
दमक, साउन १९ — पवित्र महिना साउनकाे तेस्रो सोमबारको पावन अवसरमा क्लब हिमालयन टाइगर, दमक शाखा ले दमक–५ स्थित धनेश्वर मन्दिरमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरूलाई निःशुल्क शुद्ध पिउने पानी तथा फलफूल वितरण गरेको छ।
भगवान शिवप्रति आस्था, भक्ति र समर्पण व्यक्त गर्ने साउने सोमबारका अवसरमा मन्दिरमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको थियो। भक्तजनको सहजता र सेवाभावलाई मध्यनजर गर्दै क्लबले निःशुल्क पानी तथा फलफूल वितरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
क्लबका अनुसार “मानव सेवा नै सच्चा धर्म हो” भन्ने मूल भावनाअनुसार समाजसेवा, मानवता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आगामी दिनमा पनि यस्ता सेवामूलक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने क्लबले जनाएको छ।
क्लबले उक्त कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र हौसला प्रदान गर्ने सम्पूर्ण सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
दमक। झापाको दमक–६, देवकोटा चोकस्थित दमक सहकारीको भवनमा सञ्चालित गोठालो मार्ट दमक र कामधेनु दुग्ध विकास सहकारी संस्था, इटहरी बीच स्थानीय किसानका उत्पादनको खरिद–बिक्री तथा बजारीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ।
समझदारीपछि मंगलबार कामधेनु दुग्ध विकास सहकारी संस्थाका कार्यालय प्रमुख नवराज नेपाल सहितको टोलीले गोठालो मार्टको अवलोकन गरेको थियो।
अवलोकनका क्रममा कार्यालय प्रमुख नेपालले किसानसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै सिद्धान्त र सहकारीको मूल्य–मान्यता अनुरूप उत्पादनको खरिद–बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले सहकार्य अघि बढाइएको बताउनुभयो। यसबाट किसानले उत्पादनको उचित बजार पाउने र उपभोक्ताले गुणस्तरीय स्वदेशी वस्तु सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
गोठालो मार्टका सञ्चालक समिति अध्यक्ष सागर गौतम ले किसानले उत्पादन गरेका कृषि तथा घरेलु उत्पादनलाई प्रत्यक्ष खरिद गरी उपभोक्तासम्म पुर्याउने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मार्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
गोठालो मार्टमा दैनिक उपभोग्य सामग्री, ताजा सागसब्जी, अर्गानिक कृषि उत्पादन, नेपालमै उत्पादन भएका गाँजा र भाङको रेसाबाट बनेका लुगा, झोला, ब्यागलगायत विभिन्न स्वदेशी उत्पादन उपलब्ध रहेका छन्।
मार्टले नेपाली उत्पादनको प्रवर्द्धन, कृषि तथा जडीबुटीजन्य उत्पादनको विकास, स्थानीय उत्पादनको बजारीकरण, युवा उद्यमशीलताको अभिवृद्धि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।
सहकार्यसँगै स्थानीय किसानका उत्पादनलाई अझ व्यवस्थित बजार उपलब्ध गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने तथा सहकारीमार्फत ग्रामीण अर्थतन्त्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।







