दमकमा ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन, नगर प्रमुखलाई सहयोगको आह्वान

असाेज ८, दमक / हालैको आन्दोलनका क्रममा दमक नगर प्रमुख रामकुमार थापाको घर जलेर पूर्णरूपमा ध्वस्त भएको छ। जीवनभरको सम्पत्ति र पसिनाको कमाइ क्षणमै खरानी बनेपछि नगर प्रमुख थापा हाल अरूको घरमा आश्रित हुन बाध्य भएका छन्।

उहाँको यो पीडा र घरबार विहीनताको अवस्थाले सम्पूर्ण दमकबासीलाई स्तब्ध बनाएको छ। आफ्नै पीडा लुकाएर समेत जनताको सेवामा खटिरहनु भएका नगर प्रमुखको यो कठिन घडीमा सहानुभूति र सहयोग जुटाउने उद्देश्यले ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन गरिएको छ।

समितिको अध्यक्षमा भीम पौडेल, सचिवमा राजु खड्का, कोषाध्यक्षमा अम्बर कुमाल रहेका छन् भने सदस्यहरूमा राजकुमार योङ्या, योगराज दङ्गाल, सुरेन्द्र नेम्बाङ र सल्लाहकारमा वासुदेव भट्टराई रहेका छन्।

समितिले नगर प्रमुखको आवास पुनर्निर्माण मात्र नभई, संकलित रकमको केही अंश अन्य पीडितहरूलाई पनि सहयोग गर्ने प्रतिज्ञा गरेको छ। समितिले दमकका सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनी, संघ–संस्था, उद्योगी–व्यवसायी, विद्यार्थी र समाजका शुभेच्छुकलाई यो अभियानमा सहभागी भई सहयोगको हात अघि बढाउन भावुक आह्वान गरेको छ। समितिको भनाइमा, “यो अभियान केवल एउटा घर पुनर्निर्माण मात्र होइन, करुणा र मानवताको पुनर्जागरण हो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *