दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

भदौ २०, दमक / दमक नगरपालिका–७ मा ‘स्वास्थ्य जीवन, उज्ज्वल भविष्य’ भन्ने नाराका साथ बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार वडा नम्बर ७ को स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा बीएनसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलले प्राविधिक सहयोग प्रदान गरेका थिए।

शिविरमा क्यान्सरसहित विभिन्न रोगहरूको निःशुल्क जाँच गराइएको थियो। सो अवसरमा १६५ जनाले सेवा लिएका थिए। डा. सुरुची महतो, नर्सिङ सुपरभाइजर प्रतिमा कार्की, मार्केटिङ अफिसर सज्जात अली, नर्सहरू उर्मिला विक र रोशनी दाललगायतको टोलीले सेवा प्रदान गरेका थिए।

दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि वडा सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै रोगहरू नडराई र नलुकाई समयमै परीक्षण गर्न सबैलाई आग्रह गरे।

हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीले यसैगरी अन्य वडामा पनि शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रममा नर्सिङ सुपरभाइजर प्रतिमा कार्कीले क्यान्सरसम्बन्धी जनचेतनामूलक प्रशिक्षणसमेत दिनुभयो।

कार्यक्रममा वडा सदस्य इन्दु खड्का पौडेल, क्लबका उपाध्यक्ष तेजकुमार श्रेष्ठ, विनोद राईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव योगेश भट्टराईले गर्नुभएको थियो भने वडाध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *