Author: Multi Media

  • शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

    शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

    वैशाख ३१, शिवसताक्षी / शिवसताक्षी १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालय ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शिवसताक्षी नगरपालिकाभर उत्कृष्ट नतिजा हासिल गर्दै नगरकै प्रथम विद्यालय बन्न सफल भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले गएको सोमबार राति सार्वजनिक गरेको SEE २०८२ को नतिजाअनुसार देशभर ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यही क्रममा शिवसताक्षी नगरपालिकाका विभिन्न विद्यालयहरूले उल्लेखनीय नतिजा ल्याइरहेका बेला लक्ष्मी नारायण माध्यमिक विद्यालय नगरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।

    विद्यालयबाट SEE परीक्षामा सहभागी ३५ जना विद्यार्थीमध्ये ३४ जना उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छन् भने केवल १ जना विद्यार्थी मात्रै अनुत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र बहादुर लम्जेल ले जानकारी दिए ।

    प्रधानाध्यापक लम्जेलले विद्यालयले नगरमै धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल हुँदा आफूहरू गर्वान्वित भएको बताए ।
    “यो सफलता विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्व, शिक्षकहरूको लगनशीलता, विद्यार्थीहरूको अथक मेहनत तथा अभिभावकहरूको निरन्तर साथ र मार्गदर्शनको प्रतिफल हो,” सहायक प्रधानाध्यापक कुमार बुढाथोकी ले बताए ।

    विद्यालय स्थापना भएयता SEE परीक्षामा प्राप्त यो नतिजा दोस्रो ऐतिहासिक तथा उत्कृष्ट रहेको विद्यालयले जनाएको छ । यस उपलब्धिले सामुदायिक विद्यालयहरू पनि निजी विद्यालयसरह उत्कृष्ट नतिजा दिन सक्षम हुन्छन् भन्ने सन्देश दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराज राईले बताए ।

    शिवसताक्षी नगरपालिकाभित्र सञ्चालनमा रहेका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमध्ये ११ वटा विद्यालयलाई पछि पार्दै लक्ष्मी नारायण माध्यमिक विद्यालय प्रथम बन्न सफल भएको नगर शिक्षा तथा खेलकुद शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    शिवसताक्षीमा ८०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
    शिवसताक्षी नगरपालिका मा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा उत्साहजनक देखिएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ८०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यस वर्ष नगरका सामुदायिक विद्यालयबाट ६४४ र संस्थागत विद्यालयबाट ४५० गरी कुल १०९४ विद्यार्थी SEE परीक्षामा सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

    जसमध्ये सामुदायिक विद्यालयतर्फ ४३१ तथा संस्थागत विद्यालयतर्फ ४२९ जना गरी कुल ८६० विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यस वर्ष सामुदायिक विद्यालयतर्फ दुई विद्यार्थीले उत्कृष्ट ४ जिपिए प्राप्त गर्न सफल भएका छन् । भानु माध्यमिक विद्यालय लालझोडा का कञ्चन काफ्ले तथा भानु माध्यमिक विद्यालय पाराबारी का मञ्जिल नेपाल ले ४ जिपिए ल्याएका हुन् ।

    त्यसैगरी सामुदायिक विद्यालयमध्ये SEE परीक्षामा सहभागी विद्यार्थीहरूमा लक्ष्मी नारायण माविले धेरै विद्यार्थी उत्तीर्ण गराएर नगरमा प्रथम स्थान हासिल गरेको हो । त्यस्तै संस्थागत विद्यालयतर्फ रेडरोज एकाडेमी का आभार तिम्सिनाले ३.९६ जिपिए प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।

  • दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

    दमकमा बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव हुने

    वैशाख ३०, दमक / झापाको दमक नगरपालिकामा किरात राई समुदायको मौलिक कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। किरात राई यायोखा वडा कार्य समिति दमक–८, ९ र १० को संयुक्त आयोजनामा जेठ १० गते दमक–९ स्थित साकेलाथान चन्द्रमा पार्कमा कार्यक्रम आयोजना गरिने भएको हो। दमकस्थित जङ्ग्री होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक सुनिल राई ले कार्यक्रमबारे जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा १२ देखि १५ वटा साकेला शिला टोलीहरूको सहभागिता रहनेछ।

    कार्यक्रम दमक नगरपालिकाका प्रमुख रामकुमार थापा को प्रमुख आतिथ्यतामा सञ्चालन हुने आयोजकले जनाएको छ। दमकसहित विभिन्न स्थानबाट करिब पाँच हजारभन्दा बढी दर्शक तथा सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।कार्यक्रमका लागि करिब ३ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। आर्थिक स्रोत स्थानीय सरकार तथा स्थानीय सहयोगबाट व्यवस्थापन गरिने संयोजक राईले जानकारी दिनुभयो। किरात राई यायोखा वडा नम्बर ९ का अध्यक्ष सन्त किराती ले आधुनिकता तथा पश्चिमी संस्कृतिको प्रभावका कारण मौलिक भाषा, कला, संस्कृति, संस्कार र पहिचान ओझेलमा पर्न थालेकाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानप्रति जागरुक गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

