Blog

  • शिबगञ्जमा कुशे औशी र हरितालिका तीज विशेष : बुबा सम्मान तथा सामूहिक दर खाने कार्यक्रम सम्पन्न

    शिबगञ्जमा कुशे औशी र हरितालिका तीज विशेष : बुबा सम्मान तथा सामूहिक दर खाने कार्यक्रम सम्पन्न

    भदौ ६, शिवशताक्षी / कुशे औशीसहित हरितालिका तीजको अवसर पारेर शुक्रबार शिबगञ्जमा बुबा सम्मान तथा सामुहिक दर खाने कार्यक्रम भएको छ ।शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले दुई सस ५० जना बुबाहरुलाई टोपी लगाएर सम्मान गर्नुका साथै हरितालिका तीजको अवसरमा आमा दिदीबहिनीहरुलाई सामुहिक दर खुवाइएको छ ।

    वडाध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा र नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख थोप्रोले नेपाली समाजमा सवै खाले चार्डपर्वको आ–आफ्नै अर्थ, महत्व, गरिमा र धार्मीक तथा साँस्कृतिक पक्षहरु रहेको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थोप्राले कुशे औशीमा बुबाप्रती श्रद्धासम्मान र हरितालिका तिजको महत्व, अर्थ, गरिमा र धार्मीक तथा साँस्कृतिक मूल्य र मान्यताहरु रहिआएको बताउनुभयो ।कार्यक्रममा शुभकामना बिचारहरु राख्नुहुँदै नगर प्रमुख थोप्राले हरितालिका तीजमा महिला दिदीबहिनीहरुले स्वतन्त्रता, अधिकार, एकता, धार्मीक र साँस्कृतिक शक्तिको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा कनकाई नहर सिँचाई व्यवस्थापन समितिका अध्यक्ष एबम् नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारी, शिबगञ्ज बहुमुखी क्याम्पसका अध्यक्ष मिलनकुमार ढुंगाना, स्थानीय बुद्धिजिवी बिष्णुप्रसाद खतिवडा, नगरपालिकाका योजना अधिकृत प्रकाशचन्द्र चौधरी, आदिवासी जनजाती महासंघ शिबसताक्षीका अध्यक्ष धनबहादुर राईलगायतका वडा प्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    सो अवसरमा जन आदर्श माध्यमिक विद्यालयकी विद्यार्थी प्रजिता भण्डारीले तीजसम्बन्धि कविता बाचन गरेका थिइन् । वडा कार्यालयकी कर्मचारी समिक्षा भेटुवालले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिइन् ।त्यस्तैं, जन आदर्श माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरुले स्वागत गीत नृत्य मार्फत कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

    कार्यक्रममा वडाध्यक्ष कार्कीले वडावासीको समस्या, सेवासुविधा, विकास र संमवृद्धिका लागि वडा कार्यालयले नीतिगत योजना र कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो ।वडाध्यक्ष कार्कीले वडाभित्र मुख्यगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक, सुरक्षा, पूर्वाधार र सशक्तिकरणतर्फ समुदायतर्फ खर्च गरिरहेको जानकारी दिनुभयो ।

    त्यसक्रममा वडा अध्यक्ष कार्कीले आजको शिबगञ्ज निर्माणमा विभिन्न समयमा निर्वाचित जनप्रतिनिधिहरु, बुद्धिजीविहरु, सामाजिक तथा राजनीतिक अगुवाहरु र पेशाकर्मीहरुप्रति आभारसहित कृतज्ञता प्रकट गर्नुभयो । त्यस्तैं, दिवगंत हुनुहुने शिबगञ्जनका पूर्व जनप्रतिनिधिहरु, पुराना व्याक्तित्वहरुको योगदानप्रति स्मरणगर्दै श्रद्धासम्मान व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा पूर्व जनप्रतिनिधि उषा केसी, रेडक्रसकर्मी तथा पूर्व शिक्षक नारायणप्रसाद दाहाल, पूर्व शिक्षका गंगाराम खनाल, एकीकृत समाजवादीका नेता सन्तोष इजम, एमाले नेता सुजन भेटुवाल, कांग्रेस नेता शेरबहादुर खढ्का, वडा कार्यालय भवनका लागि जग्गादाताहरु, प्रहरी, शिक्षक, विद्यार्थीहरु, व्यवसायी, पत्रकारहरुको लगायतको उपस्थिति थियो ।

