
दमक। तेजस् डेन्टल क्लिनिक, दमक–६ र द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमकबीच एक वर्षका लागि समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।
सम्झौताअनुसार द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमकका सम्पूर्ण विद्यार्थीहरूले तेजस् डेन्टल क्लिनिकमा उपलब्ध सम्पूर्ण दन्त उपचार सेवामा एक वर्षसम्म २० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्।
सम्झौताअनुसार उक्त सुविधा एक वर्षका लागि लागू रहनेछ। विद्यार्थीहरूले आफ्नो परिचयपत्र वा कन्सल्टेन्सीले उपलब्ध गराएको आवश्यक सिफारिसका आधारमा सहुलियत सुविधा लिन सक्ने जनाइएको छ।
दुवै संस्थाबीच भएको यस सहकार्यले विद्यार्थीहरूलाई गुणस्तरीय, विश्वासिलो तथा सहज दन्त स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
तेजस् डेन्टल क्लिनिकले यस महत्वपूर्ण सहकार्यका लागि द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमक परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट, प्रभावकारी र सहज दन्त स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
दमक, साउन — बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भएको जनगुनासो बढेपछि दमक नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ।
नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराईको नेतृत्वमा तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंसहितको संयुक्त टोलीले दमकका विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रहरूमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा अधिकांश व्यवसायीले “ग्यास मौज्दात छैन” भन्दै खाली सिलिन्डर मात्र देखाएका थिए। बजारमा ग्यास अभावको अवस्था देखिए पनि उपभोक्ताबाट सिलिन्डर लुकाएर बढी मूल्यमा बिक्री भइरहेको भन्ने गुनासो आएपछि नगरपालिकाले अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।
उपप्रमुख भट्टराईले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा कानुनविपरीत कार्य गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइन्। उनले उपभोक्ताको अधिकार संरक्षण तथा सहज आपूर्ति सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिइने पनि बताइन्।
अनुगमन टोलीले व्यवसायीलाई मूल्यसूची स्पष्ट रूपमा राख्न, उपलब्ध मौज्दातको वास्तविक विवरण सार्वजनिक गर्न तथा उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम नलिन निर्देशन दिएको छ।
नगरपालिकाले ग्यासको आपूर्ति, मौज्दात र बिक्री प्रक्रियामाथि निरन्तर निगरानी राख्दै कालोबजारी नियन्त्रणका लागि आवश्यक थप कदम चालिने जनाएको छ।
दमक, साउन २१ — झापाको दमक नगरपालिका स्थित आस्था कलेज अफ म्यानेजमेन्टले सञ्चालन गर्दै आएको विद्यार्थी बसमा सिट क्षमताभन्दा धेरै विद्यार्थी राखेर ओसारपसार गर्ने गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्। विद्यार्थीका अनुसार कलेजले लामो समयदेखि बसमा क्षमताभन्दा बढी विद्यार्थी चढाएर कोचाकोच अवस्थामा आवतजावत गराउँदै आएको छ। यसका कारण दैनिक रूपमा विद्यालय आउन–जान निकै सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ।
विद्यार्थीहरूले बसमा अत्यधिक भीड हुँदा यात्रा असहज मात्र नभई दुर्घटनाको जोखिमसमेत बढेको बताएका छन्। बसमा उभिएर तथा कोचाकोच अवस्थामा यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। यस विषयमा यसअघि पनि सम्बन्धित प्रशासन तथा कलेज व्यवस्थापनको ध्यानाकर्षण गराइए पनि कुनै प्रभावकारी सुधार नभएको विद्यार्थीहरूको आरोप छ। पटक–पटक गुनासो गर्दा समेत व्यवस्थापनले बेवास्ता गरेको उनीहरूले बताएका छन्।
विद्यार्थीहरूले बस सेवा सुरक्षित, व्यवस्थित र सिट क्षमताअनुसार सञ्चालन गर्न कलेज प्रशासनसँग माग गरेका छन्। साथै सम्बन्धित निकायले पनि यस विषयमा आवश्यक अनुगमन गरी विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।







