२०८३ मंसिर ४ बिहीबार
२०८३ मंसिर ४ बिहीबार

झापा । ८औँ एसियाली च्याम्पियनसिपमा सहभागी हुन जाने झापाका खेलाडीहरूलाई दमकमा बिदाइ तथा सम्मान गरिएको छ ।

बुधबार झापाको दमक नगरपालिका–७ स्थित पशुहाट मैदानमा आयोजित कार्यक्रममा दमक नगरपालिका वडा नं. ७ का वडा सदस्य अतित वान्तावा राई तथा पत्रकार सुजन गौतमले खेलाडीहरूलाई बिदाइ तथा सम्मान गरेका हुन् ।

कार्यक्रममा १७ जना खेलाडी सहभागी हुने जानकारी आईटीएफ तेक्वान्दो झापा जिल्ला अध्यक्ष तथा कोशी प्रदेश आईटीएफ तेक्वान्दो सङ्घका महासचिव नवीन तामाङले गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य अतित वान्तावा राईले खेलाडीहरूलाई हौसला प्रदान गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश तथा जिल्लाको नाम उच्च राख्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा इलाम जिल्ला आईटीएफ तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश लिङ्देनसहित खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

शिबसताक्षी– झिलझिले / दमकमा मूख्य कार्यालय रहेको फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाले झिलझिले सेवा केन्द्रमा आज इकाईगत १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शिबसताक्षी–८ झिलझिलेस्थित फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाको झिलझिले सेवा केन्द्रमा बुधबार इकाईगत १५औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । यसअघि, विर्तामोडमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न भएको छ भने (बिहिबार) मोरङको उर्लाबारी सेवा केन्द्रमा १५औं वार्षिक साधारणसभा सम्पन्न हुने भएको छ ।

झिलझिले इकाईको वार्षिक साधारणसभाको अध्यक्षता सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक इन्द्रबहादुर शेर्माले गर्नु भएको थियो । सो सभालाई झिलझिले सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य दलकुमार शेर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । सो वार्षिक साधारणसभाका सञ्चालक समितिका उपाध्यक्ष फुलकुमारी नेम्बाङ आङदम्बेले फाल्गुनन्द सहकारी संस्थाको संस्थागत वित्तिय कारोबार र प्रगतिका सचित्र विबरणहरु र आगामी योजना र लक्ष्यका बारेमा बोल्नुभएको थियो ।

उपाध्यक्ष आङ्दम्बेले झापाको बिर्तामोड र झिलझिलेसहित मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालनमा ल्याएपनि झापाको दर्जन बढी पालिकाहरु र इलामको चुलाचुलीसहित माङसेबुङमा वित्तिय सेवाहरु पुर्याउँदै आइरहेको बताउनुभयो । त्यस्तैं, सो कार्यक्रममा झिलझिलेस्थित गणेशमान प्राविधिक तथा व्यवसायिक अध्ययन प्रतिष्ठानका अध्यक्ष एबम् पुराना राजनीतिक व्याक्तित्व सन्तोषकुमार मेन्याङ्बाले महागुरु फाल्गुनन्दको नाममा स्थापनाा भएको सहकारी संस्थाले गुरुप्रतिको मान–सम्मान, प्रतिष्ठा र गरिमालाई वचाउन आग्रह गर्नुभयो । मेन्याङ्बोले महागुरु हामी किरात समुदायको मात्रै नभएर समाज र देशको सम्मानित व्याक्तित्व हुनुभएको बताउनुभयो ।

त्यस्तैं, सो कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद योङहाङ, झिलझिले सेवा केन्द व्यवस्थापन उपसमितिका पूर्वसंयोजक किरण लिङ्देन, झिलझिले सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य हर्कबहादुर येक्तेन, शेयर सदस्य जयप्रसाद सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष पदम (संकल्प) लिङदेनले १५औं वार्षिक साधारणसमा आर्थिक वर्ष २०८२।०८३ का वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

शिबसताक्षी नगरका विभिन्न वडाहरुका शेयर सदस्यहरुले उत्साहजनक सहभागिता जनाएका थिए । सो कार्यक्रमको सञ्चालन मुख्य कार्यालयका प्रमुख व्यवस्थापक कुवेर तुम्बापोले गर्नुभएको थियो ।सो संस्थाको आगामी (५ मंसिर) शनिबार दमकस्थित पशुपति सेवा सदनमा माइन्युट प्रमाणिकरणसहित विभिन्न क्षेत्रमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गर्दै सम्पन्न गरिने अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, वडाध्यक्ष दाहालले भने उक्त जिम्मेवारी अस्वीकार गरेका हुन् ।

