
दमक–६ स्थित ग्लोबल एजुकेशन एकेडेमीले वार्षिक रूपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम यस वर्ष दुई दिनसम्म सञ्चालन गरेको छ।
बिहीबार र शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल मन्टेश्वरी तथा ग्लोबल एजुकेशन एकेडेमीका विद्यार्थीहरूले विभिन्न जातजातिका सांस्कृतिक पहिरनमा सजिएर नृत्य, गायनलगायतका प्रस्तुति दिएका थिए।
कार्यक्रमअन्तर्गत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागतमा विशेष सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए। विद्यालयका प्राचार्य गुणराज अधिकारीसहित शिक्षक तथा कर्मचारीहरूले नवआगन्तुक विद्यार्थीलाई खादा तथा अबिर लगाएर स्वागत गरेका थिए।
यसै क्रममा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरूले आफैंले तयार गरेका विभिन्न परिकारसहित दिवा भोजको समेत आयोजना गरेका थिए।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा दमक नगरपालिकाका शिक्षा समिति संयोजक कुबेर भट्टराई, शिक्षा अधिकृत प्रविण खड्का, ग्लोबल एजुकेशन एकेडेमीकी सञ्चालक समिति अध्यक्ष इन्दिरा बस्नेत, प्राचार्य अधिकारीसहित शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने छात्रा परिधि गुरागाईंलगायत विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।







