Author: Multi Media

  • दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    बैशाख २, दमक /  मुख्य केन्द्रीय कार्यालय काठमाडौंमा रहेको पहिलो पाईला नेपाल दमक शाखाले क्यालेन्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका दमक शाखा अध्यक्ष राजु निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक सहयोगी व्यक्तित्व तथा उद्योग वाणिज्य संघ दमकका तृतीय उपाध्यक्ष सुभाषचन्द्र गर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश घिमिरे, शिखा साकोस दमकका व्यवस्थापक तुलसी राजवंशी, सामाजिक अभियन्ता युवराज निरौला, आमा कोल्ड सेन्टरका सञ्चालक पंकज पोख्रेल, पहिलो पाइला नेपालका केन्द्रीय कोषाध्यक्ष दिवस खतिवडा, सदस्य मेघनाथ फुयाल, क्लब हिमालयन टाइगरका अध्यक्ष रेवत चन्द्र भण्डारी, संस्थाका पूर्व अध्यक्ष सुरेश बराल, सल्लाहकार छवि घिमिरे लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरू गेहनाथ पोख्रेल, पूजा दाहाल, सोनु चौधरी लगायतको पनि सहभागिता रहेको थियो। पहिलो पाइला नेपाल दमक शाखाले सामाजिक क्षेत्रमा सक्रिय रूपमा कार्यक्रम गर्दै आएको अवस्थामा यस वर्ष पहिलो पटक क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रममा उपस्थित अतिथिहरूले संस्थाले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए। साथै क्यालेन्डर प्रकाशनलाई सकारात्मक पहलका रूपमा सराहना गरिएको थियो।कार्यक्रमको सञ्चालन उपाध्यक्ष लबराज खडकाले गरेका थिए भने अध्यक्ष निरौलाले विज्ञापनदाता तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।

  • दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

    दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

    चैत २९, दमक / किरात राई यायोक्खा दमक–७ वडा समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न सभाबाट लालसुन्दर राई सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। दमक–७ स्थित संस्थाको कार्यालयमा आयोजित साधारण सभाले ६ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा बिनोद तिम्वाली राई र बुद्ध थुलुङ राई चयन भएका छन् भने सचिवमा महावीर राई, सहसचिवमा विनोद राई, कोषाध्यक्षमा रिता चाम्लिङ राई र सहकोषाध्यक्षमा जयन्ती राई चयन भएका छन्।

    त्यस्तै सदस्यहरूमा कमलबहादुर राई, निर्माया राई, ध्यानबहादुर राई, रविन राई, बिमला राई र नवीनचन्द्र राई चयन भएका छन्। साथै सल्लाहकार समितिमा भूमि राई, अविलाल राई र कमल राईलाई चयन गरिएको छ। कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ७ का वडा सदस्य अतित बान्तवा राई प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    नवनिर्वाचित अध्यक्ष लालसुन्दर राईले संस्थाको मुख्य उद्देश्य किरात राई समुदायको धर्म, संस्कृति संरक्षण तथा पुस्तान्तरण गर्नु रहेको बताए। उनले आगामी दिनमा समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक पहिचान जोगाउने कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

  • दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

    दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

    चैत २८, दमक / झापाको दमकस्थित मुख्य बजार क्षेत्रमा निर्माणाधीन ‘दमक सपिङ कम्प्लेक्स’को भौतिक प्रगति करिब ४० प्रतिशत र आर्थिक प्रगति करिब ३५ प्रतिशत पुगेको छ। एक समय सुकुम्बासीहरूको बसोबास रहेको तथा पछि दमक नगरपालिकाले अस्थायी टहरा निर्माण गरी भाडामा लगाएको यस स्थानमा अहिले आधुनिक र भव्य व्यापारिक संरचना निर्माण भइरहेको छ।

    पहिले सुनचाँदी व्यवसायीहरूको बाक्लो उपस्थितिका कारण ‘सुनचाँदी लाइन’का रूपमा परिचित यस क्षेत्रका पुराना संरचना हटाएर सात तलाको अत्याधुनिक कम्प्लेक्स निर्माण थालिएको हो। ४३ करोड २४ लाख १६ हजार ६ सय ४४ रुपैयाँ लागतमा निर्माण भइरहेको यस कम्प्लेक्समा अण्डरग्राउण्डसहित सात तला रहनेछन्। अण्डरग्राउण्डमा सवारी पार्किङको व्यवस्था गरिनेछ भने भुईँतलामा १२ वटा व्यावसायिक स्टल रहनेछन्। यहाँ दुई वटा लिफ्ट र दुई वटा एस्केलेटरको सुविधा रहनेछ।

