Blog

  • पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै बिर्तामोडमा एचआईभी, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

    पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै बिर्तामोडमा एचआईभी, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

    १५ साउन, दमक / निर्माणाधीन पूर्वपश्चिम लोकमार्गको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत बिर्तामोड नगरपालिकाका बासिन्दालाई एचआईभी/एड्स, यौन रोग र मानव बेचविखनबारे सचेत गराइएको छ।

    बिहीबार बिर्तामोड नगरपालिकाको सभाहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा राजमार्ग अभिवृद्धि आयोजनाले यो सचेतना कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी विषयमा केन्द्रित भएर स्थानीयलाई जानकारी दिइएको थियो।

    कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ का सडकसँग जोडिएर बसोबास गर्ने महिला तथा पुरुषलाई बाहिरबाट आएका मजदुरहरूमार्फत हुन सक्ने एचआईभी/एड्स, यौन रोग र मानव बेचविखनको सम्भावित जोखिमबारे जानकारी गराइएको हो। काँकरभिट्टा–लौकही सडक आयोजना अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले यो जानकारी दिनुभयो।

    कार्यक्रममा सामाजिक अभियन्ता दीपा चौधरीले एचआईभी/एड्स र यौनजन्य सङ्क्रमणबारे, सीता रानाले यौन हिंसाबारे र इलाका प्रहरी कार्यालय अनारमनीका सई प्रदीप आले मगरले मानव बेचविखनबारे सहभागीलाई प्रोजेक्टरमार्फत प्रस्ट जानकारी गराएका थिए।

    विज्ञ सिंहका अनुसार निर्माण क्षेत्रमा बाहिरबाट आउने मजदुरहरूले महिलामाथि यौनजन्य हिंसा, दुव्र्यवहार र बच्चाहरूलाई पनि प्रभावित पार्न सक्ने भएकाले यस किसिमका गतिविधि रोक्न समुदाय स्वयं सचेत हुनु आवश्यक छ।

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले सडक निर्माणका लागि विभिन्न ठाउँबाट मजदुरहरू आएका कारण सम्भावित जोखिम बढी हुने बताउँदै नगरवासी स्वयं सचेत हुनुपर्ने र आयोजनाले पनि गम्भीर भएर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कार्यक्रममा सहभागीलाई सिकेको कुरा आफ्ना साथीभाइ, परिवार र समुदायमा बाँड्न आग्रह गर्नुभयो।

    कार्यक्रममा काँकरभिट्टा–लौकही सडक आयोजना कार्यालयका इन्जिनियर आश्रय महत, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि र सडकसँग जोडिएका स्थानीय बासिन्दा गरी करिब १५० भन्दा बढी सहभागी थिए।

    काँकरभिट्टा–लौकही सडक आयोजना अन्तरगत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा पनि यस किसिमका सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। कार्यक्रममा सहजीकरण गर्दै विज्ञ जीवन सिंहले यस्ता कार्यक्रमले समुदायमा जोखिमबारे जागरुकता बढाउने बताउनुभयो।

  • धनञ्जय भट्टराईले NRNA NCC अमेरिकाको बोर्ड अफ डाइरेक्टर (BOD) मा उम्मेदवारी दिएका छन्

    धनञ्जय भट्टराईले NRNA NCC अमेरिकाको बोर्ड अफ डाइरेक्टर (BOD) मा उम्मेदवारी दिएका छन्

    १५ साउन दमक / पाँचथर फिदिम नगरपालिका–७ निवासी धनञ्जय भट्टराईले गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका २०२५–२७ कार्यकालको बोर्ड अफ डाइरेक्टर (BOD) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। पिता कुलप्रसाद भट्टराई र माता चन्द्रमाया भट्टराईका चार छोरामध्ये जेठा छोरा धनञ्जय भट्टराईको जन्म सामान्य परिवारमा भए पनि उहाँले धार्मिक र सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ। उहाँको एक दिदी र एक बहिनी पनि हुनुहुन्छ।

