
५ साउन, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका हुन् । पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर ! उनले यसअघि पनि एउटा स्टाटस लेख्दै जनकपुरमा लफडा भएको र गृहमन्त्रीले फोन अफ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’
उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् । साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् ।
जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।
दमक । झापाको दमकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका–१ हवल्दार चोकस्थित ‘टपरी होटल’ मा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा एक युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोलका ३५ वर्षीय पूर्णकुमार राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार होटेलमा लुकीछिपी लागुऔषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले राईलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । उनको शरीर र साथमा रहेको सामान खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा ब्राउन सुगर २२.१५ ग्राम बरामद भएको हो ।
लागुऔषधका साथै प्रहरीले राईको साथबाट एक थान मोबाइल फोन र उनले प्रयोग गरेको मे १० प ३९७० नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।