    पहिलो तलामा एक डिपार्टमेन्टल स्टोरका लागि स्थान छुट्याइएर बाँकी भागमा ९ वटा पसल राख्ने व्यवस्था गरिएको छ। दोस्रो तलामा बैंकका लागि आवश्यक क्षेत्र छुट्याइएको छ भने थप ६ वटा पसल सञ्चालन गर्न मिल्ने संरचना निर्माण भइरहेको छ। तेस्रो तलामा करिब २२० जना अट्ने क्षमताको सिनेमा हल र व्यायामशाला रहनेछ भने चौथो तलामा सिनेमा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ। पाँचौं तलामा खुला (रुफटप) रेष्टुरेन्ट तथा बार सञ्चालन गर्न मिल्ने व्यवस्था हुनेछ भने सबैभन्दा माथिल्लो भागमा दमक बजार अवलोकन गर्न मिल्ने ‘भ्यू पोइन्ट’ निर्माण गरिने योजना छ।

    निर्माण सम्झौताअनुसार उक्त परियोजना आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कम्प्लेक्स सञ्चालनसम्बन्धी व्यवस्थापन मोडालिटी आगामी आर्थिक वर्षको नगरसभामा पेश हुने आर्थिक ऐनमार्फत तय गरिने दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो।

  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

    जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

    चैत २८, दमक / जीवन चक्र समाज नेपालको आयोजनामा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले सवारी दुर्घटना न्यूनीकरण, सिटी सफारी व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।दमक ट्राफिक प्रहरी प्रमुख मनोज कुमार खड्गाले सिटी सफारी चालकहरूमा बढ्दो लापरबाहीले दुर्घटना वृद्धि भइरहेको उल्लेख गर्दै अनिवार्य रूपमा लाइसेन्स लिनुपर्नेमा जोड दिए। उनले सबैलाई सवारी नियम पालना गर्न आग्रह गरे।

    यसैगरी इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले नयाँ वर्ष २०८३ मा दुर्घटना नघट्ने वातावरण बनोस् भन्ने शुभकामना व्यक्त गर्दै सवारी दर्ता, कर तिर्ने व्यवस्था र इन्सुरेन्स अनिवार्य हुनुपर्ने बताए। सिटीमार्फत चोरी तथा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै कडाइका साथ कानुन कार्यान्वयन गरिए सिटीको संख्या आधा घट्न सक्ने बताए। उनले दमकमा करिब १४०० सिटी सञ्चालनमा रहेको र व्यवस्थापनका लागि एप्रन आवश्यक रहेको धारणा राखे।समाजसेवी मदन बोहोराले विगतमा करेन्ट लागेर हात गुमाएको आफ्नो अनुभव सुनाउँदै दुर्घटना हुनुअघि नै सचेत रहन सबैलाई आग्रह गरे। उनले समाज र परिवार समृद्ध बनाउन व्यक्तिगत जिम्मेवारीबाट सुरुवात गर्नुपर्ने बताए।

    सिटी चालक सूर्य बहादुर सोडारीले लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने र सिटी सफारीका कागजपत्र नियमित जाँच हुनुपर्ने धारणा व्यक्त गरे। संस्थाका प्रतिनिधि टिकाराम अधिकारीले संस्थाको सिद्धान्त र सकारात्मक भूमिकाबारे प्रकाश पारे। पत्रकार बिमल लामिछानेले समाजमा घट्ने घटनाबाट सिक्नुपर्ने आवश्यकता औंल्याउँदै व्यक्तिगत सचेतनाले दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। समाजसेवी केदार चापागाईंले सवारी दुर्घटनाबाट जोगिन स्वयं सचेत हुनुपर्ने, जीवनको मूल्य बुझ्नुपर्ने र सवारीका संकेत बत्तीहरू चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए। साहित्यकार बिन्दु मुखदर्शकले सिटी सफारी धेरैका लागि बाध्यता भएको उल्लेख गर्दै सरकारले रोजगारी सिर्जना गर्नुपर्ने बताए। साथै, लाइसेन्स प्रणाली स्थानीय तहमै उपलब्ध भए सहज हुने धारणा व्यक्त गरे।

    कार्यक्रम संस्थाका अध्यक्ष गणेश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईंले राखेका थिए। कार्यक्रमको संयोजन डाक्टर लेखनाथ न्यौपानेले गरेका थिए। कार्यक्रममा सिटी सफारी चालक, यातायात व्यवसायी, मजदुर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको संस्थाका प्रवक्ता सिद्धार्थ दाहालले जानकारी दिए।

