Author: Multi Media

  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

    झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

    चैत १३, शिवसताक्षी / झापाको झिलझिलेमा रहेको ‘वाटर किङ्गडम पार्क’ नयाँ ढंगबाट पुनः सञ्चालनमा आएको छ। वि.सं. २०७८ पुस २५ गते उद्घाटन भएको उक्त पार्क कोरोना महामारीपछि आर्थिक समस्याका कारण केही समय सुस्ताएपछि पुनः सक्रिय बनाइएको हो।

    पार्कका सञ्चालक तथा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाका अनुसार हालसम्म करिब ६५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। कोरोना महामारी र त्यसपछिको वित्तीय संकटका कारण पूर्ण रूपमा सञ्चालनमा कठिनाइ भए पनि अब आगामी वैशाखदेखि पार्कलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

    कोरोनाकालमा बैंकबाट लिएको ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि पार्क आर्थिक दबाबमा परेको थियो। तर, बैंकिङ प्रणालीमा सुधार आउँदै गएसँगै व्यवसायलाई पुनर्जीवित गर्ने वातावरण बनेको सञ्चालक सङ्ग्रौलाको भनाइ छ।

    पार्क बन्द भएको भन्ने हल्लाले व्यवसायमा असर पारेको उल्लेख गर्दै उहाँले पार्क निरन्तर सञ्चालनमै रहेको स्पष्ट पार्नुभयो। हाल पार्कभित्रका सबै मनोरञ्जनात्मक संरचनाहरू पुनः सञ्चालनमा ल्याइएको छ।

    पार्कमा जिपलाइन, वेभ पुल, स्विमिङ पुल, बालबालिकाका लागि किड्स पुल, वाटर एक्टिभिटी स्टेशन, कृत्रिम गुफा तथा विभिन्न आकर्षक मूर्तिकलाहरू रहेका छन्। साथै विवाह, ब्रतबन्ध, पार्टी तथा अन्य सामाजिक कार्यक्रम आयोजना गर्न विशेष व्यवस्था समेत गरिएको छ।

    तीन बिघा क्षेत्रफलमा फैलिएको पार्कमा सात वटा भूकम्पप्रतिरोधी भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा तथा १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल सञ्चालनमा रहेका छन्।

    निजी लगानीमा कोशी प्रदेशकै ठूलो परियोजनामध्ये एक मानिएको यस पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

    डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

    चैत ११, कमल / कमल गाउँपालिकामा डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम २०८२ साल चैत्र १० गते भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२६ का लागि शम्भु निरौलालाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरिएको हो। निवर्तमान अध्यक्ष ऐष्वर्या चौहान रहेकी छिन्।

    नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष तुलसा खड्का, महासचिव सुजन घिमिरे विष्ट, कोषाध्यक्ष सङ्गीत पोखरेल, उपाध्यक्षहरू सोनिका बुढाथोकी र अनिल पराजुली तथा निर्देशकहरू हरि अधिकारी, प्रज्वल पाठक, अर्चना कार्की र मनिषा काठायत रहेका छन्। साथै डिपिएल टिन्स बोर्ड कमलको नयाँ टिमलाई पनि शुभकामना व्यक्त गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी रहेकी थिइन् भने विशेष अतिथिहरूमा डिपिएल अध्यक्ष भेषराज न्यौपाने र डिपिएल राष्ट्रिय अध्यक्ष दुर्गा प्रसाद खतिवडा (दिवस) रहेका थिए। त्यसैगरी डिपिएलका राष्ट्रिय संस्थापक अध्यक्ष विनोद उप्रेती, पूर्वअध्यक्ष सन्दीप न्यौपाने, पूर्व अध्यक्ष अनु भण्डारी, कोषाध्यक्ष वद्री बराल, पहिलो पाइला संस्थाका उपाध्यक्ष लबराज खड्का, सामाजिक व्यक्तित्व गणेश प्रधान, छात्रवृत्ति संयोजक दीपु चापागाईं लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    डिपिएलले पुस्तकालय स्थापना, नियमित पुस्तकसम्बन्धी गतिविधि तथा युवाहरूमा पढ्ने बानीको विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय तहमा साक्षरता अभिवृद्धि र ज्ञानको विकासलाई प्राथमिकता दिँदै युवा पुस्तालाई पुस्तकसँग जोड्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

