
दमक, असार २४ — झापाको दमक–३ बेलडाँगी टुस्थित पिप्ले बजारमा रहेको सरस्वती ज्वेलरीमा गएराति चोरी भएको छ। पसलको पछाडिको ढोका र सटर फोरेर अन्दाजी १० तोला सुन र करिब १२ किलो चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
सञ्चालक दिलबहादुर दर्नाल विश्वकर्माका अनुसार आज बिहान पसल खोल्न जाँदा चोरी भएको थाहा भएको हो। घटनापछि प्रहरी चौकी बाघखोर र इलाका प्रहरी कार्यालय दमकको टोलीले अनुसन्धान सुरु गरेको छ। सञ्चालकले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन्।
प्रारम्भिक विवरणअनुसार सुनका विभिन्न गरगहना तथा चाँदीका करुवा, थाल, पाउजुलगायतका सामग्री चोरी भएका छन्। अर्को सुन पसलका गरगहना पनि सुरक्षा प्रयोजनका लागि यही पसलमा राखिने भएकाले ती सामग्रीसमेत चोरी भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
असार , २४ दमक / झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा निःशुल्क दन्त परीक्षण तथा मुख स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यालयअन्तर्गत हिमालय स्काउट समूह तथा रोभर/रेन्जरको संयुक्त आयोजना र ओम शान्ति डेन्टलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा शिविर सञ्चालन गरिएको हो।
नेपाल स्काउटको ८५औँ स्थापना दिवसको अवसर पारेर विद्यालयकै खर्चमा सञ्चालन गरिएको शिविरमा करिब २ हजार ७ सय विद्यार्थीको दाँत परीक्षण तथा आवश्यक औषधोपचार गरिएको विद्यालयले जनाएको छ।
शिविर समापन कार्यक्रममा ओम शान्ति डेन्टलका सञ्चालक कमल गैरेले विद्यालयमै पुगेर बालबालिकाको मुख स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लागेको बताए। उनले सानै उमेरदेखि दाँत र मुखको नियमित सरसफाइमा ध्यान दिए भविष्यमा हुने धेरै दन्तरोगबाट बच्न सकिने उल्लेख गर्दै दाँतमा समस्या देखिए उपचार ढिला नगर्न र नियमित परीक्षण गराउन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले ग्रामीण तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले विद्यार्थीको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा प्राप्त गर्नु विद्यार्थीका लागि सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै सहयोगका लागि ओम शान्ति डेन्टलप्रति आभार व्यक्त गरे।
समापन कार्यक्रममा चिकित्सकहरूले दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारी दिँदै नियमित ब्रस गर्ने, स्वस्थ खानपान अपनाउने र समय–समयमा दन्त परीक्षण गराउने बानी विकास गर्न विद्यार्थीलाई सुझाव दिएका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक, स्काउटका पदाधिकारी, स्वास्थ्यकर्मी, अभिभावक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो। विद्यालयका अनुसार शिविरले विद्यार्थीमा मुख स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै आवश्यक उपचारको पहुँच विस्तार गर्न सहयोग पुगेको छ।
शिविर सफल बनाउन योगदान पुर्याएको भन्दै स्वास्थ्यकर्मी टंक न्यौपाने, कास्मि श्रेष्ठ र सायरा ढकाललाई सम्मान गरिएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए।






