Author: Multi Media

  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

    सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

    जेठ ७, दमक / झापाको दमक–२ स्थित मानव उदार सेवा आश्रममा पहिलो पाइला नेपाल दमक शाखाकी सक्रिय सदस्य रक्षा पाण्डे ले आफ्नो जन्मदिनको अवसर पारेर आश्रममा आश्रित मानवहरूसँग खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गर्दै जन्मदिन मनाएकी छन्। उनले आश्रमलाई दुई बोरा चामल, चिनी, चिउरा, तेल, बिस्कुट, फिनेल लगायतका आवश्यक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेकी हुन्। आफ्नो व्यक्तिगत खुशीलाई मानव सेवासँग जोड्दै रक्षा पाण्डेले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रशंसनीय कार्य गरेकी छन्।

    मानवता, सहयोग र सेवाभाव नै जीवनको वास्तविक सुन्दरता हो भन्ने उदाहरण प्रस्तुत गर्दै गरिएको यस कार्यले सबैलाई प्रेरणा दिने विश्वास गरिएको छ।यस अवसरमा आश्रम सञ्चालक सुमन श्रेष्ठ ले रक्षा पाण्डेलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रम अझ बढ्दै जाओस् भन्ने शुभकामना दिएका थिए।

    कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, उपाध्यक्ष लबराज खडका, सचिव पुजा दाहाल, कमला पाण्डे लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

  • जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

    जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

    जेठ १०, दमक / दमक नगरपालिका वडा नं ७ ले आर्थिक वर्ष २०८२ /०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । वडा कार्यलयको आयोजित सो कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष भीम प्रसाद पौडेलले गरेका थिए भने प्रमुख अतिथीका रुपमा दमक नगरपालिका प्रमुख रामकुमार थापा थिए ।

    यस्तै प्रमुख प्रशासकीय अधिृकत सुनिल निरौला, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रमुखहरु, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा वर्षभरि वडाले गरेका कामहरुको फेहरिस्ता प्रस्तुत गरिएको थियो । वडा नं ७ को आयोजना तथा नेक्सट मिडिया प्रा.लि. दमकको संयोजन तथा सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    सो कार्यक्रमलाई स्वागत सम्बोधन गर्दै वडासदस्य अतित बान्तवा राईले वर्ष भरि गरेका कामहरु शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत हरेक क्षेत्रलाई आधार बनाएर विकास निर्माण गरेका कामहरु आम दमकबासीलाई सुनाउन लोकतन्त्रको कडीका रुपमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताए । कार्यक्रममा वडासचिब योगेश भट्टराईले चालु आर्थिक वर्षभरिमा सम्पादन भएका गतिविधि प्रस्तुत गरेका थिए ।

    जसअन्र्तगत यसबर्ष वडामा १ करोड २२ लाख रुपैया बजेट बिनियोजन भएकोमा भदौमा भएको जेनजी आन्दोलनले १० प्रतिषत बजेट कटौती भयो । तत्पश्चात रहेको १ करोड १० लाख रुपैयामध्ये ४७ प्रतिषत बित्तिय प्रगति र ९५ प्रतिषत प्रगती भएको छ ।

    राजश्वतर्फ ७३ लाख ९३ हजार रुपैया संकलन भएको उनले बताए । उक्त कार्यक्रममा सार्वजनिक सुनुवाईमा २७ वडाका टोलबासीको सहभागिता रहेको थियो । जसमध्ये १५ जना सहभागिले वडामा रहेको विकास निर्माण, फोहोरमैला, कार्यसम्पादन लगायतका प्रश्न गरेका थिए । त्यसको जबाफ नगर प्रमुख रामकुमार थापा र वडाध्यक्ष भीम प्रसाद पौडेलले दिएका थिए ।

  • दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

    दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

    जेठ ३, दमक / झापाको दमक उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएको अवसरमा विशेष सम्मान गरेको छ। दमकमा आयोजित सम्मान कार्यक्रममा श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। संघले निजी क्षेत्रको सुदृढीकरण, उद्योग–व्यवसायको प्रवर्द्धन तथा व्यवसायीहरूको हकहित संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।

    कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले गोकुल श्रेष्ठले दमक उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा व्यवसायिक वातावरण सुधार, उद्यमशीलताको विकास तथा स्थानीय व्यवसायीहरूको समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

    उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनु दमकसहित समग्र पूर्वी क्षेत्रका व्यवसायीहरूका लागि गौरवको विषय भएको वक्ताहरूले उल्लेख गरे। निजी क्षेत्रका मुद्दालाई राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले उठाउँदै व्यवसायीहरूको आवाज बुलन्द बनाउन उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै गोकुल श्रेष्ठले आफूलाई पुनः जिम्मेवारीसहित विश्वास गरेकोमा व्यवसायी समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा उद्योगी–व्यवसायीको हकहित, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि चलायमान बनाउन अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।

    उहाँले स्थानीय उद्योग–व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्र र सरकारबीच सहकार्य विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो। सम्मान कार्यक्रममा संघका वर्तमान पदाधिकारी, पूर्वअध्यक्षहरू, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले गोकुल श्रेष्ठको पुनः निर्वाचित सफलताले दमक क्षेत्रको व्यवसायिक प्रतिष्ठा अझ उचो बनाएको बताएका थिए।

  • दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

    दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

     

    जेठ ६, दुधे / दुधेमा आजदेखि चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ। दुधे भेट्रानको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा झापा ११ फुटबल क्लब का अध्यक्ष जल कुमार गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। उद्घाटन खेलमा पुर्वेली भेट्रानले प्रकाशपुर भेट्रानलाई ५–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। खेलभर दबाबमा राखेको पुर्वेली भेट्रानका खेम पोख्रेलले व्यक्तिगत चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले ११औं, १६औं, २८औं र ५१औं मिनेटमा गोल गरेका थिए। टोलीका लागि अर्को गोल सन्तोष राईले खेलको तेस्रो मिनेटमै गरेका थिए।

    प्रकाशपुर भेट्रानका तर्फबाट टीका कटुवालले १९औं मिनेटमा सान्त्वना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका खेम पोख्रेल खेलको म्यान अफ दि म्याच घोषित भए। उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख सुभाष केसी तथा शिवसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५१ हजार तथा उपविजेताले रु. ८१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। भोली हुने खेलअन्तर्गत आयोजक दुधे भेट्रान (बि) ले कनकाई भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा पथरी शनिश्चरे भेट्रान र बिर्तामोड भेट्रान आमनेसामने हुनेछन्।

  • दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

    दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

    जेठ ६, दमक / झापाको दमकमा नयाँ स्वाद र आकर्षक वातावरणसहित ‘63 Waffle Station’ सञ्चालनमा आएको छ। दमक–६ स्थित फुच्चे रेस्टुरेन्ट अगाडि मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको उक्त स्टेशनले स्वादिष्ट वाफल, बबल टी तथा विभिन्न चिसो पेय पदार्थ उपलब्ध गराउँदै युवापुस्तामाझ विशेष आकर्षण बढाइरहेको छ। स्टेशनको उद्घाटन विद्यार्थी नेता तथा युवा व्यवसायी जितेन साम्पाङ राईले रिबन काटेर गर्नुभएको थियो। बिविसा थापा र सनिया सुहाङको संयुक्त लगानीमा सञ्चालनमा आएको ‘63 Waffle Station’ छोटो समयमै ग्राहकहरूको रोजाइ बन्न थालेको बताइएको छ।

    सञ्चालिका सनिया सुहाङ का अनुसार स्टेशनमा परिवार तथा साथीभाइसँग बसेर मिठो परिकारको स्वाद लिन सकिने वातावरण तयार गरिएको छ। करिब दुई लाख रुपैयाँ बराबरको लगानीमा सञ्चालनमा ल्याइएको उक्त स्टेशनमा विभिन्न प्रकारका स्वादिष्ट वाफल, बबल टी तथा चिसो पेय पदार्थ पाइने व्यवस्था गरिएको छ। नयाँ स्वाद, आधुनिक प्रस्तुति र आकर्षक वातावरणका कारण दमकका युवाहरूबीच ‘63 Waffle Station’ लोकप्रिय बन्दै गएको सञ्चालक बिविसा थापाले बताउनुभयो ।

  • कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

    कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

    जेठ २, गौरादह / गौरादह नगरपालिकाले आयोजना गर्न लागेको वडा स्तरीय खेलकुद प्रतियोगिताको खेल सूचीमा कबड्डी खेल समावेश नगरिएको भन्दै खेलाडी तथा खेलप्रेमीहरूले असन्तुष्टि जनाएका छन्। नगर खेलकुद कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको खेल तालिकामा भलिबल, फुटबल, क्रिकेट, दौड, ब्याडमिन्टन तथा बुद्धिचाल जस्ता खेल समावेश गरिए पनि कबड्डी खेललाई भने पूर्ण रूपमा बाहिर राखिएको छ।

    वर्षौंदेखि गौरादहको नाम राख्दै विभिन्न प्रतियोगितामा ट्रफी जित्ने खेलका रूपमा परिचित कबड्डीलाई सूचीबाट हटाइएको भन्दै खेलाडीहरूले नगरपालिकाको निर्णयप्रति प्रश्न उठाएका छन्। “जहिले गौरादहको इज्जत राख्ने हामी नै, राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने खेल नै हटाइनु दुःखद हो,” खेलाडी इन्दिरा बोहरा

    ले गुनासो गरिन । खेलाडीहरूका अनुसार गौरादहबाट कबड्डी खेलेर राष्ट्रिय स्तरसम्म पुगेका खेलाडीसमेत रहेका छन्। आगामी दिनमा अझ धेरै खेलाडी उत्पादन हुने सम्भावना हुँदाहुँदै कबड्डीलाई अवसर नदिनु खेलप्रति अन्याय भएको उनीहरूको भनाइ छ।

    उनीहरूले सबै खेललाई समान अवसर र सम्मान दिनुपर्ने माग गर्दै कबड्डी खेललाई पनि प्रतियोगितामा समावेश गर्न नगरपालिकासँग आग्रह गरेका छन्। “सबै खेल राखेर कबड्डीलाई मात्रै हटाउनु उचित होइन, यसले खेलाडीहरूको मनोबल कमजोर बनाउँछ,” स्थानीय खेलप्रेमीहरूको भनाइ छ। नगरपालिकाले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

  • कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

    कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

    जेठ २ , कमल / सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाईला नेपालले आफ्नो शाखा विस्तार अभियानलाई निरन्तरता दिँदै कमल गाउँपालिकामा प्रस्तावित शाखा गठन गरेको छ। देशभर शाखा सञ्जाल विस्तार गर्दै आएको संस्थाको मातृशाखाका रूपमा पहिलो पाइला नेपाल दमक शाखाको पहलमा कमलमा तदर्थ समिति गठन गरिएको हो। केन्द्रीय सह–कोषाध्यक्ष दिवस खतिवडा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सन्जु निरौलाको संयोजकत्व तथा कुमार पराजुलीको सह–संयोजकत्वमा तदर्थ समिति गठन गरिएको बताइएको छ।

    कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखा का अध्यक्ष राजु निरौला, उपाध्यक्ष लवराज खड्का, सचिव पूजा दाहाल, गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौला, सचिव प्रदीप धमला, दमक शाखाका सल्लाहकार गणेश प्रधान, सामाजिक व्यक्तित्व त्रिलोचन अधिकारी, तारा बस्नेत, करुणा प्रधान लगायत स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा दिवस खतिवडा र सल्लाहकार गणेश प्रधानले संस्थाको परिचय तथा सामाजिक अभियानबारे जानकारी गराएका थिए। अतिथि त्रिलोचन अधिकारीले पहिलो पाइलाले समाजमा गर्दै आएका गतिविधिको प्रशंसा व्यक्त गरेका थिए।

    नवनिर्वाचित संयोजक सन्जु निरौलाले तदर्थ समिति गठनमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी शनिबार विशेष कार्यक्रम आयोजना गर्ने तयारी रहेको जानकारी दिइन्। कार्यक्रमको सञ्चालन तथा औचित्यमाथि प्रकाश राजु निरौला ले पारेका थिए। संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा विपन्न वर्गका बिरामीलाई सहयोग गर्दै विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको जनाएको छ। हाल संस्था ६ वटा सामाजिक अभियानमार्फत सक्रिय रहेको र पूर्वी नेपालमा शाखा विस्तारलाई तीव्रता दिइएको बताइएको छ। केही दिनअघि मात्रै उर्लाबारीमा पनि प्रस्तावित शाखा गठन गरिएको थियो।