२०८३ कार्तिक १० सोमबार
२०८३ कार्तिक १० सोमबार

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

स्थानीय सरकारमा रहेर नागरिकका समस्या, विकासका आवश्यकता र स्थानीय तहका प्राथमिकतालाई नजिकबाट बुझेको अनुभवलाई पार्टीको केन्द्रीय जिम्मेवारीमा जोड्ने उद्देश्यले उम्मेदवारी दिएको भट्टराईले बताउनुभएको छ ।

नागरिकले प्रत्यक्ष रूपमा भेट्ने र आफ्ना समस्या राख्ने पहिलो सरकार स्थानीय तह भएकाले स्थानीय सरकारमा काम गर्दा नागरिकका वास्तविक आवश्यकता बुझ्ने अवसर प्राप्त भएको उहाँको भनाइ छ । विकासका आधारभूत योजना, स्रोत व्यवस्थापन तथा तीन तहका सरकारबीचको समन्वयको व्यावहारिक अवस्थालाई समेत नजिकबाट नियाल्ने अवसर पाएको उहाँले बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीको लामो राजनीतिक प्रभाव रहेको तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको गृहनगरका रूपमा समेत परिचित दमक नगरपालिकामा नेपाली कांग्रेसबाट पहिलो पटक उपप्रमुखमा निर्वाचित भएर काम गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय राजनीतिसँग जोड्न चाहेको भट्टराईले बताउनुभएको छ ।

स्थानीय तहले नागरिकसँग प्रत्यक्ष रूपमा काम गरे पनि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, स्रोत, योजना तथा कार्यान्वयनका विषयमा पर्याप्त समन्वय हुन नसक्दा विकासका काम अपेक्षाकृत प्रभावकारी हुन नसकेको उहाँको बुझाइ छ । तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने नीतिगत आधार निर्माणका लागि कांग्रेसभित्र गम्भीर बहस आवश्यक रहेको भट्टराईको भनाइ छ ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्थानीय तहमा काम गर्दा प्राप्त अनुभव र नागरिकका समस्यालाई पार्टीको नीति निर्माण तहमा पु¥याउने उहाँले बताउनुभएको छ । कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने, स्थानीय आवश्यकता र जनभावनालाई पार्टीको नीति तथा योजनामा समेट्ने आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।

भट्टराईले विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय हुँदै विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको राजनीतिक यात्रा २०४८ सालमा अमरसिंह माध्यमिक विद्यालय, मोरङको नेविसंघ इकाई सभापतिबाट सुरु भएको हो ।

त्यसपछि २०५१ सालमा दमक बहुमुखी क्याम्पस नेविसंघ कार्यसमिति सदस्य तथा २०५४ सालमा महेन्द्र मोरङ क्याम्पस नेविसंघ कार्यसमिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

२०६० सालमा महिला संघ दमक–६ वडा सभापति, २०६५ सालमा महिला संघ दमक नगर सचिव, तथा सन् २०१४ मा दमक जेसीज अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

त्यसैगरी २०७१ सालमा नेपाल महिला संघ क्षेत्रीय सभापति र जिल्ला सदस्य, २०७२ सालमा नेपाली कांग्रेस क्षेत्रीय सदस्य तथा २०७८ सालमा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य बन्नुभएको थियो ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समय सक्रिय भट्टराई २०७९ सालको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।

विद्यार्थी संगठनदेखि महिला संघ, पार्टीको क्षेत्रीय तथा प्रदेश तह र स्थानीय सरकारसम्मको जिम्मेवारी सम्हालेको अनुभवलाई अब पार्टीको केन्द्रीय तहमा पु¥याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको भट्टराईले बताउनुभएको छ ।

दमक । झापाको दमकमा स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय नाम हो—भीम प्रसाद पौडेल। वडा तहको राजनीतिबाट सुरु भएको उनको जनप्रतिनिधिको यात्रा अहिले नगरको नेतृत्वसम्म पुग्ने आकांक्षातर्फ उन्मुख देखिएको छ। पौडेल २०५४ सालमा साविक दमक–१२ बाट पहिलोपटक वडाध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. ७ बाट पुनः निर्वाचित भए।

२०७९ सालको निर्वाचनमा पनि उनले वडा नं. ७ बाट १ हजार ८७८ मत प्राप्त गर्दै पुनः वडाध्यक्ष जिते। यससँगै उनी तीन कार्यकाल वडाध्यक्ष निर्वाचित भएका छन्। पौडेलको राजनीतिक पृष्ठभूमि विद्यार्थी अवस्थादेखि जोडिएको देखिन्छ। ताप्लेजुङमा जन्मिएका उनी झापाको शनिश्चरे हुँदै दमकलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका हुन्। स्थानीय राजनीतिक यात्रामा पञ्चायतकालदेखि नै सक्रिय रहेको उनको जीवनीसम्बन्धी सामग्रीमा उल्लेख छ।