    वडा सदस्य नरेन्द बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रमपछि तीज गीतहरुमा सहभागिहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

  • दमकमा ॐ शान्ति  डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना

    दमकमा ॐ शान्ति डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना

    भदौ ६, दमक / पठन संस्कृतिको प्रवद्र्धन र सेवाग्राहीलाई पठनमार्फत मानसिक सान्त्वना दिने उद्देश्यले दमक–५ स्थित ओम शान्ति डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना गरिएको छ।

    डिपीएल कमलको पहलमा स्थापना गरिएको उक्त लाइब्रेरीमा लायन्स क्लब अफ गोल्डले पुस्तक प्रदान गरी सहयोग गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य डिपीएल नेपालका उपाध्यक्ष कमल गैरेले गरेका थिए भने डिपीएल नेपालका अध्यक्ष अनु भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

    संविधानसभा सदस्य दीपक कार्कीले प्रमुख वक्ताको रूपमा मन्तव्य व्यक्त गर्नुभयो। उहाँले पठन–पाठनको संस्कृति हराउँदै गएको वर्तमान अवस्थामा यस्ता प्रयासहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    डिपीएल नेपालका संस्थापक अध्यक्ष भेसराज न्यौपानेले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पुस्तकमुखी संस्कृति ओझेलमा परेको बताउँदै मिनि लाइब्रेरीले पठन संस्कृतिलाई पुनः जीवन्त बनाउन मद्दत पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

    ओम शान्ति डेन्टल हस्पिटलकी डा. मल्लिका श्रेष्ठले बिरामीहरूको उपचारमा केही समय लाग्ने भएकाले प्रतीक्षा गर्ने समयमा पुस्तक पढ्न पाउने सुविधा निकै उपयोगी हुने बताउनुभयो। साथै, लायन्स क्लब अफ गोल्डका अध्यक्ष डा. हेमराज गैरेले बुक कर्नरमा राखिएका पुस्तकहरू एक महिना पछि नयाँ पुस्तकसँग परिवर्तन गरिने जानकारी दिनुभयो।

    कार्यक्रमको अध्यक्षता डिपीएल कमलका कार्यवाहक अध्यक्ष शम्भु निरौलाले गर्नुभएको थियो भने सञ्चालन वरिष्ठ उपाध्यक्ष दिवस खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा डिपीएल गौरादहका अध्यक्ष ध्रुव गिरी, लायन्स क्लब अफ गोल्डका कोषाध्यक्ष डा. राजेश श्रेष्ठ, सदस्य डा. टङ्क न्यौपाने, डा. स्मारक दाहाल, रिजन चेयर नवीन ताम्राकार लगायतको उपस्थिति थियो।

  • निर्माण व्यवसायी सङ्घ विजयी, मोबाइल व्यवसायी सङ्घ उपविजेता

    निर्माण व्यवसायी सङ्घ विजयी, मोबाइल व्यवसायी सङ्घ उपविजेता

    भदौ ६, दमक / दमक उद्योग वाणिज्य सङ्घको ३५ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित तेस्रो उद्योग वाणिज्य कप अन्तर वस्तुगत सङ्घ फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

    दमक–५ स्थित बिस्ट फुटसलमा भदौ ५ र ६ गते सम्पन्न प्रतियोगितामा १० वटा वस्तुगत सङ्घहरूको सहभागिता रहेको थियो। फाइनलमा निर्माण व्यवसायी सङ्घले मोबाइल व्यवसायी सङ्घलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
    यससँगै निर्माण व्यवसायी सङ्घ पहिलो, मोबाइल व्यवसायी सङ्घ दोस्रो बनेका छन् भने फर्निचर व्यवसायी सङ्घले अनुशासित टोलीको पुरस्कार जित्यो।

