
झापा । झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ घरघरमा पु¥याउने भएको छ ।
दशैँमा जमरा राख्न चाहने उपभोक्ताले मकै, जौ र गहुँ छुट्टाछुट्टै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले उद्योगले तीनै प्रकारका बीउलाई आवश्यक मात्रामा मिश्रण गरी प्याकेजिङ गरेर बिक्री गर्न लागेको हो । उद्योगले यस वर्ष २००, ४०० र ५०० ग्रामका प्याकेजमा जमराका लागि मिश्रित बीउ उपलब्ध गराउने जनाएको छ ।
दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नकी सञ्चालिका बबिता तिम्सिनाले घरमा आफूअनुकूल समयमा जमरा उमार्न सकिने गरी बीउ तयार गरिएको बताउनुभयो । उहाँका अनुसार दशैँमा जमरा राख्ने परम्परालाई सहज बनाउँदै आवश्यक सामग्री एउटै प्याकेटमा उपलब्ध गराउने उद्देश्यले यस्तो तयारी गरिएको हो ।
“मकै, जौ र गहुँ खोज्दै विभिन्न ठाउँमा धाउनुपर्ने अवस्थाको अन्त्य गरी आवश्यक बीउ एउटै ठाउँमा उपलब्ध गराउन खोजेका हौँ,” तिम्सिनाले भन्नुभयो ।
उद्योगले बुधबारदेखि जमराका लागि अग्रिम अर्डर लिनसमेत सुरु गरेको जनाएको छ । अग्रिम मागअनुसार उत्पादन तथा प्याकेजिङ गरी उपभोक्तासम्म पु¥याउने तयारी गरिएको उद्योगले जनाएको छ ।
कमल–६ मा रहेको दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नले विभिन्न पूजा सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले स्थानीय उत्पादन तथा स्वदेशी सामग्रीलाई प्राथमिकता दिँदै पूजा संस्कृतिसँग जोडिएका सामग्रीको उत्पादनमा जोड दिएको जनाएको छ ।
यसैबीच उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दिब्यदृष्टिको नाम र उत्पादनसँग मिल्दोजुल्दो सामग्री बजारमा आउन सक्ने भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार दिब्यदृष्टिका उत्पादनजस्तै देखिने गरी बजारमा नक्कली उत्पादनसमेत आउन थालेको जानकारी प्राप्त भएकाले उपभोक्ताले उत्पादनको प्याकेजिङ, नाम र आधिकारिकता हेरेर मात्र खरिद गर्नुपर्ने अवस्था रहेको छ ।
“दिब्यदृष्टिको नाममा झुक्याउने गरी उस्तै देखिने उत्पादन बजारमा आउन सक्ने भएकाले उपभोक्तालाई सचेत रहन आग्रह गर्दछौँ,” पोखरेलले भन्नुभयो ।
दशैँ नजिकिँदै जाँदा जमरा राख्ने तयारी गर्ने परिवारको संख्या बढ्ने भएकाले यस वर्ष स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै सहज रूपमा जमराको बीउ उपलब्ध गराउने उद्योगको तयारी छ ।
दमक – झापाको दमक नगरपालिका–५ ड्रिमल्यान्ड इङ्लिस सेकेन्डरी स्कुलमा तेजस् डेन्टल क्लिनिकले एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब ३५० जनाले स्वास्थ्य परीक्षण तथा दाँतसम्बन्धी सेवा लिएका छन्। शिविरमा डा. श्रद्धा दंगालसहितको चिकित्सकीय टोलीले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेको थियो।
तेजस् डेन्टल क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार शिविरमा सहभागी विद्यार्थी तथा अभिभावकलाई क्लिनिकबाट प्रदान गरिने उपचार सेवामा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
ड्रिमल्यान्ड इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपलका अनुसार विद्यार्थीको दाँत तथा मुखको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको हो। विद्यालयमा करिब ३५० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो।
दमकको बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा रहेको तेजस् डेन्टल क्लिनिकले दाँत तथा मुखसम्बन्धी विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। क्लिनिकमा दाँत भर्ने, दाँत निकाल्ने, आरसीटी (रुट क्यानल उपचार), बालबालिकाको दन्त उपचारलगायतका सेवा उपलब्ध रहेको क्लिनिकले जनाएको छ।
दमक तेक्वान्दो डोजाङले मंगलबार दमकमा तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा दुईवटा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो ।
दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा एक सक्षिप्त कार्यक्रमको आयोजना गरेर डोजाङले तेस्रो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालसहित सिनियर प्रशिक्षक, जुनियर प्रशिक्षक, पत्रकारहरु र खेलाडीहरु सहभागि थिए ।
आजैको दिन अर्थात २०८१ साल असोज ६ गते दमक तेक्वान्दो डोजाङले विधिवत दर्ता पाएको थियो ।
दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालका अनुसार दमकको विभिन्न विद्यालयसहित गौरादह, कमल र इलामको चुलाचुलीका विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षण सञ्चालन भइरहेको छ ।