२०५४ सालमा पहिलोपटक निर्वाचित हुँदा नै उनले नगरको भौतिक पूर्वाधार समितिको संयोजकको जिम्मेवारी पाएको र दमकका चक्रपथ तथा सडकको रेखाङ्कनमा भूमिका खेलेको उनले बताएका छन्। लामो जनप्रतिनिधि यात्रामा पूर्वाधार विकास, सार्वजनिक जमिनको संरक्षण तथा भूमिहीनका विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ। २०७४ मा दमकका १० मध्ये ८ वडामा नेकपा एमाले विजयी हुँदा पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं. ७ मा निर्वाचित हुने दुई वडाध्यक्षमध्ये एक थिए। २०७९ मा पनि उनले राप्रपाबाटै वडा नं. ७ को नेतृत्व कायम राखे।

उक्त निर्वाचनमा उनले १ हजार ८७८ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धीले ९६० मत प्राप्त गरेका थिए। वडाध्यक्षका रूपमा पौडेलको कार्यकालमा स्थानीय पूर्वाधारदेखि सार्वजनिक सरोकारका विषयसम्म उनी निरन्तर चर्चामा रहँदै आएका छन्। अब भने पौडेलको राजनीतिक यात्राको अर्को प्रश्न नगर नेतृत्व हो। तीन कार्यकाल वडा तहको अनुभवपछि उनी आगामी स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयर पदका आकांक्षीका रूपमा देखिएका छन्।

वडा तहमा लामो समय जनप्रतिनिधि भएर काम गरेका पौडेलका लागि नगरको नेतृत्वको आकांक्षा उनको राजनीतिक यात्राको नयाँ चरणका रूपमा हेरिएको छ। वडाध्यक्षको तीन दशक आसपासको अनुभवलाई नगर नेतृत्वको दाबीमा कसरी रूपान्तरण गर्छन्—आगामी निर्वाचनमा पौडेलको राजनीतिक यात्राको मुख्य चासो यही बन्ने देखिन्छ।

दमक, असोज– ‘युक्ति टाईम्स’ ले दमकमा सञ्चालन गरेको ‘तीज फोटो कन्टेस्ट–२०८३’ का विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

आइतवार दमकमा विशेष कार्यक्रमको आयोजना गरी प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरेको हो। विजेता, उपविजेता तथा कार्यक्रमका प्रायोजकहरूकोसमेत आतिथ्यता रहेको सो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो।

युक्ति टाईम्सका अध्यक्ष रेवतचन्द्र भण्डारीका अनुसार दमकमा गत भदौं १० देखि ३० गतेसम्म तीज फोटो कन्टेस्ट आयोजना गरिएको थियो । तीज फोटो कन्टेस्टमा ११० जना प्रतियोगिहरुले सहभागिता रहेका थिए ।

प्रतियोगि मध्ये पाँचथर घर भई हाल दमक ८ मा बस्दैआएकी सोना राई विजेता भईन् । उनीसहित छनौट भएकी उपविजेताहरू अर्पना राजवंशी, रञ्जु रिजाल, मैना दाहाल राउत र बिनु कार्कीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष भण्डारी, वरिष्ठ पत्रकार विष्णु सुब्बा, विजेता सोना राई लगायतले तीज फोटो प्रतियोगिताको उद्देश्य ,महत्वका विषयमा चर्चा गरेका थिए ।

तीज फोटो कन्टेस्टलाई सफल बनाउन सफल केयरगिभर ट्रेनिङ सेन्टर दमक, अकवा मेरी वाटर, आर। के। फेन्सी, गोठालो मार्ट, सप्तकोशी डेन्टल, गणेश सर्जिकल एण्ड फिटनेस, जोलिबी खाजा घर, आमा कोल्ड सेन्टर, क्विन्स ब्यूटी पार्लर, पोखरेल कपडा पसल, ग्लोरी ब्यूटी पार्लर एंड ट्रेनिंग सेन्टर, वाटर किंगडम झिलझिले, सिग्देल डिपार्टमेन्ट स्टोर, यूपीभीसी र दमक काष्ठकला लगायतका प्रायोजक तथा सहयोगी संस्थाहरूले साथ दिएका थिए ।

संस्कृति जगेर्ना र रचनात्मक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस फोटो कन्टेस्टले स्थानीयस्तरमा छुट्टै उत्साह थपेको आयोजकले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।