    कार्यक्रममा नवनिर्वाचित टोलीले पढ्ने संस्कृतिको प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रमुख अतिथि प्रमिला तिवारीले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरिन् र गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने बताइन्।

  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

    रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

    चैत ९, दमक / रोटरी क्लब अफ दमक को सक्रिय पहलमा पृथ्वी मावि दमक मा छात्रा मैत्री शौचालय निर्माण गरी अनावरण तथा हस्तान्तरण गरिएको छ। आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच उक्त शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।

    कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष केशब कुमार अग्रवाल ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा रामकुमार थापा उपस्थित थिए। त्यस्तै भीम प्रसाद पौडेल, शिक्षा शाखा अधिकृत प्रविण खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, शिक्षक अभिभावक संघ अध्यक्ष लालसुन्दर राईलगायतले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु कुमार राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने क्लबका निवर्तमान अध्यक्ष दीपु सन्दीप चापागाईंले छात्राहरूको स्वास्थ्य र शिक्षा सुधारमा योगदान दिन पाउँदा खुशी व्यक्त गरे।

    वक्तव्यका क्रममा वडाध्यक्ष पौडेलले क्लबको कार्यको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। प्रमुख अतिथि नगर प्रमुख थापाले छात्रा लक्षित कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गर्दै नगरपालिकाले यस्ता पहलमा सहकार्य गर्न सधैं तयार रहेको बताए।

    रोटरीको आधारभूत साक्षरता तथा शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस परियोजनाले छात्राहरूको सुरक्षा, स्वास्थ्य र अध्ययन वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। शैक्षिक संस्था र समुदायको सहकार्यमा सम्पन्न कार्यक्रमले सामाजिक उत्तरदायित्व र सेवामुखी सक्रियताको उदाहरण प्रस्तुत गरेको छ।

  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

    दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

    चैत ८, दमक / महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धिका रूपमा स्थापित नेपालको संविधानले निर्दिष्ट गरेको संघीय संरचना र स्थानीय तहको भूमिकालाई आधार मानेर नयाँ नेपाल निर्माणको अपेक्षा गरिए पनि दमक नगरपालिकामा भने सो अपेक्षा पूरा हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनाएको छ।

    पार्टीले आइतबार दमकमा पत्रकार सम्मेलन मार्फत संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नगरको समग्र विकासमा उल्लेखनीय प्रगति नदेखिएको जनाएको हो। वक्तव्यमा अघिल्लो स्थानीय तह निर्वाचनमा फरक विचारधाराका शक्तिहरूसँग गठबन्धन गरी नगर प्रमुख र उपप्रमुख विजयी गरिए पनि कार्यकालको अन्त्यतिर आइपुग्दा दमकको मुहार परिवर्तन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

    त्यसैगरी, नगर नेतृत्वमा रहेका जनप्रतिनिधिहरूले जनतालाई सेवा दिनुभन्दा राजनीतिक नाटकमा केन्द्रित भएको आरोप लगाउँदै आगामी निर्वाचनको तयारीमै बढी केन्द्रित हुनु लज्जास्पद भएको उल्लेख गरिएको छ। पार्टीले जनप्रतिनिधिहरूले निर्वाचित भएपछि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने संवैधानिक मर्मसमेत आत्मसात गर्न नसकेको जनाएको छ।

