हात्तीपाइले उन्मूलन अभियानलाई प्रभावकारी बनाउन कमलमा IDA Impact Survey-I सम्पन्न
झापा, कमल गाउँपालिका। हात्तीपाइले रोग विरुद्ध सञ्चालन गरिएको आम औषधि सेवन अभियानको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले IDA Impact Survey-I (IIS-I) अन्तर्गत कमल गाउँपालिकामा समन्वय बैठकदेखि रगतको नमुना संकलनसम्मका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्।
स्वास्थ्य कार्यालय झापाको समन्वयमा २०८३ असार ३२ गते कमल गाउँपालिकाका वडा नं. २, ४ र ५ तथा २०८३ साउन १ गते वडा नं. ६ र ७ मा वडा–स्तरीय समन्वय बैठक सम्पन्न गरिएको थियो। बैठकमा वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, वडा सचिव तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कार्यक्रम फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक विष्णनाथ श्रेष्ठले सर्वेक्षणको उद्देश्य, कार्यविधि तथा नमुना संकलन प्रक्रियाबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।
त्यसपछि २०८३ साउन २ गतेदेखि कमल गाउँपालिकाका वडा नं. २, ४, ५, ६ र ७ मा स्वास्थ्यकर्मी, प्राविधिक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यालय झापाका कर्मचारी तथा संकल्प परियोजनाका कर्मचारीहरू समुदायमै पुगेर रगतको नमुना संकलन गरी IDA Impact Survey-I सञ्चालन गरेका थिए।
तीन दिनसम्म सञ्चालन भएको सर्वेक्षणमा प्रत्येक वडाबाट करिब १०८ जनाका दरले नमुना संकलन गरिएको थियो। कमल गाउँपालिकाभर ६०० भन्दा बढी रगतका नमुना संकलन गरिएकोमा ती नमुनाको परीक्षण कमल नगर अस्पतालको प्रयोगशालामा स्वास्थ्य कार्यालय झापाका युवनाथ बरालद्वारा भइरहेको छ। हालसम्म प्राप्त नतिजाअनुसार ११ जनामा संक्रमण पुष्टि (पोजिटिभ) भएको छ भने अन्य परीक्षण प्रतिवेदन आउने क्रम जारी रहेको छ। संक्रमण पुष्टि भएका व्यक्तिका परिवारलाई हात्तीपाइले रोगविरुद्धको आम औषधि वितरण कार्यसमेत अघि बढाइएको छ।
उक्त कार्यक्रम सञ्चालनमा सहारा नेपाल, फेयरमेड (Fairmed) तथा संकल्प परियोजनाको महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहेको छ भने समग्र कार्यक्रमको नेतृत्व स्वास्थ्य कार्यालय झापाले गरिरहेको छ।
यस अवसरमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले हात्तीपाइले उन्मूलन अभियानलाई सबैको साझा दायित्व भएको उल्लेख गर्दै भन्नुभयो, “कमल गाउँपालिकालाई हात्तीपाइले रोगमुक्त गाउँपालिका बनाउने हाम्रो स्पष्ट लक्ष्य र दृढ प्रतिबद्धता छ। यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था तथा सम्पूर्ण नागरिकको सक्रिय सहभागिता आवश्यक छ। समयमै परीक्षण, आवश्यक औषधि सेवन र समुदायको सहयोगबाट हामी हात्तीपाइलेमुक्त कमल निर्माण गर्न सफल हुनेछौं।”
उहाँले स्वास्थ्यसँग सम्बन्धित हरेक अभियानमा गाउँपालिकाले आवश्यक स्रोत, साधन, समन्वय र सहयोग उपलब्ध गराउँदै स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।




















