
दमक । तेजस् डेन्टल क्लिनिक र पहिलो पाइला नेपाल, दमक नगर समितिबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले एक वर्षका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार पहिलो पाइला नेपाल, दमक नगर समितिमा आबद्ध सम्पूर्ण सदस्यले तेजस् डेन्टल क्लिनिकबाट दाँत तथा मुखसम्बन्धी उपचार सेवा लिँदा २० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौताले पहिलो पाइला नेपालमा आबद्ध सदस्यहरूलाई दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी उपचारमा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवामा सहकार्य र सेवाभावलाई प्रभावकारी बनाउने उद्देश्यले सम्झौता गरिएको दुवै पक्षले जनाएका छन्।
एक वर्षका लागि भएको सम्झौताले सदस्यहरूलाई गुणस्तरीय दन्त उपचार सेवा सहज र सहुलियत दरमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
दमक । पहिलो पाइला नेपाल, दमक शाखाले शाखा अध्यक्ष राजु निरौलाको जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
सामाजिक सेवामार्फत विद्यार्थीको शैक्षिक पहुँच विस्तार तथा विद्यालयप्रति आकर्षण बढाउने उद्देश्यले मंगलबार बिहान कमल गाउँपालिका–५, सिम्ले क्याम्पास्थित श्री शहीद रत्न आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका बालबालिकालाई अध्ययनमा निरन्तरता दिन सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।
‘सधैं परिवर्तनको लागि’ भन्ने मूल भावका साथ अघि बढिरहेको पहिलो पाइला नेपालले शिक्षा, बालबालिका तथा सामाजिक सेवासँग सम्बन्धित गतिविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउँदा नियमित विद्यालय उपस्थितिमा वृद्धि हुनुका साथै अध्ययनप्रति थप उत्साह पैदा हुने अपेक्षा गरिएको छ।
विद्यालय परिवार तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। ग्रामीण तथा पहुँचबाट टाढा रहेका विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्न कार्यक्रमले सहयोग पुगेको आयोजकको भनाइ छ।
अध्यक्ष निरौलाले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्।