    वक्तव्यमा स्थानीय तहमा देखिएको गुटबन्दी र एजेण्डाभन्दा बाहिरको राजनीति प्रति पनि आलोचना गरिएको छ। “कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर” भन्ने अवस्था देखिएको उल्लेख गर्दै जनप्रतिनिधिहरूबीच एजेण्डाका आधारमा स्पष्ट पक्ष–विपक्ष बन्न नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ।

    पार्टीले यस अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै विगतमा गरिएको गठबन्धन जनहितमा केन्द्रित हुन नसकेको स्वीकार गरेको छ। साथै मतदाता र शुभेच्छुकहरूसमक्ष आत्मालोचना गर्दै आगामी दिनमा यस्ता निर्णय गर्दा जनहितलाई केन्द्रमा राख्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका दमक अध्यक्ष रवि बस्नेत ले जानकारी दिनुभयो।

  • इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

    इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

    चैत ८, दमक / पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव नेपालका पिउने पानी उद्योगमा समेत गम्भीर रूपमा देखिएको छ। कच्चापदार्थ आपूर्ति ठप्प हुन थालेपछि देशभरका पानी उद्योगहरू बन्द हुने जोखिममा पुगेका छन्।

    नेपाल पानी उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक रुपचन्द्र नौलखाका अनुसार आगामी १५ दिनभित्र आवश्यक कच्चापदार्थ नआए पानीका जार, बोतल र बिर्को उत्पादन पूर्ण रूपमा प्रभावित हुने अवस्था रहेको छ। “यो निकै गम्भीर अवस्था हो, समयमै समाधान नभए जनताले पिउने पानीसमेत नपाउने स्थिति आउन सक्छ,” उनले चेतावनी दिए।

    पश्चिम एसियामा बढ्दो तनाव र लालसागर क्षेत्रको अवरोधका कारण आपूर्ति शृङ्खला प्रभावित भएको छ। विशेषगरी ओमान, इरान र यूएईसँग जोडिएको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ प्रभावित हुँदा समस्या थप जटिल बनेको उद्योगीहरूको भनाइ छ।

    बोतल उत्पादनमा प्रयोग हुने पेट रेजिनको मूल्य प्रतिटन १५ सय डलरसम्म पुगेको छ, जुन युद्धअघि ८००–८५० डलरको हाराहारीमा थियो। त्यस्तै, जार र बिर्कोका लागि आवश्यक एचडीपीई र पीपी प्लास्टिक दानाको मूल्य पनि बढेर १०५० देखि १२५० डलरसम्म पुगेको छ।

    खाडी मुलुकका तेल प्रशोधन केन्द्रहरूले उत्पादन कटौती गरेपछि कच्चापदार्थको अभाव विश्वव्यापी रूपमा देखिएको छ। नौलखाका अनुसार विगत २–३ महिनादेखि समस्या देखिँदै आएकोमा अहिले अवस्था झन् गम्भीर बन्दै गएको छ।

    हाल नेपालभर करिब ५८० पानी उद्योग सञ्चालनमा रहेका छन्। कच्चापदार्थ अभावका कारण उद्योगीहरू उत्पादन घटाउने र उद्योग बन्द गर्नुपर्ने दबाबमा परेका छन्। उद्योगीहरूले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था मिलाउन र समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन्।

  • राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

    राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

    चैत ७, दमक / दमक–८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा ११ महिलासहित ५४ जनाले रक्तदान गरेका हुन्।

    रक्तदान कार्यक्रममा सामाजिक अगुवा तथा राजनीतिकर्मी रन्जित तामाङ, संस्थाका सञ्चालक समितिका सदस्य विष्णु सुब्बा, व्यवस्थापक प्रकाश राई, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल, कर्मचारीहरू राजन केसी, चन्द्रबहादुर कन्दङवा, मिना राई तथा पत्रकारहरू अनिलदेव राई, मनकुमार गदाल, सुजन गौतम लगायतले सहभागिता जनाएका थिए। साथै शेयर सदस्यहरू मिलन राई, ओजाहाङ लिम्बू, मनु साम्पाङ, सुसन राई लगायतले पनि रक्तदान गरेको सचिव दिपेनवाला राईले जानकारी दिए।

