
दमक,। दमक बहुमुखी क्याम्पसअन्तर्गत दमक क्याम्पस साहित्यिक मञ्चको नवगठित कार्यसमितिको पदस्थापना, शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो। साथै, निर्वाचन आयुक्त एवं निवर्तमान अध्यक्ष पर्वत बस्नेतले नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रममा दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी कोषाध्यक्ष प्रीति मगर तथा क्याम्पसका सहायक प्रमुख पारसमणि आचार्यको विशेष उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले साहित्य, सिर्जना र नेतृत्व विकासमा मञ्चको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
नवगठित कार्यसमितिमा अध्यक्षमा दिपेश मिश्र, वरिष्ठ उपाध्यक्षमा बाबुराम न्यौपाने, महासचिवमा अनिस विष्ट, कोषाध्यक्षमा दिआ भट्टराई र सचिवमा भूमिका लिम्बु निर्वाचित भएका छन्।
यस्तै, उपाध्यक्षमा डिम्पल निरौला र योजित उप्रेती तथा सदस्यहरूमा संगीता पराजुली, ऋतु चेम्जोङ, प्रवीन थापा, निकेश तिखवा, सबिन दाहाल र सुमन कट्टेल रहेका छन्।
कार्यक्रममा नवगठित कार्यसमितिले साहित्यिक गतिविधिलाई अझ प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीमैत्री बनाउँदै क्याम्पसभित्र साहित्यिक चेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
अध्यक्ष हुकुम सिंह राईको पहलमा अस्पतालको सेवा विस्तार हुँदै
झापा, कमल। कमल नगर अस्पतालमा श्रावण २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालन हुने भएको छ।
कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा बसेको समितिको बैठकले भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
स्थानीय नागरिकलाई स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ।
भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी तथा चिकित्सकको सिफारिसमा भिडियो एक्स–रे आवश्यक पर्ने अन्य बिरामीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ।
अध्यक्ष राईले कमल नगर अस्पताललाई आधुनिक, व्यवस्थित, प्रविधिमैत्री तथा नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यअनुसार अस्पतालको सेवा तथा पूर्वाधार विस्तारमा जोड दिँदै आएका छन्।
यसअघि नै कमल नगर अस्पतालले मानसिक स्वास्थ्य विशेषज्ञसहितको सेवा, दन्त सेवा तथा आँखा सेवा विस्तार गरिसकेको छ। भिडियो एक्स–रे सेवासमेत थपिएसँगै अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा अझ फराकिलो हुने भएको छ।
बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
अस्पतालले श्रावण २५ गते सोमबारदेखि हप्ताको दुई दिन नियमित रूपमा भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने जनाएको छ।
भिडियो एक्स–रे सेवा सञ्चालनसँगै स्थानीय नागरिकले समय तथा खर्च बचत गर्दै आफ्नै पालिकामा आवश्यक स्वास्थ्य जाँच तथा उपचार सेवा लिन पाउने अपेक्षा गरिएको छ।
कनकाई । सुरुङ्गा जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन कन्काई नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो।
सुरुङ्गा जेसीजकी अध्यक्ष मेनुका उप्रेती शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष (निरुपित क्षेत्र ‘क’) योगेश राजवंशी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा कार्यक्रम संयोजक सुजता अधिकारीले स्वागत मन्तव्य र सप्ताह संयाेजक ऋषभ सिह चाहारले कार्यक्रम ओैचित्य माथि प्रकाश पारेका थिए भने पूर्व अध्यक्षहरू कुमारमणि पोख्रेल र जबिन तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए। तालिम निर्देशक सुस्मिता बास्तोलाले जेसीज आस्था तथा कार्यकारिणी उपाध्यक्ष खुश्बू तिम्सिनाले जेसीजको मिसन–भिजन वाचन गरेकी थिइन्। कार्यक्रमको सञ्चालन महासचिव जेनिश चम्लागाईंले गरेका थिए।
प्रतियोगितामा कन्काई नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सञ्चारकर्मी स्वस्तिका आचार्य, चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र थापा र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्की रहेका थिए।
प्रतियोगितामा पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयकी दीपशिखा भेटवाल प्रथम, देवकोटा एजुकेशन फाउन्डेसनकी अनुष्का गुरागाईं द्वितीय तथा झापा म्यारिगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयका सर्जक तिम्सिना तृतीय भए।
विजयी प्रतियोगीहरूलाई नगद पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिएको आयोजकले जनाएको छ। सुरुङ्गा जेसीजले जेसीज सप्ताहअन्तर्गत आगामी दिनहरूमा सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
स्रावण महिनाको तेस्रो सोमबारको अवसर पारेर सामाजिक संस्था पहिलो पाइला नेपाल ले झापाको शिवसताक्षी नगरपालिका–स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सताक्षीधाम मा दर्शनार्थी तथा बोलबम यात्रामा सहभागी भक्तजनलाई निःशुल्क पानी तथा फलफूल वितरण गरेको छ।
बिहान ४ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको सेवामूलक कार्यक्रममा सताक्षीधाम पुगेका सयौं भक्तजनलाई शुद्ध खानेपानी तथा फलफूल वितरण गरिएको संस्थाले जनाएको छ
पहिलो पाइला नेपालले यसअघि पनि दमकस्थित पशुपति मन्दिर र धनेश्वर मन्दिर मा स्रावण सोमबारका अवसरमा यस्तै सेवा कार्यक्रम सञ्चालन गरिसकेको छ। धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्दै संस्थाले निरन्तर यस्ता सेवामूलक अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
सामाजिक सेवामा सक्रिय पहिलो पाइला नेपालले विगत केही वर्षदेखि विद्यार्थीहरूलाई विद्यालय झोला, शैक्षिक सामग्री वितरण, ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगलगायत विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका अध्यक्ष राजु निरौला ले सताक्षीधाम व्यवस्थापन समिति तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै समाजसेवाका यस्ता अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।
त्यसैगरी, सताक्षीधाम व्यवस्थापन समितिका अध्यक्ष ले पहिलो पाइला नेपालको सेवामूलक कार्यको प्रशंसा गर्दै धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको सताक्षीधामको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारमा सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए। उनले यस्ता सामाजिक अभियानले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थाका सल्लाहकार महेश घिमिरे, पत्रकार तथा सामाजिक व्यक्तित्व हरु
अनिलदेव राई, सुवास सुवेदी, लगायत संस्थाका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पहिलो पाइला नेपालले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