  • प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

    प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

    चैत २८, दमक / ‘साहित्यकास’ कार्यक्रमअन्तर्गत डिपिएल (DPL) दमकको आयोजनामा कवि अमृता स्मृतिको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। डिपिएल दमककी अध्यक्ष पूर्णिमा तिम्सिनाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा स्थानीय साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा कवि अमृता स्मृतिले आफ्ना सशक्त कविताहरू वाचन गर्दै नेपाली समाजमा विद्यमान विभिन्न विकृति र विसङ्गतिहरूलाई मार्मिक ढंगले प्रस्तुत गरिन्। उनका कविताहरू विशेषगरी नारी जीवन, वर्गीय विभेद, प्रेम र सामाजिक यथार्थका विविध आयामहरूमा केन्द्रित थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिम्सिनाले युवापुस्तालाई साहित्यसँग जोड्न यस्ता सिर्जनात्मक कार्यक्रमहरूको आवश्यकता औंल्याइन्। साथै उनले समाजमा बढ्दै गएका बेइमानी, ठगी र अन्य विकृतिविरुद्ध साहित्यले सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरिन्।

    उक्त कार्यक्रममा दमकका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, युवा कवि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले दमकलाई साहित्यिक नगरीको रूपमा विकास गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ।

    कवि अमृता स्मृति नेपाली साहित्यमा उदाउँदै गरेको प्रगतिशील र सचेत आवाजका रूपमा चिनिन्छिन्। उनका रचनाहरूमा प्रेम, प्रकृति, सहअस्तित्व र मानवीय संवेदनासँगै लैङ्गिक तथा वर्गीय विभेदजस्ता विषयहरू प्रमुख रूपमा अभिव्यक्त हुने गरेका छन्।

  • बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

    बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

    चैत २६, कटहरी / मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी स्वास्थ्य चौकीमा एक दिवसीय प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बिराटनगर नर्सिङ क्याम्पस (बि.एन.एस) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शिविर सञ्चालन गरिएको हो।

    शिविरमा महिलाहरूमा देखिने आङ्ग खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव–फिस्टुला तथा निःसन्तानसम्बन्धी समस्याको एकीकृत व्यवस्थापनबारे स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै स्वास्थ्य प्रदर्शनी कार्यक्रम पनि आयोजना गरिएको थियो।

    समुदाय स्वास्थ्य नर्सिङ पाठ्यक्रमअन्तर्गत एक महिनाको समुदाय पोस्टिङका क्रममा विद्यार्थीहरूले कटहरी गाउँपालिका–३ का विभिन्न टोलमा सर्वेक्षण गरी संकलित तथ्यांकको प्रस्तुतीकरण समेत गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि तथा क्याम्पस प्रमुख मेनुका भण्डारीले कार्यक्रमको प्रशंसा गर्दै सहयोगी निकायहरूलाई धन्यवाद ज्ञापन गरिन्। उनले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

    कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति संयोजक पुनम कुमारी मण्डल, कटहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सकल शाह, उपाध्यक्ष सीता देवी राजबंशी, वडा नम्बर ३ का अध्यक्ष जदुलाल कामत लगायत विभिन्न शाखाका प्रमुख, कर्मचारी, शिक्षक, महिला स्वयंसेविका, विद्यार्थी तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    बि.एन.एस दोस्रो वर्षमा अध्ययनरत सोनी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य आस्मा पाण्डेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन जेनिस चम्लागाईंले गरेकी थिइन्।शिविरबाट १५० भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।

  • दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

    दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

    चैत २५, दमक / सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित दमक नगरपालिका ले इलाका प्रहरी कार्यालय दमकलाई करिब ५ लाख रुपैयाँ बराबरका मापासे तथा लागूऔषध सेवन पहिचान गर्ने सामग्री हस्तान्तरण गरेको छ। नगरपालिका कार्यालय परिसरमा आज आयोजित संक्षिप्त कार्यक्रममा ३ थान ब्रेथलाइजर मेसिन र लागूऔषध परीक्षणका लागि १०० थान किट उपलब्ध गराइएको समाज कल्याण शाखाका अधिकृत केशव प्रसाई ले जानकारी दिए।

    उक्त सामग्रीहरू इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक किशोर लम्साल लाई नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगीना भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौंला लगायतले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थापाले चालकहरूले मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्ता उपकरण प्रभावकारी हुने विश्वास व्यक्त गरे। उपप्रमुख भट्टराईले पनि ब्रेथलाइजर लगायतका सामग्रीले मापासे तथा लागूऔषध परीक्षणलाई थप सहज बनाउने धारणा राखिन्।

    कार्यक्रममा प्रहरी नायव उपरीक्षक लम्सालले आवश्यक उपकरण अभावका कारण चेकजाँच कार्यमा समस्या हुँदै आएको उल्लेख गर्दै अब भने चेकजाँचलाई केही हदसम्म प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।यसअघि गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा दमकस्थित प्रहरी तथा ट्राफिक कार्यालयमा आगजनी र लुटपाट हुँदा आधा दर्जनभन्दा बढी ब्रेथलाइजर मेसिन हराएको थियो। त्यसयता एउटा मात्र उपकरणको सहायताले मापासे जाँच सञ्चालन हुँदै आएको थियो।