
कमल । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सन् २०२७ मा झापाको कमल गाउँपालिकामा आयोजना हुने भएको छ। कमलनगर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि आवश्यक बिडिङ प्रक्रिया पूरा भएसँगै सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने औपचारिक घोषणा गरिएको हो। नेपाल जेसीजले हरेक वर्ष आयोजना गर्दै आएको क्षेत्रगत सम्मेलनअन्तर्गत सन् २०२७ को क्षेत्र ‘क’ सम्मेलन कमलमा आयोजना गर्न कमलनगर जेसीजले बिडिङ प्रस्तुत गरेको थियो।
चारआली जेसीजको आतिथ्यतामा शुक्रबार र शनिबार असोज ९ र १० गते सम्पन्न वर्ष २०२६ को क्षेत्र ‘क’ सम्मेलनका क्रममा बिडिङ प्रक्रिया पूरा गरिएको कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले बताउनुभयो। कमलनगर जेसीजका बिडिङ चियरपर्सन जेसी नारायण बस्नेतले सम्मेलन आयोजना गर्न आवश्यक सम्पूर्ण तयारीसहित बिडिङ पूरा गरिएको जानकारी दिनुभयो। बिडिङ स्वीकृत भएपछि आगामी वर्षको क्षेत्र ‘क’ सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने घोषणा गरिएको उहाँले बताउनुभयो।
कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले सम्मेलन कमलमा आयोजना हुनु यस क्षेत्रका युवाको नेतृत्व तथा क्षमता विकासका लागि महत्वपूर्ण अवसर हुने बताउनुभयो। उहाँका अनुसार सम्मेलनले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाउन सहयोग पुग्नेछ।
साथै, कमल गाउँपालिका तथा आसपासका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सम्मेलन महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
“क्षेत्र ‘क’ सम्मेलन कमलमा ल्याउनु यहाँका युवाको नेतृत्व र क्षमता विकाससँगै स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण अवसर हो,” अध्यक्ष भण्डारीले भन्नुभयो। सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका विभिन्न जेसीज शाखाका युवाको सहभागिता रहनेछ।
सम्मेलनका क्रममा नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। कमलनगर जेसीजले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवालासँग सहकार्य गर्दै आवश्यक तयारी अघि बढाउने जनाएको छ।
दमक – झापाको दमक नगरपालिका– ३ अक्सफोर्ड इङ्लिस स्कुलमा तेजस् डेन्टल क्लिनिकले एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब २०० जनाले स्वास्थ्य परीक्षण तथा दाँतसम्बन्धी सेवा लिएका छन्। शिविरमा डा. श्रद्धा दंगालसहितको चिकित्सकीय टोलीले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेको थियो।
तेजस् डेन्टल क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार शिविरमा सहभागी विद्यार्थी तथा अभिभावकलाई क्लिनिकबाट प्रदान गरिने उपचार सेवामा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
अक्सफोर्ड इङ्लिस स्कुलका प्रिन्सिपलका अनुसार विद्यार्थीको दाँत तथा मुखको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको हो। विद्यालयमा करिब ५५० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो।
दमकको बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा रहेको तेजस् डेन्टल क्लिनिकले दाँत तथा मुखसम्बन्धी विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। क्लिनिकमा दाँत भर्ने, दाँत निकाल्ने, आरसीटी (रुट क्यानल उपचार), बालबालिकाको दन्त उपचारलगायतका सेवा उपलब्ध रहेको क्लिनिकले जनाएको छ।
झापा । सुरुङ्गा जेसीजले वर्ष २०२६ अन्तर्गत आयोजना गरेको जेसीज सप्ताह २०२६ प्रभावकारी रूपमा सम्पन्न गर्दै JCI Nepal Area ‘A’ Conference 2026 मा “Area Most Impactful Jaycees Week Celebration Award” प्राप्त गरेको छ।
सुरुङ्गा जेसीजले सप्ताहअन्तर्गत अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, “सफलता तत्वः व्यक्तित्व एवम् नेतृत्व” युवा प्रशिक्षण, अन्तर जेसीज क्विज प्रतियोगिता, ‘Women Beyond Limit’ प्रेरणादायी कार्यक्रम, युवाका लागि AI Training, लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम, Fellowship Evening तथा समापन समारोह लगायतका विविध कार्यक्रम सञ्चालन गरेको थियो।
वक्तृत्वकला प्रतियोगितामा १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो भने युवा नेतृत्व प्रशिक्षणमा ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो। त्यस्तै अन्तर जेसीज क्विज प्रतियोगितामा ८ वटा जेसीज शाखा सहभागी भएका थिए। लागूऔषधविरुद्धको सचेतना कार्यक्रम ज्येष्ठ नागरिक संघ तथा नेपाल प्रहरीसँगको सहकार्यमा सम्पन्न गरिएको थियो।
युवा नेतृत्व विकास, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, ज्ञान अभिवृद्धि, सामाजिक सचेतना तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएका यी कार्यक्रमले “Lead • Inspire • Impact” भन्ने सुरुङ्गा जेसीजको २०२६ को मूल भावनालाई व्यवहारमा उतारेको थियो।
क्षेत्र ‘A’ अन्तर्गतका विभिन्न जेसीज शाखाबीच भएको मूल्यांकनबाट सुरुङ्गा जेसीजले प्राप्त गरेको Area Most Impactful Jaycees Week Celebration Award ले सप्ताहभर सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारिता, विविधता र समुदायमा पुर्याएको योगदानलाई थप सम्मानित गरेको छ।
सुरुङ्गा जेसीजले उक्त उपलब्धिलाई सम्पूर्ण जेसीज सदस्य, कार्यक्रमका सहभागी, सहयोगी संस्था, विद्यालय, प्रशिक्षक, अतिथि तथा समुदायको सामूहिक प्रयासको परिणाम भएको जनाएको छ।
कनकाई । डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको सहकार्यमा कनकाई नगरपालिका–७ स्थित फक्तालुङ्ग इङ्लिस हाई स्कुलमा कविता लेखन तथा वाचन तालिमसँगै बुक टक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना फक्तालुङ्ग इङ्लिस हाई स्कुल रिडर्स क्लब र फक्तालुङ्ग बाल क्लबको समेत संयुक्त आयोजनामा गरिएको थियो। कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरू, विभिन्न कक्षाका विद्यार्थी तथा डाइनामिक पब्लिक लाइब्रेरी कनकाईद्वारा विभिन्न विद्यालयमा गठन गरिएका रिडर्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
डाइनामिक पब्लिक लाइब्रेरी कनकाईका अध्यक्ष ओमविक्रम नेम्वाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा शिक्षक एवं डाइनामिक पब्लिक लाइब्रेरी कनकाईका साहित्यिक संयोजक डिल्लीराम चापागाईं ‘प्रदेशी’ प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी कनकाईका निवर्तमान अध्यक्ष तथा डाईनामिक पब्लिक लाईबेरी नेपालका राष्ट्रिय निर्देशक जेनिस चम्लागाई लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको सञ्चालन फक्तालुङ्ग रिडर्स क्लबकी सचिव गीतादेवी चापागाईंले गर्नुभएको थियो भने राष्ट्रिय निर्देशक चम्लागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख प्रशिक्षक डिल्लीराम चापागाईं ‘प्रदेशी’ले ब्यानर वाचन गरेर गर्नुभएको थियो।
तालिमका क्रममा सहभागी विद्यार्थीहरूलाई कविता लेखनका आधारभूत पक्ष, सिर्जनात्मक अभिव्यक्ति, कविता वाचनको शैली तथा प्रभावकारी प्रस्तुतीकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले आफ्ना सिर्जना तथा कविता प्रस्तुत गर्दै वाचनसम्बन्धी अभ्याससमेत गरेका थिए।
पठन संस्कृतिको विकाससँगै बालबालिका तथा युवामा साहित्यप्रतिको रुचि, सिर्जनशीलता, आत्मविश्वास र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कनकाई नगरपालिका ७ स्थित फक्तालुङ्ग ईङ्लिस हाई स्कुलमा बुक टक कार्यक्रम सम्पन्न भएकाे छ । बुक टकलाई आफ्नो वार्षिक कार्यक्रमका रुपमा अगाडि बढाई रहेकाे फक्तालुङ्ग ईङ्लिस हाई स्कुलले आज कक्षा १ र २ काे बुक टक कार्यक्रम सम्पन्न गरेकाे छ भने अरु कक्षाकाे बुक टक साे निरन्तर रुपमा हुने प्रमुख प्रशासक शान्ति लिम्बूज्युले जानकारी दिनु भयाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा विधालयका संस्थापक प्रिन्सिपल ओम विक्रम नेम्वाङ रहनुभएकाे थयाे भने विशिष्ट अतिथिका रुपमा साहित्यकार तथा शिक्षक डिल्लीराम चापागाईं र डिपिएल नेपालका राष्ट्रिय निर्देशक जेनिस चम्लागाईकाे आतिथ्यता रहेकाे कार्यक्रममा सभापति उक्त विधालयकक्षा २ कि कक्षा शिक्षक आयुषा अधिकारी रहनु भएकाे थियाे भने स्वागत मन्तव्य रिहाना किस्कु र ओैचित्य माथि प्रकाश शिक्षिका ओरिना प्रसाईंले पार्नु भएकाे थियाे ।
१५ भन्दा बढी विधार्थीले बुक टकमा सहभागी रहेकाे कार्यक्रमकाे सचालन पाईमेरि ईन्चाज कविता नेम्वाङले गर्नु भएकाे थियाे भने कार्यक्रममा बाेल्दै विधालयका संस्थापक प्रिन्सिपल ओम विक्रम नेम्वाङले अनिवार्य रुपमा याे कार्यक्रममा सम्पूर्ण विद्यार्थीले सहभागी हुनै पर्ने जस्ले गर्दा पठन संस्कृतिकाे विकासमा मद्दत पुग्ने र विद्यार्थीहरुकाे समेत यस्ता कार्यक्रमहरुने मनाेबल बढ्ने उद्देश्यले याे कार्यक्रम सुरु गरिएकाे जानकारी दिनु भएकाे थियाे ।







