Blog

  • नोवेलमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

    नोवेलमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

    विराटनगर / सुन्दा पनि अचम्म र आङ नै जिरिङ्ग हुने एक घटना घटेको छ । खेल्ने क्रममा अचानक उदयपुरका एक जना १५ बर्षिय बालकले कैंची नै निल्न पुगे पछि उनको पेटबाट त्यो कैंची निकालिएको हो । निज बालकले खेल्ने क्रममा अचानक कैंची निले पछि परिवारजनले घाँटीमा अड्किएको कैंची निकाल्न प्रयास गरे तर कैंची निस्कनुको सट्टा झन भित्र पस्यो । त्यस पछि उनलाई गम्भीर अवस्थामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा ल्याएका थिए।

    आकस्मिक कक्षमा गरिएको एक्स–रे र सिटी स्क्यानको आधारमा उनको पेटको सानो आन्द्राभित्र कैंची अड्किएको पुष्टि भयो। घटना अत्यन्तै जटिल र संवेदनशील रहे पनि, नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र उनको दक्ष सर्जिकल टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैंची निकालेका छन्। डा. भट्टराईका अनुसार, “बालकको आन्द्रामा कैंची अड्किएर त्यसले थप जटिलता ल्याउन सक्थ्यो, तर समयमै ल्याप्रोस्कोपिक सर्जरीमार्फत निकाल्न सफल भयौँ। अहिले बिरामीको अवस्था स्थिर छ।”

    उक्त दिनको घटना सम्झदै बालकको आफन्तले भने “ढल्किएर टेलिभिजन हेर्दै हातमा रहेको कैंची मुख भित्र हालेर खेलाउदै गर्दा अचानक घाँटी भित्र छिरेको थियो । त्यस पछि उनले आत्तिएर कैंची अडकियो कैंची अडकियो भने पछि हजुरबुबाले निकाल्न खोज्नु भयो तर कैंची अझ भित्र पस्यो । पहिला नजिकैको अस्पतालमा लग्यौं । त्यहाँ एक्सरे गरेर हेरे पछि कैंची अडकिएको देखियो । त्यहाँबाट नै ठूलो अस्पताल लान भन्नु भयो । पहिला पनि धेरै विरामी नोवेलमा निको भएर ल्याएको हुँदा हामीले विरामीलाई नोवेल ल्यायौं ।”

    कैंची निस्किए पछि विरामीको परिवारजन ढुक्क भएका छन् । दुई दिनको अस्पताल बसाइपश्चात बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएका छन् ।

    यस अघि पनि बेल्टको बक्कल निलेको, ब्रस माझ्ने क्रममा ब्रस निलेको, मासु खाँदा हड्डी अड्किएको धेरै विरामीहरुको उपचार नोवेलमा भई सकेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएको नोवेलले निकै जटिल र दुर्लभ शल्यक्रिया पनि सफलतापुर्वक गर्दै आएको छ ।

    साना नानीहरुले खेल्ने क्रममा मालाको दाना, साना खैलौना, चुम्बक, ब्याट्री जस्ता वस्तुहरु निल्ने, कानमा हाल्ने समस्या हुने गरेको हुँदा चिकित्सकहरु त्यस्ता सामानहरु साना नानीहरुलाई खेल्न दिने वा नानीहरुले भेट्ने ठाँउमा राख्न नहुने सल्लाह दिन्छन् । ठूला बालबालिका वा बैयस्कहरुले पनि अखाध्य पदार्थ जिस्केर पनि मुखमा हाल्न हुँदैन किनकी जिस्कदा जिस्कदै निल्न गई घटना जटिल बन्न सक्ने हुन्छ ।

  • भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु

    भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु

    दमक / भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ। लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा डुंगा दुर्घटना ८ जना बेपत्ता छन्। डुंगामा अधिकांश हनोईबाट आएका भियतनामी नागरिक रहेको बताइएको छ।

    पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो। सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। घटनास्थलमा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

    उद्धार अधिकारीहरुले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन्। ‘विफा’ नाम दिइएको तुफानले भियतनाममा जनधनको क्षति पुर्‍याएको छ।

  • संखुवासभाका दुई पक्की पुल सञ्चालनमा

    संखुवासभाका दुई पक्की पुल सञ्चालनमा

    खाँदबारी । सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा ती पुलको उद्घाटन गर्दै निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । उनले ठेकेदारको लापरबाहीका कारण जनताले समयमा सेवा पाउन नसकेका भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने बताए ।

    चैनपुर नगरपालिका–१ र मादी नगरपालिका–९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पुलको निर्माण विसं २०७३ देखि सुरु भएको थियो । वि.सं २०७९ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी कुन्सालिङ निर्माण सेवाको ढिलाइका कारण तीन वर्ष बढी समय लागेको हो । पुल निर्माणमा रु सात करोड १९ लाख ६५ हजार खर्च भएको छ ।

    धर्मदेवी नगरपालिका–४ र मादी नगरपालिका–६ जोड्ने मायाखोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष ढिलोगरी सम्पन्न भएको हो । विसं २०७४ मा सुरु भएको यो पुल निर्माणमा रु छ करोड २५ लाख ३९ हजार खर्च भएको जनाइएको छ । यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन् ।

  • कनकाई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा

    कनकाई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा

    दमक / कनकाई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा परेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी झापा गाउँपालिका वडा नं. २ को सुगाबथान र कुवारी बजारमा प्रवेश गरेको हो । सुगाबथानका जेठा टुडू , ताला सोरेन , लिलमुनि टुडू ,मण्डल टुडू, शुकदेव टुडू , साएकला टुडू , साइबा टुडूगरी ७ घर डुबानमा परेको छ । उनीहरूको घरमा डेढ–दुई फुट पानी जमेको छ । त्यस्तै कुवारी बजारमा पनि पानी पसेको छ ।

    त्यस्तै कनकाई माईकै बाढीले शिवसताक्षी-५ भेलामुनिमा डुबान गरेको छ । भेलामुनिका पाँच घर डुबानमा परेको शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले बताए । बोधनाथ बिमली, विपिन राई, बाङठु ताजपुरिया, खोजे ताजपुरिया र रेमेतुन राजवंशीको घर डुबानमा परेको हो । त्यहाँ एउटा मन्दिर जोखिममा परेको वडाध्यक्ष पासवानले जानकारी दिए । बाढीले किसानको सयौँ विगाह जमिन डुबानमा परेको जनाइएको छ ।

  • दमकमा डाँकिनी  खोलाको फोहोर सफा गर्दै बृहत् सरसफाइ अभियान सम्पन्न

    दमकमा डाँकिनी खोलाको फोहोर सफा गर्दै बृहत् सरसफाइ अभियान सम्पन्न

    दमक / झापाको दमक नगरपालिकामा राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीले डाँकिनी खोलामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा दमक–२ स्थित डाँकिनी खोलामा फालिएको दुई ट्याक्टर फोहोर उठाइएको हाे ।

    स्थानियवासीका अनुसार बजार क्षेत्रका फोहोर सिटी सफारी र मोटरसाइकलजस्ता साधनमार्फत ल्याएर डाँकिनी खोलामा फालिँदै आएको थियो, जसका कारण तीव्र दुर्गन्ध फैलिएको थियो। सोही समस्याको समाधान गर्न राष्ट्रिय युवा सङ्घ नेपालले सरसफाइ कार्यक्रम आयोजना गरेको राष्ट्रिय युवा सङ्घ दमक नगर अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो।

    कार्यक्रम नेक्स्ट इरा एनर्जीको सहकार्यमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष बिमल खतिवडाले अबदेखि बजार क्षेत्रका फोहोर डाँकिनी खोलामा नफाल्न र व्यवस्थापनका लागि नेक्स्ट इरा एनर्जी सँग सहकार्य गर्न आह्वान गर्नुभयो। ।

    दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाले फोहोर डाँकिनी खोलाजस्ता सार्वजनिक स्थानमा फाल्नेहरूलाई अबदेखि रु १,५०० देखि रु ५,००० सम्म जरिवाना गरिने चेतावनी दिनुभयो।

    कार्यक्रममा दमक–३ का वडा अध्यक्ष नवीन बराल, नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेल, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, राष्ट्रिय युवा सङ्घ जिल्ला सचिव उमेश मिश्र, क्षेत्र नं. ५ का संयोजक विवेक भट्टराई र नगर कमिटी इन्चार्ज सुदीप वानेमा फागो लगायतको उल्लेख्य उपस्थिति थियो।

    उक्त अभियानले फोहोरमैला व्यवस्थापनप्रति स्थानीय तह र जनप्रतिनिधिको सक्रियता देखाएको छ भने आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएकाे छ ।

  • होम टु होटल होटल टु हस्पिटलको अवस्था अन्त्य गर्न  गौरीगन्जबाट अभियान शुरु

    होम टु होटल होटल टु हस्पिटलको अवस्था अन्त्य गर्न गौरीगन्जबाट अभियान शुरु

    दमक / होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी, स्वस्थ जीवनका लागि स्वस्थ आहार प्रयोग गरौं भन्ने नारासहित गौरिगञ्ज गाउँपालिकामा स्थानीय खाद्य वस्तुको प्रयोग र विद्यालयस्तरीय दिवा खाजा कार्यक्रमबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

    पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन, दमकको आयोजनामा र गौरिगञ्ज गाउँपालिकाको संयोजनमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।

    गौरिगञ्ज गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको उक्त छलफलमा विद्यालयमा प्रदान गरिने दिवा खाजामा स्थानीय अन्न तथा परिकारको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा व्यापक छलफल भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले यस्तो कार्यक्रमले विद्यालय शिक्षासँगै बालबालिकाको पोषण सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेकि छ्न ।

    प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले सानो बजेटले राम्रो काम भएको बताउदै स्थानिय उत्पादन प्रयोगमा सबैको चासो र ध्यान जानु पर्नेमा जोड दिनुभयो ।

    बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव विजय शर्माले गौरिगन्जको स्थानीय उत्पादनलाइ प्रबर्द्धन गर्न पालिका र फाउन्डेसनले गरेको कार्य अनुकरणीय भएको बताए ।

    शिक्षा शाखा प्रमुख टन्कप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र लगायतले आ–आफ्ना धारणा राख्दै यस्तो पहलले बालबालिकाको स्वास्थ्य सुधार र स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पार्ने उल्लेख गरे।

    पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले फाउन्डेसनद्वारा गौरिगञ्जमा स्थापना गरिएको “गौरी फुड प्रोडक्ट” मार्फत दुई महिनाको अवधिमा ६ जना स्थानीयलाई तालिम दिई सातु, फापरको पिठो, कोदोको पिठो र मकैको चामल उत्पादन सुरु गरिएको जानकारी दिए।

    उनले पालिकासँग सहकार्यलाई निरन्तरता दिँदै स्थानीय उत्पादन, पोषण, र महिला तथा युवाको रोजगारीसँग सम्बन्धित परियोजनामा सहकार्य विस्तार गरिने घोषणा गरे।

    कार्यक्रमको सञ्चालन टेकनाथ अर्यालले गरेका थिए भने फाउन्डेसनका सचिव अर्जुन पौडेलसहित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    रसायन तथा बजारमा पाइने अखाद्य सामाग्रीले होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न फाउन्डेसनले कोशी प्रदेशका पालिकाहरुमा यो बर्ष अभियान चलाउने घोषणा गरिएको छ ।

    कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी सबैप्रति आभार प्रकट गर्दै यस्ता प्रयासहरूबाट स्थानीय उत्पादन र पोषण सुरक्षाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको थियो।

  • दमकमा आगलागी पीडित होटल सञ्चालकलाई होटल व्यवसायी संघको तर्फबाट आर्थिक सहयोग

    दमकमा आगलागी पीडित होटल सञ्चालकलाई होटल व्यवसायी संघको तर्फबाट आर्थिक सहयोग

    दमक / बिहीबार दमक बजारमा भएको भीषण आगलागीबाट क्षति व्यहोरेको सेवारो सेकुवा कर्नर होटल सञ्चालकलाई राहतस्वरूप होटल व्यवसायी संघका विभिन्न तहबाट आर्थिक सहयोग प्रदान गरिएको छ।

    एक विशेष कार्यक्रमका बीच होटल व्यवसायी महासंघ कोशी प्रदेश, होटल व्यवसायी संघ झापा, र क्षेत्रीय होटल व्यवसायी संघ दमकको संयुक्त पहलमा पीडित होटल सञ्चालकलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो।

    सहयोग हस्तान्तरण कार्यक्रममा होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, झापा जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, दमक होटल व्यवसायी संघका महासचिव भूपेन्द्र न्यौपाने लगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। वडा नं. ६ का अध्यक्ष टेकबहादुर थापाले पीडित परिवारप्रति सान्तना प्रकट गर्दै वडा कार्यालयबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो।

    कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले सबै व्यवसायीलाई संघसंस्थामा दर्ता भई सक्रिय रहन आग्रह गर्नुभयो। उहाँले संघको सदस्यता लिई व्यवसायलाई व्यवस्थित बनाएमा भविष्यमा यस्ता संकटमा राहत तथा सहयोग सहज हुने उल्लेख गर्नुभयो।

    त्यस्तै, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, सुरुंगा होटल व्यवसायी संघ, र अन्य क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति तथा सहभागितामा सो सहयोग रकम हस्तान्तरण गरिएको थियो।

    होटल व्यवसायी महासंघका अध्यक्ष दङ्गालले संस्थागत एकताले संकटमा परेका व्यवसायीलाई साथ दिन सकिने स्पष्ट पार्दै सबै व्यवसायीलाई संघसंस्थामा आबद्ध हुन आह्वान गर्नुभयो।