
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कोशी प्रदेश अध्यक्षमा राम थापा पुनः दोहोरिने तयारीमा जुटेका छन्। राप्रपाले आगामी असोज २१ गते सातै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेसँगै कोशीको नेतृत्वका लागि थापाको पुनरावृत्तिको चर्चा चुलिएको हो।
थापा हाल राप्रपा कोशी प्रदेश अध्यक्ष छन्। पार्टीको आधिकारिक वेबसाइटले समेत उनलाई कोशी प्रदेश अध्यक्षका रूपमा उल्लेख गरेको छ।
राप्रपाले प्रदेश अधिवेशनका लागि कोशी प्रदेशमा केन्द्रीय निर्वाचन समितिका सदस्य भरत पाठकलाई निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिएको छ। जिल्ला तहका अधिवेशनपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो।
दमक नै प्रदेश अधिवेशनको केन्द्र बन्ने भएपछि थापाको राजनीतिक भूमिकामाथि थप चासो देखिएको छ। थापा दमक नगरपालिकाका प्रमुखसमेत हुन्। उनी लामो समयदेखि दमक र झापामा राप्रपाको संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन्।
झापाको कन्काई नगरपालिका–स्थित पुकार अशक्त आश्रममा जन्मदिनको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको छ। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले आश्रममा रहेका अशक्त तथा असहाय व्यक्तिहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
दिवस श्रेष्ठको जन्मदिनको अवसरमा आयोजित सहयोग कार्यक्रममा दमक शाखा अध्यक्ष राजु निरौलाको अध्यक्षता रहेको थियो। कार्यक्रममा संस्थाका केन्द्रीय सचिव दिवस खतिवडा प्रमुख अतिथि, उपाध्यक्ष लबराज खड्का, सचिव पूजा दाहाल, सदस्य तुलसा शिवाकोटी, आश्रम सञ्चालक निर्मला ओझा, डम्बर दाहाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा आश्रममा रहेका व्यक्तिहरूसँग समय बिताउँदै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको थियो। जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक सेवासँग जोडेर असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
‘आफ्नो खुसी अरूसँग बाँड्दा जन्मदिन अझ विशेष र अर्थपूर्ण हुन्छ’ भन्ने सन्देशसहित गरिएको सहयोगले समाजमा सेवाभाव, मानवीयता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका लागि युवा नेता हुकुमसिंह राईले उम्मेदवारी घोषणा गरेका छन्। झापाको कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले आफ्नो उम्मेदवारीलाई जनमतको पार्टीभित्र प्रतिनिधित्व गराउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको एजेन्डामा सक्रिय राईले आफू नेतृत्वका लागि तयार हुनुपर्ने उपयुक्त समय आएको बताएका छन्।
“मेरो उम्मेदवारी जनमतलाई पार्टीमा अनुमोदन गराउन अनिवार्य छ। उमेर, पुस्ता, सक्रियता र वर्तमान परिस्थितिसमेतका आधारमा यो मेरा लागि नेतृत्वका लागि तयार हुनैपर्ने बेला हो,” राई भन्छन्, “अब हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?”
कांग्रेसभित्र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने बहस चलिरहेका बेला राईले आफ्नो उम्मेदवारीलाई त्यसैको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्। गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग जोडिएको विशेष महाधिवेशनको प्रक्रियामा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी पार्टीको आन्तरिक रूपान्तरणका पक्षधरका रूपमा चिनिन्छन्।
पार्टीको नेतृत्वमा पुग्न उमेर मात्र पर्याप्त नहुने उनको धारणा छ। नेतृत्वमा कार्यक्षमता, योग्यता, अनुभव र सक्रियताको उचित संयोजन आवश्यक रहेको उनी बताउँछन्।
“पार्टीमा कार्यक्षमता, योग्यता, अनुभव र सक्रियता सबै कुराको संगम हुनुपर्छ। यी सबै पक्षको उचित मूल्याङ्कन गर्ने बेला यही हो,” राई भन्छन्, “यसको मूल्याङ्कन आम महाधिवेशन प्रतिनिधि साथीहरू र पार्टी पङ्क्तिले गर्नेछन्।”
स्थानीय तहको नेतृत्वमा रहेर प्राप्त गरेको अनुभव र पार्टी संगठनमा गरेको सक्रियतालाई केन्द्रीय नेतृत्वमा उपयोग गर्ने उनको अपेक्षा छ। पुस्तान्तरणको बहसलाई व्यवहारमा रूपान्तरण गर्दै पार्टीभित्र नयाँ नेतृत्वको सम्भावना स्थापित गर्नु आफ्नो उम्मेदवारीको प्रमुख औचित्य रहेको राईको भनाइ छ।
दमक – सुजन गाैतम / झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को चौथो दिनको पाेहिले क्वार्टर फाईनल खेलमा चन्द्रगढी भेट्रान (झापा) र धरान भेट्रान (सुनसरी) बीच भिडन्त भएको थियो । प्रतियोगिताको चौथो दिनकाे खेलमा चन्द्रगढी भेट्रानले धरान भेट्रान लाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलको खेल सुरु भएको ८औँ मिनेटमा धरान भेट्रानका जर्सी नम्बर १६ का राष्ट्रिय खेलाडी खगेन्द्र खड्काले १ गोल गरेका थिए। त्यसपछि खेलको २२औँ मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ९ का प्रेमकुमार लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तै, हाफ टाइमपछि खेलको अन्तिम मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ११ का मित्र बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।
त्यसैगरी सोही दिनको दोस्रो खेलमा काकडभिट्टा भेट्रान र दुधे भेट्रान बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको चौथो दिनकाे दोस्रो खेलमा काकडभिट्टा भेट्रानले दुधे भेट्रान लाई २-० गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। दोस्रो हाफको ८औँ मिनेटमा पेनाल्टीमार्फत काँकरभिट्टा भेट्रानका राष्ट्रिय खेलाडी जर्सी नम्बर १४ का विशाल राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। लगत्तै दोस्रो हाफको ११औँ मिनेटमा पनि विशाल राईले अर्को गोल गर्दै टोलीलाई २–० को जित हासिल गराए। खेलका क्रममा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए।
यो खेलसँगै चन्द्रगढी भेट्रान र काकडभिट्टा भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भाेलि हुने सेमिफाइनलकाे पहिलो खेल बिर्तामोड भेट्रान र चन्द्रगढी भेट्रान बीच हुनेछ भने सेमीफाइनलको दोस्रो खेल दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रान बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ। दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।





