बुटवलमा साहित्यिक कविता गोष्ठी सम्पन्न

साउन २६, दमक / काव्यको माध्यमबाट प्रकृति, जीवन, प्रेम, समाज, राष्ट्र र दर्शन प्रकट भएको एक विशेष साहित्यिक कविता गोष्ठी बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा केही छन्द, लय, अलंकार र अनुप्रास मिलेका अब्बल सिर्जनाहरु समेत प्रस्तुत गरिएका थिए।

राजन अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा छन्द कवि मिलन रिजालले संयोजन गरेका थिए भने धीर र शान्त स्वभावका रुद्र खनालले सञ्चालन गरेका थिए। कार्यक्रममा विराट अर्याल, कृष्ण ब. राउत, अनिष सापकोटा, राजीव खनाल (संस्थापक), वैभव क्षेत्री, सदीक्षा घिमिरे, प्रवीण रिजाल, अशेष भण्डारी, नारायण अधिकारी, राजीव गौतम (संरक्षक), मदन पोखरेल, सन्तोष बन्जाडे, प्रवेश पौडेल, विरेन्द्र खड्का, पारस खड्का, शिव तिवारी, सन्तोष न्यौपाने, पारस मरासिनी, समीप न्यौपाने, शिवहरि मरासिनी, डिआर न्यौपाने ‘सूर्य’ र मिलन रिजाललगायतका स्रष्टाहरुले गजल, मुक्तक, हास्यव्यङ्ग्य, गद्य कविता र पद्य कविता वाचन गरेका थिए।

शार्दूलविक्रीडित र शिखरिणी छन्दका उत्कृष्ट कवितासहित प्रारम्भिक चरणमा रहेका स्रष्टाहरुका कृतिहरुदेखि परिष्कृत रचनासम्मको प्रस्तुति भएको कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो र सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। समापनका क्रममा सञ्चालक रुद्र खनाल केही समय ओझेल परेपछि युवा अध्यक्ष राजन अधिकारीले उत्साहपूर्वक कार्यक्रमको समापन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *