन्देबासिनी गुरुकुलका प्रधानाध्यापकलगायत विभिन्न सामाजिक व्यक्तित्व तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।

हाल गुरुकुलमा २४ जना विद्यार्थी अध्ययनरत रहेका छन्। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा गुरुकुलमा अध्ययनरत घरबाट टाढा रहेका बटुकहरूलाई दही–चिउरा खुवाउनुका साथै धान दिवसको महत्वबारे जानकारी गराइएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सदस्य दीपेन्द्र खतिवडाले गर्नुभएको थियो।

असार १५, दमक / झापाको दमकमा तीनदिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ। पाशुपति आध्यात्मिक महिला समूह दमकको आयोजनामा सञ्चालित उक्त तालिम आइतबार दमक–३ स्थित पाशुपति मन्दिरको सभाहलमा समापन गरिएको हो। महिला दिदीबहिनीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक बोल्ने सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ५० जना महिलाको सहभागिता रहेको थियोे ।

समापन समारोहकी प्रमुख अतिथि महिला तथा बालबालिका शाखाकी अधिकृत जमुना पौडेल ले यस्ता तालिमले महिलाको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सार्वजनिक रूपमा आत्मविश्वासका साथ आफ्नो विचार प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तीन दिनसम्म सञ्चालन भएको तालिममा भवनि रेग्मी र विष्णु अधिकारी ले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले नेतृत्व विकास, प्रभावकारी सञ्चार, उद्घोषण कला तथा सार्वजनिक प्रस्तुतीकरणका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमकी अध्यक्ष तथा पाशुपति आध्यात्मिक महिला समूह दमककी अध्यक्ष रीता थापाले तालिमबाट सहभागीहरूमा मञ्चमा निडर भएर बोल्ने आत्मविश्वास बढेको बताउँदै सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण लाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन समूहकी सदस्य विमला पोखरेल ले गर्नुभएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।

दमक,१५ असार/कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानजनक विदाइ तथा नवनियुक्त स्वयंसेविकाहरूको स्वागत कार्यक्रम गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा लामो समयदेखि समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजनलगायत जनस्वास्थ्यका विभिन्न कार्यक्रममा उल्लेखनीय योगदान पुर्‍याई अनिवार्य अवकाश प्राप्त गर्नुभएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कमला कार्की र बिमला भट्टराईलाई सम्मानपत्र, मायाको चिनो तथा जनही नगद रु. १ लाखसहित सम्मानपूर्वक विदाइ गरिएको थियो।

विदाइ कार्यक्रममा उहाँहरूको निस्वार्थ, समर्पित र अनुकरणीय सेवाको उच्च प्रशंसा गर्दै आगामी जीवन सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।

विदाइ मन्तव्यका क्रममा स्वयंसेविका बिमला भट्टराईले ३३ वर्षसम्म सेवा गर्ने क्रममा धेरै चुनौती र अवरोध सामना गर्नुपरे पनि समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै निरन्तर सेवा गर्न पाएकोमा गर्व र आत्मसन्तुष्टि महसुस भएको बताउनुभयो। कर्मप्रतिको सन्तुष्टिले जीवनलाई शान्त र सुखद बनाएको अनुभव पनि उहाँले सुनाउनुभयो।

त्यसैगरी, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा नवनियुक्त हेममाया विष्ट (कमल–४) र सविता पोखरेल (कमल–६)लाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरिएको थियो। स्वागत मन्तव्यका क्रममा हेममाया विष्टले समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि सक्रिय, जिम्मेवार र समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै लामो समयसम्म सेवा गर्ने स्वयंसेविकाहरूको योगदान सधैं स्मरणीय रहने बताउनुभयो। उहाँले नवनियुक्त स्वयंसेविकाहरूले पनि इमानदारी, समर्पण र सेवाभावका साथ समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधि, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।