    उहाँले किरात राई समुदायको सांस्कृतिक धरोहर संरक्षण तथा प्रवर्द्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।यसैगरी कार्यक्रम सञ्चालक जितेन साम्पाङ राई ले यले सम्बत् ५०८६ तथा २०८३ सालको साकेला उभौली चाडको अवसरमा आयोजना हुन लागेको महोत्सव केवल चाडपर्व मात्र नभई एकता, जीवन दर्शन र सांस्कृतिक सभ्यतासँग जोडिएको परम्परा भएको बताउनुभयो। पत्रकार सम्मेलनमा किरात राई यायोखा दमक–८ का सचिव रामचन्द्र राई लगायतको उपस्थिति रहेको थियो।

  • स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

    स्मारिका सामुदायिक बोर्डिङ स्कुलको उत्कृष्ट एसईई नतिजा, सबै विद्यार्थी उत्तीर्ण

    वैशाख ३०, कमल / कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पालिकामै आफ्नो शैक्षिक पहिचान थप मजबुत बनाएको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका ३७ जना विद्यार्थी सबै उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन्। नतिजाअनुसार विद्यार्थी सुमित राज बिष्ट ले ४.० जीपीए हासिल गर्दै विद्यालय टप गरेका छन्।

    विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार १ जनाले ४.० जीपीए, २९ जनाले ३.६ देखि ३.९९ जीपीए तथा ७ जनाले ३.२ देखि ३.५९ जीपीए प्राप्त गरेका छन्। विद्यालयका प्रिन्सिपल गुणराज गिरी ले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको साथ तथा अनुशासित शैक्षिक वातावरणका कारण यस्तो उपलब्धि सम्भव भएको बताउनुभयो। स्थानीय स्तरमा गुणस्तरीय शिक्षाका लागि परिचित बन्दै गएको विद्यालयले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आफ्नो शैक्षिक पहिचान अझ सुदृढ बनाउँदै गएको छ।

  • अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

    अन्तर्राष्ट्रिय नर्स दिवस : दमक हस्पिटलमा नर्सहरूको सम्मान, चुनौती र भविष्यबारे छलफल

    वैशाख २९, दमक / विश्वभर १२ मे अर्थात् अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै गर्दा झापाको दमकस्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले पनि अस्पतालमा कार्यरत नर्सहरूसँग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । आधुनिक नर्सिङ सेवाकी अग्रदूत फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा हरेक वर्ष मनाइने यो दिवस सन् २०२६ मा “हाम्रा नर्स, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन्” भन्ने नारासहित मनाइएको हो ।

    कार्यक्रममा अस्पताल व्यवस्थापन तथा नर्सिङ विभागका कर्मचारीबीच शुभकामना आदानप्रदानसँगै नर्सहरूको पेशागत सुरक्षा, कार्य वातावरण, सेवा–सुविधा तथा पेशाको दीगो विकासका विषयमा छलफल गरिएको अस्पतालका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउन नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रमका क्रममा नर्सिङ विभागमा कार्यरत सुम्निमा राईले नर्सिङ पेशा अझै पनि चुनौतीपूर्ण र असुरक्षित रहेको बताउनुभयो । उहाँका अनुसार अस्पताल तथा समाजका विभिन्न तहमा नर्सहरूले दबाब, जोखिम र असहज परिस्थितिको सामना गर्नुपरेको अवस्था अझै कायम छ । उहाँले अन्य देशको तुलनामा नेपालमा नर्सहरूको पारिश्रमिक तथा सेवा–सुविधा कम रहेको भए पनि भविष्यमा यस क्षेत्रमा सकारात्मक सुधार आउने अपेक्षा व्यक्त गर्नुभयो । दक्ष जनशक्तिको पलायन रोक्न तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न नर्सहरूको पेशागत सम्मान र सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

    नेपाल नर्सिङ काउन्सिलका अनुसार सन् २०२६ सम्म नेपालमा दर्ता भएका नर्स तथा मिडवाइफको संख्या करिब १ लाख २८ हजार ८४० पुगेको छ । जसमा ८८ हजार २३२ जना रजिस्टर्ड नर्स र ३७ हजार ६०१ जना ए.एन.एम. रहेका छन् । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २०२५ प्रतिवेदनअनुसार विश्वभर नर्सहरूको संख्या सन् २०१८ मा २७.९ मिलियनबाट बढेर २०२३ मा २९.८ मिलियन पुगेको छ । संगठनका अनुसार विश्वका करिब ८५ प्रतिशत नर्स महिला रहेका छन्, जसले नर्सिङ क्षेत्रमा महिलाको उल्लेखनीय योगदानलाई प्रतिबिम्बित गर्छ ।