    नेपालमा रहँदा धार्मिक गतिविधिमा सक्रिय रहेका भट्टराई हाल अमेरिकाको ओहायो राज्यलाई कर्मभूमिका रूपमा स्थापित गर्दै सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय रहनुभएको छ। हालै उहाँ पहिलो पाइला नेपाल दमक शाखाको सोमबारको मन्दिरमा प्रसाद वितरण कार्यक्रममा सहयोगीको रूपमा जोडिनु हुने जानकारी प्राप्त भएको छ।

    धनञ्जय भट्टराई जागरण एकेडेमी एण्ड रिट्रिट सेन्टरसँग मोटिभेसनल स्पिकर तथा ट्रेनरको रूपमा समेत आबद्ध हुनुहुन्छ। उहाँले NRNA NCC अमेरिकाको आगामी अगस्ट १६ र १७ तारिखमा हुने निर्वाचनमा BOD पदमा उम्मेदवारी दिँदै नेपाली समुदायको हितका लागि समर्पित ढंगले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ। “संस्थाको लक्ष्य, अभियान र विधानप्रति पूर्ण इमानदारीका साथ काम गर्दै समयमै प्रभावकारी सेवा प्रवाह गर्ने मेरो उद्देश्य हो”, उम्मेदवार भट्टराईले बताउनुभयो।

    उहाँले अमूल्य मतका साथै सुझाव र सल्लाहका लागि सम्पूर्ण नेपाली समुदायसँग अपेक्षा राख्नुभएको छ।भट्टराई श्रीमती शोभा र छोरी अमायरासँग ओहायोमा बसोबास गर्दै आउनुभएको छ। उहाँको समर्पणले अमेरिका बस्ने नेपाली समुदाय मात्र नभइ नेपालमै पनि सकारात्मक प्रभाव पार्दै आएको छ।

  • दमकमा जन्मदिनको अर्थपूर्ण उत्सव : कुमार शिवाकोटीले बालबृद्ध आश्रममा गरे सामग्री सहयोग

    दमकमा जन्मदिनको अर्थपूर्ण उत्सव : कुमार शिवाकोटीले बालबृद्ध आश्रममा गरे सामग्री सहयोग

    दमक / पहिलो पाइला नेपाल दमक शाखाका सदस्य तुलसा सेवाकोटीका श्रीमान कुमार शिवाकोटीले आफ्नो जन्मदिन विशेष रूपमा मनाउँदै समाजसेवामा उदाहरणीय कार्य गरेका छन्। उनले दमक-९ स्थित बालबृद्ध आश्रममा विभिन्न आवश्यक सामग्रीहरू सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन्।

    “जन्मदिनमा हुने फजुल खर्चलाई निरुत्साहित गर्दै यसरी सामाजिक उत्तरदायित्व पूरा गर्न चाहें,” शिवाकोटीले बताए। उनले आश्रममा बसोबास गरिरहेका बालबालिकाहरूका लागि आलु एक बोरा, दाल, डाइपर, पेय पदार्थ र डेड दर्जन हाफेन लगायतका सामग्रीहरू हस्तान्तरण गरेका थिए।

    कार्यक्रम पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष लवराज खड्काले गरेका थिए। हाल उक्त आश्रममा करिब ३५ जना बालबालिकाहरू आश्रित छन्। शिवाकोटीको यस कार्यले जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई पनि समाजसेवामूलक कार्यमार्फत सार्थक बनाउने प्रेरणा दिएको छ।

    आश्रमकी कार्यबाहक अध्यक्ष मेनुका बुढाथोकी, सचिव दुर्गा काफ्ले, पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार गणेश प्रधान, केन्द्रीय सदस्य दिवस खतिवडा, लवराज खड्का, मेघनाथ फुयाल, सदस्यहरू सुजन गौतम, पदम राउत, सोनु चौधरी, मुना शिवाकोटी लगायतको उपस्थिति रहेको कार्यक्रममा आश्रमकी कार्यबाहक अध्यक्ष बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व र सेवा भावको प्रशंसा गरेकी थिइन्।

