
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दमक उद्योग वाणिज्य संघले ४१ लाख रुपैयाँभन्दा बढीको सहयोग गरेको छ।
संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख ४३ हजार ३७५ सहयोग रकम प्रदान गरेको छ। साथै, बाढीपीडितका लागि आवश्यक जिन्सी सामग्रीतर्फ रु. ३८ लाख २८ हजार २० रुपैयाँ बराबरको सहयोग समेत उल्लेख गरिएको छ।
संघले विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको अध्यक्ष गोपाल गुरागाइले बताउनुभयो।
यसअनुसार संघको नगद तथा जिन्सी गरी कुल रु. ४१ लाख बढीको सहयोग भएको देखिन्छ। पछिल्लो समय भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निजी क्षेत्र तथा व्यवसायिक संघसंस्थाबाट राहत सहयोग जुट्ने क्रम जारी छ।







