२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

दमक नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम तथा सेवाको दुई दिने बार्षिक समीक्षा शुरु गरेको छ ।
समिक्षा कार्यक्रमको उदघाटन गर्दै दमक नगर प्रमुख रामकुमार थापाले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच थप प्रभावकारी बनाउने उदघोष गरेका छन् ।

दमक नगरपालिकाको सभाहलमा सञ्चालित गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख रामकुमार थापाले स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले समीक्षा कार्यक्रमका माध्यमबाट विगतका उपलब्धिको मूल्यांकनसँगै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी आगामी योजना थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगर प्रमुख थापाले सिमित स्रोत र साधनका बाबजुद स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै उल्लेखीय उपलब्धि हाँसिल गरेको बताए ।

कार्यक्रममा दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहताले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य शाखामार्फत सञ्चालन भएका कार्यक्रम तथा प्राप्त उपलब्धिको विवरण प्रस्तुत गरे । नगरपालिकाले खोप, मातृ तथा नवजात शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, संक्रामक तथा नसर्ने रोग नियन्त्रण, मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक तथा लक्षित समुदायको स्वास्थ्य सेवासहित विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको उनको प्रस्तुतीमा उल्लेख छ ।

स्वास्थ्य शाखाको प्रगति विवरण अनुसार गत आर्थिक वर्षमा ९९ प्रतिशतभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सेवा प्रदान गरिएको छ । दुई वर्षमुनिका बालबालिकाको नियमित वृद्धि अनुगमनसँगै बालभिटा तथा पोषक तत्व वितरण र १३५ जना कुपोषित बालबालिकाको स्वास्थ्योपचारमा विशेष ध्यान दिइएको छ ।

त्यस्तै, नगर क्षेत्रका अस्पतालमार्फत ६ हजार ७ सय १० जनालाई प्रसूति सेवा प्रदान गरिएको छ । स्वास्थ्यकर्मीमार्फत २ हजार ७ सय २७ जना सुत्केरी महिलाको घरमै पुगेर सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । नागरिक आरोग्य सेवा केन्द्रबाट पनि आयुर्वेद स्वास्थ्य सेवा लिनेको संख्या उल्लेखीय छ ।

वडा तहमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा विस्तार गर्दै स्वास्थ्यकर्मीलाई तालिम दिएर रोगी पहिचान, उपचार तथा प्रेषणको कामसमेत सुरु गरिएको छ । एआई एक्स–रे प्रविधिको प्रयोगमार्फत क्षयरोग पहिचान गरी उपचारको दायरामा ल्याउने काम गरिएको स्वास्थ्य शाखाले जनाएको छ।समीक्षामा नगरको स्वास्थ्य क्षेत्रमा नसर्ने रोगको बढ्दो अवस्थालाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल कोशी प्रदेशमानै उदाहरणीय रहेको बताए ।
दमक नगरपालिकाकी कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शारदा भट्टराइ (सापकोटा), नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीच समन्वय आवश्यक रहेको धारणा राखे । प्रमुख प्रशासकिय अधिकृत निरौलाले राज्यले तोकेको १० प्रतिशत निशुल्क बेड उपलब्ध गराउनुपर्ने प्रावधानको कडाइँका साथ कार्यान्वयन गराउने उदघोष गरे ।

स्वास्थ्य शाखाले आगामी दिनमा निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई समेत सूचीकृत गरी नियमन गर्ने योजना बनाएको छ । स्वास्थ्य शाखाले नसर्ने रोगका बिरामीको बढ्दो संख्या, बालबालिकामा देखिएको कुपोषण, विद्यालयका किशोरीमा आइरन चक्कीको प्रयोगमा कमी, स्वास्थ्य संस्थाको व्यवस्थापन समितिका बैठकमा कमी तथा आवश्यक औषधिको नियमित आपूर्तिको अभावलाई प्रमुख समस्याका रूपमा औंल्याएको छ ।

बिहीबार सम्म चल्ने समीक्षा गोष्ठीमा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन भएका कार्यक्रम, सेवा प्रवाह, उपलब्धि, समस्या तथा आगामी कार्ययोजनामाथि छलफल तथा समीक्षा गरिने जनाइएको छ ।

लागूऔषध ब्राउन सुगरसहित इलाम चुलाचुलीका तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार मङ्गलवार साँझ करिब ५ः२० बजे लागू औषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा खटिएको सादा पोशाकको टोलीले कमल गाउँपालिका–५ स्थित चोलुङ टोल विकास संस्था, टुक्रे बजारमा सवारीसाधन जाँच गरेको थियो।

सो क्रममा इलामको पेल्टीमारीबाट कमल हुँदै दमकतर्फ आउँदै गरेको मे ११ प ८१७७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा तीन जना शङ्कास्पद अवस्थामा भेटिएका थिए। प्रहरीले खानतलासी गर्दा मोटरसाइकलमा सवार चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका २४ वर्षीय निराज तामाङले लगाएको जिन्स पाइन्टको अगाडिको दाहिने गोजीमा बिक्री–वितरणका लागि छुट्टाछुट्टै पोका पारेर राखिएको ब्राउन सुगर फेला परेको थियो ।

उक्त लागू औषध प्लास्टिकसहित १७ ग्राम ९६० मिलिग्राम र प्लास्टिकबाहेक ११ ग्राम १५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।घटनामा प्रहरीले तामाङसँगै सोही स्थानका २० वर्षीय दिवान आङथुपो र ३१ वर्षीय कमल तामाङलाई समेत नियन्त्रणमा लिएको छ।प्रहरीले लागूऔषधसँगै डिजिटल तराजु एक थान, विभिन्न दरका नेपाली रुपैयाँ १८ हजार ५ सय र मे ११ प ८१७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।