  • दमकमा श्रीकृष्ण रथयात्रा व्यवस्थापनसम्बन्धी बृहत छलफल सम्पन्न, रथयात्रा भदौ १ गते निकालिने

    दमकमा श्रीकृष्ण रथयात्रा व्यवस्थापनसम्बन्धी बृहत छलफल सम्पन्न, रथयात्रा भदौ १ गते निकालिने

    दमक / श्रीकृष्ण जन्माष्टमी तथा भदौ १ गते हुने भव्य रथयात्राको तयारीका लागि सोमबार दमकमा सरकारी तथा निजी कार्यालय, सुरक्षा निकाय, पत्रकार, विभिन्न संघसंस्था र धार्मिक व्यक्तित्वहरूको सहभागितामा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ

    श्रीकृष्ण रथयात्रा व्यवस्था समिति दमकका अध्यक्ष रोहित आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका मेयर रामकुमार थापा प्रमुख अतिथि रहनुभएको थियो। उपमेयर रेगिना प्रसाईं भट्टराई, दमक–८ का वडाध्यक्ष दिपेश दाहाल, दमक–९ का वडाध्यक्ष कुबेर भट्टराईलगायत जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा रथयात्राको कार्यतालिका सार्वजनिक गरिएको छ। समितिका अनुसार यस वर्ष श्रीकृष्ण जन्माष्टमी श्रावण ३१ गते पर्न आएको छ भने त्यसको भोलिपल्ट, भदौ १ गते आइतबार, रथयात्रा आयोजना गरिनेछ।

    रथयात्रा मार्ग राधाकृष्ण मन्दिर दमकबाट सुरु भई हनुमान मन्दिर, पशुहाट, महेन्द्र राजमार्ग, दमक चोक, फर्निचर लाइन, पशुपति मन्दिर, शङ्खधर चोक, भृकुटी चोक, भानुभक्त चोक, फाल्गुनन्द चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा रथयात्रा समापन गरिनेछ।रथयात्राको संरक्षक संस्था दमक नगरपालिका रहनेछ।

    छलफल कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इलाका प्रशासन, दमक अस्पताल, खानेपानी कार्यालय, बाणिज्य संघ, दमक जेसिज, पहिलो पाइला, लायन्स क्लब, रोटरी, जीवनचक्र नेपाल, रेडक्रस तथा पत्रकार महासंघ लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    उनीहरूले विगतका वर्षहरूझैँ यो वर्ष पनि रथयात्रा सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागी संस्थाहरूले रथयात्रा धार्मिक मात्र नभई सामाजिक सद्भावको प्रतीक भएकाले यसलाई प्रभावकारी, मर्यादित र व्यवस्थित बनाउनेतर्फ सबैले सक्दो साथ दिने जनाएका छन्।

  • आज नाग पञ्चमी, नाग देवताको पूजा आराधना गरी मनाइँदै

    आज नाग पञ्चमी, नाग देवताको पूजा आराधना गरी मनाइँदै

    दमक / नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

    यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

  • दमक–तेह्रथुम रुटमा यात्रु शोषण : पशुपति यातायातले लियो दोब्बर भाडा, गुनासीकर्तालाई धम्की

    दमक–तेह्रथुम रुटमा यात्रु शोषण : पशुपति यातायातले लियो दोब्बर भाडा, गुनासीकर्तालाई धम्की

    दमक / झापाको दमकबाट तेह्रथुमका लागि सेवा दिने पशुपति यातायात नामको गाडीले यात्रुहरूबाट गैरकानुनी रूपमा चर्को शुल्क असुल गर्ने गरेको पाइएको छ। प्र.१-०२-००१ख ९५६५ नम्बरको पशुपति यातायातको गाडीले दमक आकाशी पुलबाट बिहान ५ बजे छुट्ने क्रममा एक यात्रुबाट सामान ढुवानी वापत ५ सय मात्र लिने भनिएकोमा गन्तव्यस्थल तेह्रथुमको जिरखिम्तीमा पुगेर सो भन्दा दोब्बर रकम अर्थात् १ हजार असुल गरेको गुनासो आएको छ।