    संस्थाले हरेक वर्ष सञ्चालन गर्दै आएको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष पनि खुला रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हो। संस्थाका अध्यक्ष लछुदास राईका अनुसार सामाजिक सेवामूलक कार्य अन्तर्गत सहकारीले लामो समयदेखि नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ।

    नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा सामाजिक अगुवा गणेश गौतम, जितु धिमाल, लेखा संयोजक इन्द्रमान चाम्लिङ, सल्लाहकार लोकप्रसाद कन्दङवा, सुमित्रा वाङदेल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले सहकारी संस्थाहरूले सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।२६ वर्षअघि स्थापना भएको उक्त सहकारीले हालै इलामको चुलाचुली र मोरङको पथरीशनिश्चरेमा सेवा केन्द्र विस्तार गर्दै आफ्नो सेवा क्षेत्र बढाउँदै लगेको जनाएको छ।

  • मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

    मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

    चैत ६, दमक / दमक नगरपालिका भित्र मेयर र उपमेयरबीचको विवादकै बीच १८औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख रामकुमार थापाले बैठकको प्रारम्भ गर्दै विषय प्रवेश गराएपछि सभा अघि बढाइएको थियो।

    सभामा प्रस्तुत हुने विषयवस्तुका सम्बन्धमा नगरप्रमुख थापाले कार्यसूची अघि सारेका थिए। सो क्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाईले पेश गर्नुपर्ने प्रस्ताव तथा प्रतिवेदन पनि समावेश गरिएको थियो। तर उपप्रमुख भट्टराईले नगरसभा अघि नै पत्रकार सम्मेलन गर्दै आफू सहभागी नहुने जानकारी गराएकी थिइन्।

    नगरसभाको बैठकमा उपप्रमुखको उपस्थिति नभएको पुष्टि भएपछि नगरप्रमुख थापाले १० मिनेटका लागि बैठक स्थगित गर्दै तत्काल कार्यपालिकाको बैठक बोलाउने निर्णय गरेका थिए। त्यसपछि बसेको कार्यपालिकाको बैठकले उपप्रमुखको अनुपस्थितिमा उहाँ संयोजक रहेका समितिका प्रतिवेदन तथा प्रस्तावहरू अन्य सदस्यहरूले पेश गर्ने निर्णय गरेको थियो।

    यस निर्णयपछि पुनः सुरु गरिएको नगरसभामा विभिन्न प्रतिवेदनहरू पेश गर्दै १८औँ नगरसभा सम्पन्न गरिएको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको बजेट तथा नीति–कार्यक्रम परिमार्जनका लागि प्रस्ताव गरिएको छ।

    नगरसभामा प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १७औँ नगरसभाबाट स्वीकृत १ अर्ब ४७ करोड रुपैयाँ बजेटअन्तर्गत अधिकांश कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्। केही आयोजना सम्पन्न हुने अवस्थामा पुगेका छन् भने केही सञ्चालन तथा संशोधनको चरणमा रहेका छन्।

    आयतर्फ संघीय सरकारबाट ३४ करोड ३८ लाख ३३ हजार, प्रदेश सरकारबाट १ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट १२ करोड ७५ लाख र आन्तरिक स्रोतबाट १२ करोड ८६ लाख गरी कुल ६४ करोड रुपैयाँ आम्दानी भएको छ। त्यस्तै खर्चतर्फ चालु खर्च ३५ करोड ८९ लाख र पूँजीगत खर्च ११ करोड १७ लाख गरी कुल ४७ करोड ६ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

    हालको अवस्थामा विनियोजन ऐन २०८२ अन्तर्गत कुल बजेटमा कुनै परिवर्तन नगरी कार्यक्रमहरू मात्रै संशोधन गर्ने प्रस्ताव नगरसभामा पेश गरिएको छ।