Author: Multi Media

  • आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

    आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

    चैत १, दमक / झापाको दमकमा निजी तथा सार्वजनिक विद्यालयका बसहरूमा बढ्दो गुनासोपछि दमक ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको छ। आइतबार दमकको पशुहाट डाँडामा गरिएको विशेष चेकिङका क्रममा करिब १५ वटा विद्यालय बस जाँच गरिएको थियो।

    चेकजाँचका क्रममा चालकको अल्कोहल परीक्षण, सिटको अवस्था तथा विद्यार्थी सुरक्षासम्बन्धी आवश्यक मापदण्डहरूको विशेष निरीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ। विद्यार्थीहरूले चर्को शुल्क तिरे पनि सुरक्षित र व्यवस्थित यातायात सुविधा नपाएको गुनासो बढेपछि ट्राफिक प्रहरी सक्रिय भएको हो।

    दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईका अनुसार केही विद्यालयका बसहरूले नियम उल्लंघन गरेको पाइएको छ। विशेष गरी झापाको दमकमा रहेको आस्था कलेज र एकता एकेडेमीका विद्यालय बसहरूले सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको भेटिएको उहाँले जानकारी दिनुभयो। राईका अनुसार ती बसहरूलाई यसअघि पनि पटकपटक कारबाही गरिएको भए पनि सुधार नदेखिएको र विद्यालय व्यवस्थापन पक्षको गम्भीर कमजोरी समेत देखिएको छ।

    “विद्यार्थीको सुरक्षामा कुनै पनि लापरबाही सह्य हुँदैन। नियम पालना नगर्ने विद्यालय बसमाथि निगरानी र आवश्यक कारबाही निरन्तर जारी रहनेछ,” प्रमुख राईले भन्नुभयो। यसैबीच ट्राफिक प्रहरीले चेकिङकै क्रममा विद्यार्थीहरूलाई सडक सुरक्षा तथा बसमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानीबारे छोटो सचेतना सन्देश समेत दिएको जनाएको छ।

  • आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

    आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

    काठमाडौं, फागुन २८ / बजारमा देखिएको ग्यास अभावलाई मध्यनजर गर्दै नेपाल आयल निगमले अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताहरूले आवश्यकभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्न थालेपछि बजारमा आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर ग्यास मात्र पठाउने निर्णय गरिएको हो।

    हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास रहने व्यवस्था छ। तर नयाँ निर्णयअनुसार अब प्रत्येक सिलिन्डरमा ७.१ केजी मात्र ग्यास भरेर वितरण गरिनेछ। पछिल्लो दुई महिनादेखि बजारमा ग्यासको अभाव देखिनुका साथै पश्चिम एसियामा बढ्दो द्वन्द्वको प्रभावले पनि उपभोक्ताहरूमा ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको बताइएको छ।

    नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ग्यास खरिद गर्दै आएको छ। तर पछिल्लो समय भारतबाट मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा समस्या बढ्दै गएको छ। नेपालमा दैनिक औसतमा करिब १२० बुलेट ग्यास आवश्यक पर्ने भए पनि हाल करिब ८० बुलेट मात्रै आइरहेको छ। यसअघि पनि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला सरकारले आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था गरेको थियो।

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

    सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

    फागुन १५, दमक / सर्वोदय बोर्डिङ स्कुल दमकमा वार्षिक सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    विद्यालयका अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राम थापाले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले शिक्षाले समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, अनुशासन र सिर्जनशीलतामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। दक्ष नागरिक उत्पादनमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको बताउँदै नगर प्रमुख थापाले आवश्यक सहजीकरणका लागि नगरपालिका तयार रहेको धारणा राख्नुभयो।

    स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल नवीन योगीले अभिभावकहरूको निरन्तर सहयोग, शिक्षकहरूको प्रतिबद्धता र विद्यार्थीहरूको मेहनतकै कारण विद्यालय शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बन्दै गएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि व्यवहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहने जानकारी दिनुभयो।

    वार्षिक कार्यक्रम अन्तर्गत ‘सर्वोदय गड ट्यालेन्ट’ शीर्षकमा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध प्रतिभा प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका थिए। साथै फुड फेस्टिवल, साइन्स एक्जिबिसन, नाटक, सांस्कृतिक नृत्य तथा विभिन्न सृजनात्मक प्रस्तुति प्रदर्शन गरिएको थियो।

    कार्यक्रमको अन्त्यमा शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। उक्त अवसरमा दुईजना शिक्षकलाई सम्मानसमेत गरिएको विद्यालयले जनाएको छ।

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा शिक्षा समिति संयोजक कुबेर प्रसाद भट्टराईको पनि  उपस्थिति रहेको थियो।

  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

    निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

    फागुन १६, झापा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं.–५ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
    फागुन १६ गते दमकको सङ्गम स्विटस्थित पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै विज्ञप्तिमार्फत पार्टीको मूल निर्वाचन परिचालन समिति, क्षेत्र नं.–५ ले निर्वाचन आचारसंहिता विपरीत गतिविधि भइरहेको आरोप लगाएको हो। विज्ञप्तिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको दाबी गरिएको छ।
    विज्ञप्तिमा सत्ता र शक्तिको आडमा बजेट, योजना तथा विभिन्न प्रलोभन बाँडफाँड गरी निर्वाचन परिणाम प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ। साथै, चुनाव उत्कर्षतर्फ जाँदै गर्दा विभिन्न सञ्चारमाध्यममार्फत तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरी मतदातामा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गरिएको छ।
    पार्टीका तर्फबाट निर्वाचन परिचाल समितिका संयोजक सुरेन्द्र बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरिएको छ। साथै निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।
    त्यस्तै, कमल गाउँपालिकामा पत्रकार अर्जुन आचार्य माथि भएको भनिएको दुर्व्यवहारप्रति पनि पार्टीले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। नेकपाका उम्मेदवार रन्जित तामाङले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार चुनावी प्रक्रिया अघि बढाउन आग्रह गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्।