    नेपालमा हाल करिब ५० हजार ५०० नर्स कार्यरत रहेको अनुमान छ । तर आवश्यक संख्या ६५ हजारभन्दा बढी रहेकाले करिब १५ हजार नर्सको अभाव रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०३० सम्म नेपाललाई करिब ८१ हजार नर्स आवश्यक पर्ने अनुमान गरिएको छ । जानकारहरूका अनुसार नेपालजस्तो विकासोन्मुख देशमा नर्सिङ पेशाले थुप्रै अवसर बोकेको भए पनि पेशागत सुरक्षा, सेवा–सुविधा र सम्मानका विषय अझै चुनौतीकै रूपमा रहेका छन् ।

  • गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

    गुणस्तरीय शिक्षाको परिणाम : ग्लोबल एकेडेमीका ५ विद्यार्थीको ४.० GPA

    वैशाख २९, दमक / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमी ले जिल्लाकै उत्कृष्टमध्ये एक नतिजा हासिल गर्न सफल भएको छ। विद्यालयका ५ जना विद्यार्थीले ४.० GPA प्राप्त गर्दै विद्यालयको शैक्षिक गरिमालाई थप उचाइमा पुर्‍याएका हुन्। पूर्ण ४.० GPA हासिल गर्ने विद्यार्थीहरूमा प्रतीक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन बिमली र स्वेच्छा अधिकारी रहेका छन्।

    दमकका विद्यालयहरूमध्ये एकै विद्यालयबाट यति ठूलो संख्यामा ४.० GPA आउनुलाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारी ले विद्यालयले प्रदान गर्दै आएको सिकाइ उपलब्धिमूलक भएको महसुस भएको बताउनुभयो। उहाँले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनतका कारण यस्तो सफलता सम्भव भएको उल्लेख गर्नुभयो।

    पूर्ण GPA ल्याउने विद्यार्थीहरूले पनि विद्यालयमा अध्ययनका लागि सहज र गुणस्तरीय वातावरण रहेको तथा घरमा निरन्तर गरेको मेहनतकै कारण उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताएका छन्। विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधार, अनुशासित वातावरण तथा आधुनिक शिक्षण पद्धतिमा जोड दिँदै आएको छ। यस वर्षको SEE नतिजाले विद्यालयको शैक्षिक स्तरलाई थप प्रमाणित गरेको अभिभावकहरूको भनाइ रहेको छ।

  • रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

    रोटरी क्लब अफ दमकद्वारा पृथ्वी माविलाई डेक्स बेञ्च सहयोग

    वैशाख २८, दमक / झापाको दमकमा सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ दमकले शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिएको छ । क्लबले सोमबार दमक–७ स्थित राधाकृष्ण मन्दिर परिसरमा रहेको पृथ्वी माध्यमिक विद्यालयलाई ३० थान डेक्स बेञ्च हस्तान्तरण गरेको हो । विद्यालय र रोटरी क्लब अफ दमकबीचको सहकार्यमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यार्थीहरूलाई सहज वातावरणमा बसेर पठनपाठन गर्न सहयोग पुग्ने उद्देश्यले फर्निचर सामग्री उपलब्ध गराइएको रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले जानकारी दिनुभयो ।

    रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालको सहयोगमा सञ्चालन गरिएको “ह्याप्पी स्कुल” कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको विकास र परिवर्तनका लागि नगरपालिका विभिन्न संघ–संस्थासँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि यस्ता सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

    कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाईले विद्यालय तथा बालबालिकाको क्षमता विकासमा टेवा पुर्‍याउने उद्देश्यले “ह्याप्पी स्कुल” कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार यसअघि पनि सोही विद्यालयमा शुद्ध खानेपानीसहितको सौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रोटरी क्लब अफ दमकका अध्यक्ष अग्रवालले गुणस्तरीय शिक्षाबाट नै असल नागरिक उत्पादन हुने भन्दै विद्यार्थीहरूको अध्ययन वातावरणलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन सहयोग गरिएको बताउनुभयो ।

    कार्यक्रममा दमक–७ का वडाध्यक्ष भीम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लालसुन्दर राई, दमक रोट्रयाक्ट क्लबका अध्यक्ष दीवाकर पञ्चकोटी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राई, सहायक प्रधानाध्यापक अमृत श्रेष्ठ, डा. लेखनाथ न्यौपाने, रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष नबीन श्रेष्ठ, बिक्रम शाह लगायत रोटरीयन, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले गर्नुभएको थियो ।

  • दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

    दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

    शिवसताक्षी–११ दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। दुधे रंगशालामा हुने प्रतियोगितामा खेलकुदमार्फत स्वास्थ्य, मित्रता र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका भेट्रान टोलीहरूको सहभागिता रहनेछ भने अनुभवी खेलाडीबीच प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ। स्थानीय खेलप्रेमी दर्शकको उल्लेखनीय उपस्थितिसहित दुधे क्षेत्र खेलमय बन्ने तयारी गरिएको छ।

    आयोजकका अनुसार प्रतियोगिताले पुराना खेलाडीहरूलाई पुनः मैदानमा जोड्नुका साथै युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार सहित ट्रफी मेडर र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ८१ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र पाउने छन् ।