
दमक। चाडपर्वको मौका छोपेर बजारमा मूल्यवृद्धि र उपभोक्ता ठगी हुन नदिन दमक नगरपालिकाले कडा कदम चालेको छ। नगरपालिकाले मासुको मूल्य यथावत राख्न र खाद्यान्नमा मूल्य नबढाउन व्यवसायीलाई निर्देशन दिएको छ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार दीपावली र छठपछि मासु व्यवसायीसँग छलफल गरी मूल्यबारे थप निर्णय गरिनेछ।
नगरपालिकाले फुटपाथ तथा सडक अवरुद्ध हुने गरी व्यवसाय सञ्चालन नगर्न, दर्ता भएको स्थानमै कारोबार गर्न र भन्सार छली गरी ल्याइएका फूललगायतका वस्तु बिक्री नगर्न चेतावनी दिएको छ। अवैध रूपमा भित्र्याइएका तथा प्लास्टिकका फूल बिक्री गरेको पाइए जफत गरी नष्ट गरिने जनाइएको छ।
त्यस्तै, दमकमा सिटी रिक्सा तोकिएको स्थानमा मात्र पार्किङ गर्नुपर्ने र निर्धारित भाडाभन्दा बढी लिन नपाइने निर्णय गरिएको छ।
दमक । पूर्वाञ्चल नाजरिन युवा संगती नेपाल (एनवाईई) ले आइतबार बिहान झापाको दमकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ। दमक–१ स्थित सूर्योदय टोलमा रहेको सिनै नाजरिन चर्चमा आयोजित कार्यक्रममा विभिन्न मण्डलीका प्रतिनिधि तथा स्थानीय गरी ७५ जनाले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी दमक पालिका शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा सिनै नाजरिन चर्चका प्रमुख पाष्टर वीरेन राईसहित विभिन्न चर्चका पाष्टर तथा अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमबारे जानकारी दिँदै पाष्टर वीरेन राईले मानवीय सेवाप्रतिको प्रेम, एकता, सहकार्य र इसाई धर्मावलम्बीहरूको सामाजिक योगदान अभिवृद्धि गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। देशभरका अस्पतालमा रगतको अभाव भइरहेका बेला रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्याकउन कार्यक्रम गरिएको उहाँको भनाइ थियो।
उहाँका अनुसार मण्डलीका सदस्यहरूमा नियमित रक्तदानसम्बन्धी सकारात्मक सोच र चेतना विकास गर्ने उद्देश्यले वार्षिक रूपमा कार्यक्रम आयोजना हुँदै आएको छ। सिनै नाजरिन चर्चमा यस वर्ष चौथो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो। कार्यक्रममा झापाका विभिन्न स्थान, इलामको चुलाचुली गाउँपालिका तथा मोरङका विभिन्न मण्डलीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सो अवसरमा पाष्टर राईले रक्तदान गर्ने रक्तदाता, प्राविधिक सहयोग उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी दमक शाखाका रक्तसञ्चार विभाग प्रमुख सिद्धार्थ दाहालसहितको टोली, सञ्चारकर्मी तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने आयोजकले जनाएको छ।
कार्तिक, दमक – झापाको दमकमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समूहको २९औँ वार्षिक साधारणसभा तथा परिषद् भेला सम्पन्न भएको छ। आइतबार हंसे–दुम्से सामुदायिक वनको भवनमा आयोजित कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।
कार्यक्रममा हंसे दुम्से सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष योगराज दंगालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित योजना सार्वजनिक गर्नुभयो। त्यसैगरी, कोषाध्यक्ष माया कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त आर्थिक वर्षका लागि अनुमानित आम्दानी तथा खर्च दुवै १ करोड ९६ लाख ३३ हजार १०० रुपैयाँ ६ पैसा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा विकासमा महत्वपूर्ण योगदान पुर्यांउनुभएका पूर्वअध्यक्षहरूलाई सम्मानसमेत गरिएको थियो। वनको संस्थागत विकास र संरक्षणमा पुर्या एको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपाध्यक्ष नन्दिकेशर दंगालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सुष्मा अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साधारणसभा तथा परिषद् भेलामा वडा नम्बर ३ का वडाध्यक्ष नवीन बराल, वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, पूर्वअध्यक्षलगायत उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम हंसे दुम्से सामुदायिक वन उपभोक्तासमूहका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दमक, झापा । कला, साहित्य र सङ्गीतको प्रवर्द्धन, सिर्जनशीलताको सम्मान तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकास गर्ने उद्देश्यले दमकमा बिहीबारदेखि कला, साहित्य र सङ्गीत महोत्सव भइरहेको छ।
दमक–१ स्थित मातृभूमि पार्टी प्यालेसमा आयोजना भइरहेको महोत्सवले सर्जक, साहित्यकार, कलाकार तथा सङ्गीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ।