  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

    फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

    फागुन १५, कमल / झापा जिल्लाको कमल गाउँपालिका–४ स्थित फोनिक्स इङ्गलिस स्कुल ले आज विविध कार्यक्रमका साथ आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सूर्यप्रसाद न्यौपानेले गर्नुभएको थियो।

    उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यालयले किताबीय ज्ञानसँगै व्यवहारिक सीपमा जोड दिएकाले विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले स्थानीय संस्कार–संस्कृति तथा लोपोन्मुख सामग्रीबारे जानकारी दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कार–संस्कृति झल्किने गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। “पढ्दै कमाउँदै” कार्यक्रमअन्तर्गत विद्युतिय सामग्री, हस्तकला, बाँसको चोयाबाट निर्मित डोको, डाकर, मुडा, साथै आर्टिटेक अन्तर्गत सपिङ महल र पुलका मोडेललगायत विद्यार्थीहरूले तयार पारेका विभिन्न सामग्रीको प्रदर्शनी गरिएको थियो। प्रदर्शनी अवलोकनका क्रममा अभिभावकहरूले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र व्यवहारिक सीपको प्रशंसा गरेका थिए।

    विद्यालयका फाउण्डर प्रिन्सिपल बदिराम राईले विद्यालयले किताबी ज्ञान मात्र नभई प्रत्येक हप्ता विद्यार्थीको रुचिअनुसार व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यसले विद्यार्थीलाई आफ्नो संस्कार–संस्कृतिबारे जान्न, साथै दैनिक जीवनमा आवश्यक पर्ने सामग्री आफैं निर्माण गर्न सक्ने आत्मनिर्भर शिक्षा प्रदान गरिरहेको छ।

    कार्यक्रममा वडा नं. ४ का अध्यक्ष चन्द्रप्रसाद भट्टराई, वडा सदस्य नवीन राई, नेपाल निजी तथा आवासीय विद्यालय संगठन (PABSON) कोशी प्रदेश सचिव गौरिमान फागो, पाब्सन कमल अध्यक्ष दीपक संग्रौला, सचिव त्रिलोचन गौतम, जिल्ला सदस्य युवराज बराल, सल्लाहकार विजयसेन थापा, केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका शिक्षक भिमप्रसाद राईले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा पूर्व विद्यार्थीहरू जितेन साम्पङ राई , अश्विन राणा मगर , रोजित राई लगायतको उपस्थिति रहेको थियो ।

  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

    दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

    फागुन १४, दमक / दमक–९ क्याम्पसमोडमा अवस्थित दिपेश मोबाइल हबले ग्राहक लक्षित ‘धमाकेदार एक्सचेञ्ज अफर’ सार्वजनिक गरेको छ। नयाँ तथा पुराना मोबाइल साटासाट (एक्सचेञ्ज) सुविधा, शून्य प्रतिशत ब्याजदरमा ईएमआई र आकर्षक छुटसहितको योजना ल्याइएपछि बजारमा उत्साह देखिएको छ।

    हबका अनुसार पुरानो मोबाइल ल्याएर नयाँ स्मार्टफोन खरिद गर्दा विशेष मूल्यांकन गरी उचित एक्सचेञ्ज भ्यालु प्रदान गरिनेछ। विभिन्न ब्रान्डका अत्याधुनिक स्मार्टफोनहरू—फ्ल्यागसिपदेखि मिड–रेञ्जसम्म—उपलब्ध रहेको र ग्राहकको बजेट अनुसार रोजाइका मोडल छनोट गर्न सकिने जनाइएको छ।

    त्यसैगरी, ०% ब्याजदरमा ईएमआई सुविधाले एकमुष्ट रकम तिर्न नसक्ने ग्राहकलाई सहज बनाउने विश्वास व्यवसायीले व्यक्त गरेका छन्। बिक्रीसँगै सेवा (Service) र एक्सचेञ्ज (Exchange) सुविधा एकै ठाउँबाट उपलब्ध गराइने भएकाले ग्राहकलाई थप सहजता हुने बताइएको छ।

    दिपेश मोबाइल हबले सीमित समयका लागि ‘बेस्ट अफर’ सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ मोबाइल खरिद गर्न चाहने तथा पुरानो सेट अपग्रेड गर्न इच्छुक ग्राहकलाई अफरको लाभ लिन आग्रह गरिएको छ।

  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

    डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

    दमक, फाल्गुन ८ / डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ फाल्गुन ७ गते आयोजित कार्यक्रममा डिपीएल टिन्स बोर्ड दमक–२०२६ को अध्यक्षमा अप्सन खनाल निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।

    नवनिर्वाचित अध्यक्ष खनालसहित सम्पूर्ण कार्यसमितिलाई कार्यक्रममा सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नयाँ कार्यसमिति अनुसार वरिष्ठ उपाध्यक्षमा रोजीत बस्नेत, महासचिवमा उपमा राउत, कोषाध्यक्षमा सुप्रीम पाण्डे चयन हुनुभएको छ । यस्तै उपाध्यक्षहरूमा रिश्ता खड्का र अमिस पौडेल रहनुभएको छ ।

    निर्देशकहरूमा अप्सना बस्नेत, रक्षा प्रसाई, सुजल श्रेष्ठ र अंशु निरौला चयन हुनुभएको छ भने सदस्यहरूमा श्रीबिना राई र प्राप्ति दाहाल रहनुभएको छ । कार्यक्रममा संस्थाको आगामी गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक तथा संस्थागत योगदानलाई मजबुत बनाउने अपेक्षा व्यक्त गरिएको थियो ।