नगरपालिकाले २०८३ मंसिर १ गते पत्र जारी गर्दै नगरप्रमुख जिल्ला बाहिर जानुपर्ने भएकाले फर्किएर उपस्थित नभएसम्म दैनिक रूपमा कार्यवाहक नगरप्रमुख भई कामकाज गर्न दाहाललाई भनेको थियो । पत्रमा नगरप्रमुखको अनुपस्थितिमा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न कार्यवाहकको जिम्मेवारी सम्हाल्न भनिएको छ ।

तर, दाहालले नगरप्रमुख र उपप्रमुखबीचको सहमति तथा कानुनी प्रक्रियाबारे प्रश्न उठाउँदै जिम्मेवारी अस्वीकार गरेका हुन् ।

उनले नगरपालिकाको नेतृत्वविहीन अवस्था हुन नदिन नगरप्रमुखको अनुपस्थितिमा उपप्रमुखले जिम्मेवारी बहन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको बताएका छन् ।
यसअघि पनि नगरप्रमुख तुम्बाहाम्फेले उपप्रमुख जमुनादेवी सुवेदी उपस्थित हुँदाहुँदै वडा अध्यक्ष दाहाललाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि नगरपालिका विवादमा परेको थियो । त्यतिबेला नगरप्रमुख भारत भ्रमणमा जानुअघि वडा नं। ३ का अध्यक्ष दाहाललाई कार्यवाहकको पत्र तयार गरी जिम्मेवारी तोकेका थिए ।

उक्त निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत भएको भन्दै उपप्रमुख सुवेदी उच्च अदालत विराटनगरको धनकुटा इजलास पुगेकी थिइन् ।अदालतले प्रारम्भिक सुनुवाइपछि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा अध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २७४ को दफा १६ को उपदफा (४) को खण्ड (क) को १२ अनुसार नगरप्रमुख सात दिनभन्दा बढी अनुपस्थित हुने अवस्थामा उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । उपप्रमुख पनि अनुपस्थित भएमा मात्र कार्यपालिकाका कुनै सदस्यलाई जिम्मेवारी दिन सकिने कानुनी प्रावधान रहेको छ ।

यसअघि कार्यवाहकको जिम्मेवारी पाएका दाहालले आफूलाई नगरप्रमुखले दिएको पत्रका आधारमा जिम्मेवारी बुझेका थिए । पुनस् कार्यवाहकको जिम्मेवारी तोकिएपछि दाहालले नगरप्रमुख र उपप्रमुखबीच यस विषयमा सहमति भएको हो वा होइन भन्ने स्पष्ट हुनुपर्ने बताएका छन् ।नगरप्रमुख तुम्बाहाम्फे, उपप्रमुख सुवेदी र वडा अध्यक्ष दाहाल तीनै जना गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

झापा । झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई जोड्ने कनकाई पुल निर्माणको जस लिने विषयमा विवाद देखिएको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले वर्तमान सरकारको पहलमा पुल समयअगावै निर्माण सम्पन्न भएको दाबी गरेपछि स्थानीय जनप्रतिनिधिले उक्त दाबीको खण्डन गरेका छन्।

मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत कनकाई पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विषयलाई वर्तमान सरकारको पूर्वाधार निर्माणमा देखिएको गतिसँग जोड्दै प्रचार गरेका थिए।

तर, शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले पुल निर्माणको अधिकांश काम वर्तमान सरकार गठन हुनुअघि नै सम्पन्न भइसकेको बताएका छन्। उनका अनुसार सरकार गठन हुनुअघि नै पुलको करिब ७० प्रतिशत निर्माण कार्य पूरा भएको थियो।

७०० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुल निर्माणका लागि २०७९ पुस ११ गते शर्मा एण्ड कम्पनी प्रालिसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८३ असोज १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनी र स्थानीय तहको समन्वयमा निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएको बताइएको छ। पुल गत जेठ ११ गतेदेखि सञ्चालनमा आएको थियो।

वडाध्यक्ष कार्कीले पुल निर्माण आफ्नो लामो समयदेखिको सपना भएको उल्लेख गर्दै वर्तमान सरकारले सम्पूर्ण काम गरेको जस लिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले निर्माण कम्पनीको सक्रियता र स्थानीय तहको निरन्तर समन्वयका कारण पुल समयअगावै सम्पन्न भएको दाबी गरेका छन्।

स्थानीयवासीले पनि पुल निर्माणको वास्तविक पृष्ठभूमि नबुझी वर्तमान सरकारले जस लिन खोजेको भन्दै मन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन्।

यस घटनाले विकास निर्माणका योजनामा वास्तविक योगदान कसको हो भन्ने विषयमा राजनीतिक श्रेय लिने प्रवृत्तिमाथि पुनः बहस सिर्जना गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।