    सामान पठाउने यात्री किरण गौतमका अनुसार, गन्तव्यमा पुगेर चालकले पहिले भनिएको भन्दा दोब्बर भाडा मागेपछि सम्पर्क गरेर सोधपुछ गर्न खोज्दा “जे गर्न सक्छस् गर” भनेर धम्की दिएको बताइएको छ। त्यतिमात्र होइन, बारम्बार सम्पर्क गर्न खोज्दा नम्बर समेत ब्लक गरेर सम्पर्कविहीन भएको गौतमले गुनासो गर्नुभयो। उक्त गाडीमा तीनवटा ३० केजी जाने बोरामा केही कपडा र सामान रहेको थियो भने टेबल सेट र एउटा ग्यास सिलिन्डर रहेको उहाँले बताउनुभयो।

    यात्रुहरूले लामो समयदेखि पहाडी रुटमा यात्रा गर्दा यस्तो समस्याको सामना गर्दै आएको जनाउँदै आएका छन्। दमकबाट तेह्रथुमजस्ता पहाडी जिल्लामा जाने यात्रुहरूले बारम्बार असजिलो महसुस गर्दै आएका छन्। गाडी लाइनमा काम गर्दै आउनुहुने रमेश प्रसाईले गाडीको नामबारे जानकारी दिनुभएको थियो।

    यस घटनाले सार्वजनिक यातायातमा निगरानी अभाव देखिएको छ। स्थानीय स्तरमै यातायात व्यवस्थापन समितिले तत्काल ध्यान दिनुपर्ने देखिएको छ।सम्बन्धित निकायलाई तत्काल कारबाही र सुधारका लागि चासो दिनुपर्ने देखिन्छ।

  • पहिलो पाइला नेपाल दमक शाखाद्वारा श्रावणकाे दोस्रो सोमबार पशुपति मन्दिरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न

    पहिलो पाइला नेपाल दमक शाखाद्वारा श्रावणकाे दोस्रो सोमबार पशुपति मन्दिरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न

    दमक – सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाले श्रावण महिनाको दोस्रो सोमबारको अवसरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ। दमक-६ स्थित पशुपति मन्दिरमा पूजाआजा गर्न आएका भक्तजनहरूलाई प्रसाद वितरण गर्दै संस्थाले धार्मिक एवं सामाजिक सेवामा सक्रियता जनाएको हो।

    संस्थाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाकी उपमेयर रेगिना प्रसाई भट्टराई रहनु भएको थियो। कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, होटल व्यवसायी संघका महासचिव भूपेन्द्र न्यौपाने, पहिलो पाइला नेपालका केन्द्रीय सदस्य सुरेश बराल, दिवस खतिवडा, लवराज खड्का, मेघनाथ फुयाल, सल्लाहकार छवि घिमिरे, गौरादह शाखा अध्यक्ष भुपेन्द्र निरौला, मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मण श्रेष्ठ, वाणिज्य संघ महिला उपाध्यक्ष सुषमा निरौला लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै उपमेयर भट्टराईले पहिलो पाइलाले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्धता जनाउनुभयो।

    उक्त कार्यक्रमको सफल सञ्चालनमा पूर्वे खाद्य उद्योगका प्रोप्राइटर राजीव पूर्वे, वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, सदस्य तुलसीराम तिम्सिना र व्यवसायी धीरज शाह लगायतले सहयोग गर्नुभएको थियो।

    सामाजिक सेवा, धार्मिक मूल्य र सांस्कृतिक संरक्षणप्रति प्रतिबद्ध पहिलो पाइला नेपाल दमक शाखाले आगामी दिनमा समेत यस्ता जनकल्याणकारी कार्यलाई निरन्तरता दिने जनाएको छ।