
दमक, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार लामो समय टिक्ने आधार नदेखिएको बताएका छन्। झापाको दमकमा आयोजित राप्रपाको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले नेपालमा दुई तिहाइ बहुमत प्राप्त गरेका सरकारसमेत दुई वर्षभन्दा बढी टिक्न नसकेको उल्लेख गर्दै अहिलेको सरकार पनि स्थिर रूपमा अघि बढ्न नसक्ने दाबी गरे।
उनले अहिले कुनै पनि राजनीतिक दलले स्थिर सरकार सञ्चालन गर्न नसकेको टिप्पणी गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। सरकार गठन भएको सय दिन पूरा हुँदा पनि जनताले अनुभूति गर्ने खालका उपलब्धि देखिन नसकेको उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमा कर लगाउने सरकारी नीतिको आलोचना गर्दै यस्तो ढंगले सरकार सञ्चालन भए वर्तमान सरकार पनि चाँडै पतन हुने संकेत देखिएको बताए।
उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सरकारबाट उल्लेखनीय उपलब्धिको अपेक्षा गर्न कठिन भएको टिप्पणी गरे। साथै, देशलाई स्थिर र जनमुखी शासन आवश्यक रहेको भन्दै त्यसका लागि राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
दमक, झापा । झापाको दमक नगरपालिका–७ स्थित लालीगुराँस टोल विकास संस्थाको छैटौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनबाट हरि तिवारी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर श्रेष्ठ, सचिवमा इन्दिरा राना तथा सदस्यहरूमा मिना श्रेष्ठ, रमा राई, लक्ष्मी श्रेष्ठ र लक्ष्मी लामगादे चयन भई ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा दमक नगरपालिका–७ का वडाध्यक्ष भीमप्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले दमक–७ का टोलहरूलाई थप व्यवस्थित बनाउँदै विकासका योजनाहरू अघि बढाइने बताउनुभयो। टोल व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा कार्यालयबाट आवश्यक आर्थिक तथा अन्य सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
उहाँले स्थानीय सरकारको भूमिका भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै वडा नम्बर ७ कार्यालयले आवश्यक परेका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा समाजमा योगदान पुर्याएका तीन जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो। संस्थाकी सचिव इन्दिरा रानाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






