
झापा। कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाअन्तर्गत सञ्चालित कमल नगर अस्पताल र कमल–३, केर्खास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा अध्यक्ष राईले कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती र अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठसँग अस्पतालको समग्र सेवा प्रवाह, बिरामी उपचार कक्ष, स्वास्थ्य बीमा तथा निःशुल्क औषधिको उपलब्धता र वितरणको अवस्थाबारे जानकारी लिनुभएको थियो।
त्यसैगरी, एक्स–रे, दन्त सेवा तथा भिडियो एक्स–रे सेवाको सञ्चालन अवस्था र सेवा विस्तारका विषयमा छलफल गर्नुभएको थियो। सि.अ.न.मी. निरीक्षक गीता मगरातीसँग मातृ तथा शिशु स्वास्थ्य सेवाको अवस्था, ल्याब टेक्निसियन विपिन श्रेष्ठ, अहेव मुना मिश्र र सि.अ.हे.व. विमला राईसँग बिरामीको उपचार तथा औषधि व्यवस्थापनका विषयमा समेत जानकारी लिनुभएको थियो।
स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल समेत उपस्थित निरीक्षण अनुगमन मा अस्पतालका रेडियोग्राफर खेमप्रसाद पनेरुसँग एक्स–रे सेवाको प्रभावकारिता र व्यवस्थापनबारे छलफल गर्दै अध्यक्ष राईले आवश्यक निर्देशनसमेत दिनुभएको थियो। अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने विषयमा पनि छलफल भएको थियो।
यसैगरी, कमल–३, केर्खास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको निरीक्षणका क्रममा वडाध्यक्ष अग्नि कोइराला, स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल, स्वास्थ्य संस्था प्रमुख टीकाराज बरदेवा, अनमी अनिता अधिकारी सिवाकोटी तथा कर्मचारी मन्दिल भुजेलसँग स्वास्थ्य संस्थाको वर्तमान अवस्था, औषधिको उपलब्धता, सेवा विस्तार र सेवा प्रवाहमा देखिएका आवश्यकता तथा चुनौतीबारे छलफल गरिएको थियो। सो अवसरमा हालै सम्पन्न राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानको समीक्षा पनि गरिएको थियो।
गाउँपालिकाले स्वास्थ्य सेवालाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले स्वास्थ्य संस्थाहरूको नियमित अनुगमनलाई प्राथमिकता दिएको छ। पूर्ण खोप घरधुरी सर्वेक्षण, पूर्ण खोपको दिगोपना, स्वास्थ्य सेवाको विस्तार तथा आगामी कार्यक्रमहरूको सूक्ष्म योजना र कार्यान्वयन अवस्थाबारे समेत अनुगमनलाई निरन्तरता दिइँदै आएको छ।
स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधार, औषधिको सहज उपलब्धता र नागरिकलाई आफ्नै गाउँपालिकाभित्र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले अध्यक्ष राईले गर्नुभएको यस निरीक्षणलाई स्वास्थ्य सेवा सुदृढीकरणको निरन्तरताका रूपमा हेरिएको छ।
कमल, झापा । झापाको कमल गाउँपालिका–५ स्थित सगुन युवा क्लबको आयोजनामा सञ्चालन भएको २०औँ सगुन साँझ तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
क्लबका संस्थापक अध्यक्ष एवं कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन राईले कार्यक्रमको ब्यानर वाचन तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि राईसहित सामाजिक व्यक्तित्व दिलीपकुमार वान्तवा, ललित राई, शिक्षाप्रेमी अनुपमा राई, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य रोशन दाहाल, सहिद मार्ग टोल विकास संस्थाका अध्यक्ष भीम पौडेल, क्लबका पदाधिकारी , संस्थापक पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न क्षेत्रका अगुवा तथा विशिष्ट व्यक्तित्व ,सामाजिक अगुवा, महिला नेत्री तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, लामो समयदेखि शैक्षिक क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणको अभियानमा निरन्तर क्रियाशील शिक्षाप्रेमी अनुपमा राईलाई समाजमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यक्रमका बीच सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले समाज परिवर्तन र सकारात्मक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। तमाम कमलवासीको माया, साथ र सहयोगकै कारण सगुन साँझले २०औँ संस्करणसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्दै उहाँले युवाहरूलाई एकताबद्ध भई समाज सुधार, रचनात्मक तथा सिर्जनात्मक अभियानमा सक्रिय हुन आह्वान गर्नुभयो।
दिवाकर राईको संयोजकत्व तथा रूपनारायण निरौलाको सहसंयोजकत्वमा आयोजित कार्यक्रममा गायक सिद्धान्त खड्का, गायिका डोल्पा शेर्पा र गायक चोलुङ केदेमको सांगीतिक प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
त्यसैगरी, मौलिक देउसी–भैलोमार्फत नेपाली संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने सन्देशसहित पञ्चदेव हरि कीर्तन मण्डली र शिव पञ्चायन कीर्तन मण्डलीले विशेष प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रौनकपूर्ण बनाएको थियो।
क्लबका अध्यक्ष देवेन्द्रराज आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य क्लबका सचिव तथा खेलकुदकर्मी रोशन दाहालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण कार्यक्रम प्रस्तोता अभिषेक खतिवडा र सञ्जु निरौलाले गर्नुभएको थियो।
दुई दशकदेखि निरन्तरता पाउँदै आएको सगुन साँझले युवाहरूबीच एकता, सामाजिक सद्भाव, स्थानीय प्रतिभाको प्रोत्साहन तथा मौलिक कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।





