
झापाको दमक नगरपालिका–३ स्थित सखुवाको काठ तस्करी भइरहेको अवस्थामा बोलेरो गाडीसहित एक प्रहरी हवलदार स्थानीयको नियन्त्रणमा परेका छन्। स्थानीयका अनुसार सखुवाको ५० थानभन्दा बढी काठ तस्करी गरी उर्लाबारीतर्फ लैजाँदै गरेको अवस्थामा को २ च २२४१ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिइएको हो। गाडीमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवलदार सन्तोष पाण्डे समेत सादा पोशाकमा रहेको स्थानीयले बताएका छन्।
काठ तस्करी भइरहेको अवस्थामा उर्लाबारीका सिभिल प्रहरी हवल्दार सन्तोष पाण्डेसहित स्थानीयलाई नियन्त्रणमा लिइएको छ। एक जिल्लाबाट अर्को जिल्लामा कारबाही वा अनुसन्धानका लागि प्रहरी खटिँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने व्यवस्था भए पनि, हवल्दार पाण्डे बिना अनुमति झापा आएको पाइएको हो।
हंसेदुम्से सामुदायिक वनका अध्यक्ष योगराज दङ्गालका अनुसार वन क्षेत्रमा गस्ती गर्ने क्रममा काठसहितको गाडी नियन्त्रणमा लिइएको हो।
दमक–३ का स्थानीयले यस क्षेत्रमा लामो समयदेखि काठ तस्करी हुने गरेको दाबी गर्दै आएका छन्। प्रहरीकै कर्मचारीको संलग्नता रहेको भनिएको घटनाले प्रहरीकै सेटिङमा यस्तो गतिविधि भइरहेको हो कि भन्ने प्रश्नसमेत उठाएको स्थानीयको भनाइ छ।
गाडी चालक अरुण साहाका अनुसार, उक्त गाडी वनबाट ल्याइएको दाबी गर्नुभएको छ।
घटनाको विषयमा आधिकारिक जानकारी लिन हामीले सबैभन्दा पहिले दमक इलाका प्रहरी कार्यालयसँग समन्वय गर्यौँ। तर, त्यहाँबाट सूचना दिने अधिकार जिल्ला प्रहरी कार्यालयसँग रहेको भन्दै पन्छाइयो। त्यसपछि जिल्ला प्रहरी कार्यालय, झापासँग पनि पटक–पटक समन्वय गरेर घटनाबारे स्पष्ट जानकारी र आधिकारिक प्रतिक्रिया लिन खोज्यौँ। तर जिल्ला प्रहरी कार्यालयसमेत घटनाबारे क्यामेरामा आएर स्पष्ट धारणा राख्न तयार देखिएन। यसले घटनाबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक हुन नसकेको अवस्था देखिएको छ।”
सुरुङ्गा वन कार्यालयका वन अधिकृत महेन्द्र पौडेलका अनुसार बरामद गरिएको ४१ क्युफिटभन्दा बढी काठको सरकारी मूल्य करिब ७१ हजार रुपैयाँ बराबर रहेको छ। उहाँका अनुसार काठसम्बन्धी सम्पूर्ण फर्दार तथा कानुनी प्रक्रिया वन कार्यालयले अघि बढाउनेछ। बरामद गरिएको गाडीको मूल्यांकन भने श्रम तथा रोजगार मन्त्रालयबाट गरिने र त्यसपछिको सम्पूर्ण प्रक्रिया गाडी चालकको बयानका आधारमा अघि बढाइने उहाँले बताउनुभयो।
एक जिल्लाबाट अर्को जिल्लामा कुनै कारबाही वा अनुसन्धानका लागि प्रहरी खटिँदा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयसँग आवश्यक समन्वय गर्नुपर्ने व्यवस्था भए पनि, उर्लाबारीका प्रहरी हवल्दार सन्तोष पाण्डे बिना अनुमति झापा आएको पाइएको छ ।
गौरादह, झापा । झापाको गौरादहमा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक स्पर्श क्लबले रक्षा गरेको छ। आइतबार सम्पन्न फाइनल खेलमा स्पर्श क्लबले पश्चिम बंगालको रोथखोला एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
प्रतिस्पर्धात्मक खेलमा आयोजकका लागि सुजता पालुङवाले खेलको ३६औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। दोस्रो हाफको ४३औँ मिनेटमा मनिका तुम्रकले गोल गर्दै अग्रता २–० मा पुर्याइन्। त्यसपछि ५२औँ मिनेटमा समीक्षा मगरले तेस्रो गोल थपेपछि स्पर्श क्लब ३–० ले विजयी भयो।
रोथखोला एफसीले मिडफिल्डमा राम्रो प्रदर्शन गरे पनि फिनिसिङमा चुकेपछि गोल गर्न सकेन। आयोजक टोलीले खेलभर केही थप गोलका अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा खेल ३–० मै सकिएको थियो।
फाइनल खेलको म्यान अफ द म्याच आयोजककी मनिता तामाङ घोषित भइन्। प्रतियोगिताको पहिलो गोलका लागि मेडिको केयरले घोषणा गरेको १० हजार रुपैयाँ पुरस्कार आयोजककी सुजता पालुङवाले प्राप्त गरिन्। त्यस्तै, खेल अवधिभर उत्कृष्ट ऊर्जा प्रदर्शन गर्ने खेलाडीका रूपमा काकडभिट्टा महिला फुटबलकी १२ वर्षीया सरस्वती राजवंशी घोषित भइन्।
उपाधिसँगै स्पर्श क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता रोथखोला एफसीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए। उनले खेलकुदले युवामा अनुशासन विकास गर्नुका साथै समाजसेवामा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। गौरादहमा पहिलोपटक महिला फुटबल आयोजना भएकाले यस क्षेत्रका महिलामा फुटबलप्रति आकर्षण बढ्ने विश्वास उनले व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काले युवामा खेलकुदको विकाससँगै लागूऔषध दुर्व्यसन नियन्त्रणमा समेत सहयोग पुग्ने धारणा राखिन्।
आयोजक स्पर्श क्लबका अध्यक्ष उज्ज्वल दाहालको सभापतित्वमा प्रतियोगिता सम्पन्न भएको हो।