    व्यक्तिगततर्फ निर्माण व्यवसायी सङ्घका दिपेन थापा उत्कृष्ट गोलकिपर, मोबाइल व्यवसायी सङ्घका शरण राई उच्च स्कोरर तथा निर्माण व्यवसायी सङ्घकै लेलेन सुब्बा उत्कृष्ट खेलाडी घोषित भए। विजेताहरूलाई पहिलो स्थानका लागि रु. ३३,३३३, दोस्रो स्थानका लागि रु. २२,२२२, उत्कृष्ट गोलकिपर र उच्च स्कोररलाई रु. २,२२२, र उत्कृष्ट खेलाडीलाई रु. २,५०० नगद पुरस्कार प्रदान गरिएको थियो।

    समापन समारोहमा प्रमुख अतिथि तथा सङ्घका पूर्व अध्यक्ष विजयप्रसाद बरालले व्यवसायीबीच एकता र आपसी सम्बन्ध मजबुत बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए। त्यस्तै, सङ्घका अध्यक्ष गोपाल गुराँगाईले खेलकुद स्वास्थ्य दिगो बनाउने माध्यम मात्रै नभई व्यवसायीबीच आपसी सम्बन्ध बलियो बनाउन पनि उपयोगी हुने बताए।

  • गौरिगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    गौरिगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    भदौ,दमक ६ । झापाको गौरिगञ्जमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमल गाउँपालिका–५ निवासी ३१ वर्षीय धनेस सहनी रहेका छन्।

    गौरिगञ्ज गाउँपालिका–१ स्थित नेपाल–भारत सीमामा बिहिवार साँझ अन्दाजी ५ः२५ बजे खटिएका सुरक्षाकर्मीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।प्रहरीले उनको हेल्मेट भित्र प्लास्टिकको पोकामा लुकाएर ल्याउँदै गरेको ६ ग्राम १६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

    मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • मेची भन्सारद्धारा एक अर्ब बढी राजस्व सङ्कलन

    मेची भन्सारद्धारा एक अर्ब बढी राजस्व सङ्कलन

    भदौ, दमक ६ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो ।
    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो ।

    “मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ ।

    आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट छ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ”, उनले भने।काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैँची, अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ ।

  • भारतमा थप ८० मेगावाट बिजुली बिक्री गर्न स्वीकृति

    भारतमा थप ८० मेगावाट बिजुली बिक्री गर्न स्वीकृति

    भदौ,दमक ६ । भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ। ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो। वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ ।

    भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ ।पछिल्लो पटक भारतले २०० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको थियो । नेपाल र भारतबीचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ ।

    आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

  • मावा पुलमा धमाधम मर्मत, आवतजावत पूर्ण रोक

    मावा पुलमा धमाधम मर्मत, आवतजावत पूर्ण रोक

    भदौ ६, दमक / उर्लाबारी–९ र दमक–१० सेतुमारि जोड्ने मावा पुलमा हाल धमाधम मर्मत कार्य भइरहेको छ। संरचनालाई बलियो बनाउन ढुङ्गा, ग्याबियन बक्स र माटो प्रयोग गरेर मजबुतीकरणको काम भइरहेको कारण पुलमा सवारीसाधन तथा पैदल यात्रु दुवैको आवतजावत पूर्ण रूपमा रोकिएको हो।

    पुल बन्द भएपछि स्कुले बालबालिका, बिरामी बोकेका एम्बुलेन्सदेखि सर्वसाधारणसम्मले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता आएको छ। स्थानीय टंक थक्लुङले भने, “अब गुणस्तरीय रूपमा काम सम्पन्न हुनुपर्छ, नत्र फेरि केही वर्षमै समस्या दोहोरिन सक्छ।”

    करिब ४ करोड ४० लाखको लागतमा २०७१ सालमा बनेको मावा पुल संरक्षणको अभावमा जीर्ण बनेको थियो। लामो समयदेखि जोखिमपूर्ण रूपमा प्रयोग हुँदै आएको पुलमा अहिले भइरहेको मर्मतले स्थानीयवासीलाई दीर्घकालीन समाधानको आशा दिएको छ।