
दमक । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमकले १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
संगठनले सोमबार दमकमा आयोजना गरेको शोकसभामार्फत बाढीपीडितका लागि संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएको हो।
अनरेरी क्याप्टेन असारसिंह खजुम लिम्बुको प्रमुख आतिथ्यतामा संगठनको दमकस्थित भवन परिसरमा शोकसभा आयोजना गरिएको थियो। कार्यक्रममा संगठनका अध्यक्ष प्रेमबहादुर बेघा लिम्बुले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारको दुःखमा साथ दिन राहत रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो।
उहाँले विपद्को समयमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक रहेको बताउँदै पूर्व भारतीय गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्दै राहत अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
संगठनका सचिव श्रीप्रसाद राईका अनुसार दमक क्षेत्रका संगठनमा आबद्ध पूर्व भारतीय गोर्खा सैनिकका परिवारबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
शोकसभामार्फत भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै सहयोग रकम संकलन गरिएको सचिव राईले बताउनुभयो। विपद्का बेला पीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको उहाँको भनाइ छ।
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विभिन्न संघसंस्था, समूह तथा व्यक्तिहरूले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने क्रम जारी छ।
दमकका युवा व्यवसायी विपिन सुवेदीले आफ्नी हजुरआमाको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकमा रु. २ लाख ५० हजार बराबरको RO तथा UV प्रविधियुक्त पानी फिल्टर र चिसो पानी आउने मेसिन जडान गरी हस्तान्तरण गरेका छन्।
सोमबार प्रहरी कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच सुवेदीले उक्त मेसिन हस्तान्तरण गरेका हुन्। प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई स्वच्छ र चिसो खानेपानीको सहज सुविधा उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरिएको जनाइएको छ।
हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरि बस्नेत, इन्स्पेक्टर प्रमोद खड्का, सामाजिक व्यक्तित्व सन्तोष दुलाल, छवि खतिवडा, व्यवसायी बिजु राई तथा विपिन सुवेदीको उपस्थिति रहेको थियो।
हजुरआमाको स्मृतिमा सामाजिक सेवामार्फत गरिएको उक्त सहयोगलाई उपस्थितहरूले प्रशंसनीय कार्यका रूपमा लिएका छन्।