महोत्सवअन्तर्गत आज आर्ट वर्कसप (कला कार्यशाला) तथा हुर्रा नाच प्रस्तुत गरिएको छ। त्यस्तै, भोलि अपराह्न ४ बजेदेखि ‘Lomus & The Last Page’ ब्यान्डको सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।
सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क गरिएको नाता फाउन्डेसनका अध्यक्ष जितेन साम्पाङ राईले जानकारी दिनुभयो। महोत्सवले स्थानीय कला, संस्कृति र सङ्गीतको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बाह्रदशी जेसीजले जेसीज सप्ताह–२०२६ आयोजना गर्ने भएको छ। जेसीज सप्ताहअन्तर्गत महिला शिक्षक प्रशिक्षण, स्थानीय व्यवसाय प्रवर्द्धन, मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, देउसी–भैलो, उद्घोषण तथा स्वर सीप प्रशिक्षण र वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ।
आयोजकले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार कात्तिक २५ गते उद्घाटन समारोह तथा खुला रक्तदान कार्यक्रमबाट सप्ताहको सुरुवात हुनेछ। सोही दिन महिला शिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन हुनेछ। कात्तिक २६ गते स्थानीय व्यवसाय प्रवर्द्धन, २७ गते मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, २८ गते उद्घोषण तथा स्वर सीप प्रशिक्षण र देउसी–भैलो कार्यक्रम आयोजना गरिनेछ।
त्यस्तै, कात्तिक २९ गते जेसीज सप्ताहको समापन समारोह तथा सांस्कृतिक कार्यक्रम र मंसिर २ गते वक्तृत्वकला प्रतियोगिता तथा समापन समारोह आयोजना गर्ने कार्यक्रम तालिकामा उल्लेख छ।
सप्ताहव्यापी कार्यक्रममार्फत नेतृत्व विकास, सीप अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्द्धन तथा सामाजिक सहभागिता बढाउने लक्ष्य राखिएको छ।
कार्तिक झापा , कमल / झापाको कमलमा ट्रकको ठक्करबाट शिवसताक्षी ८ का एक युवकको मृत्युु भएको छ । शुक्रबार साँझ अन्दाजी ६ः५५ बजे कमल गाउँपालिका ५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र.न. १–०१– ००१४ प ६४८९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ का २९ वर्षीय सागर तिमल्सिना घाइते भएका थिए । उनलाई उपचारको लागि कन्काई नगर अस्पताल सुरुङगामा पुर्याईएको थियो । चिकित्सकले ७ः३० बजे मृत घोषणा गरेका थिए ।
ट्रक चालक धनुषा धनुषाधाम नगरपालिका ५ नौसय बिगाह बस्ने बर्ष २८ का शिवशंखर महतो र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालको सरुवा भएसँगै एक औपचारिक कार्यक्रमका बीच ‘फेरि भेटौँला’ कार्यक्रमसहित बिदाइ गरिएको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, पालिकाका शाखा प्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले ढकालको कार्यकालको स्मरण गर्दै उहाँले पुर्याउनुभएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख हिमाल मिश्रले गर्नुभएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले प्र प्र अ केशब कुमार ढकाल सर कमल गाउँपालिकामा आएदेखि दुई वर्षभन्दा बढी समयसम्म निर्वाह गर्नुभएको जिम्मेवारी, इमानदारिता र कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
न्यौपानेले एउटै कार्यालयमा परिवारका सदस्यसरह मिलेर काम गर्ने क्रममा शिक्षा शाखा, आफू स्वयं, कर्मचारी, जनप्रतिनिधि वा अन्य कुनै पक्षबाट जान-अन्जानमा गल्ती हुन गई उहाँको मनमा चोट पुगेको भए त्यसलाई माफ गरिदिन आग्रह गर्नुभयो। साथै, कमल गाउँपालिकामा बिताएका दिनका तीतामीठा अनुभवमध्ये तीतो पक्षलाई बिर्सेर यहाँका मिठा तथा फलदायी सम्झनाहरू मात्रै आफूसँग लिएर जान उहाँले अनुरोध गर्नुभयो।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रमुख प्रशासकीय अधिकृत ढकाललाई खादा तथा दोसल्ला ओढाएर, फूलक गुच्छा र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्नुभयो। कार्यक्रममा अन्य शाखा प्रमुख तथा कर्मचारीहरूले समेत फूलका गुच्छा र खादा प्रदान गर्दै उहाँको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।
बिदाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आफूले कमल गाउँपालिकामा रहँदा सक्दो इमानदारिताका साथ जिम्मेवारी निर्वाह गरेको बताउनुभयो। कर्मचारी, जनप्रतिनिधि तथा आम समुदायबाट प्राप्त साथ र सहयोगकै कारण दुई वर्षभन्दा बढी समयसम्म यहाँ रहेर काम गर्न र आफ्नो बसाइ सहज बनाउन मद्दत पुगेको उहाँको भनाइ थियो।
आफ्नो लामो सरकारी सेवाको अवधिमा कमल गाउँपालिकामा बिताएको दुई वर्षभन्दा बढी समय विशेष र स्मरणीय रहेको बताउँदै उहाँले यहाँको बसाइ सुखद रहे पनि समय निकै छिटो बितेको अनुभव सुनाउनुभयो।
गाउँपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी तथा शिक्षकको व्यवस्थापन र तलब भुक्तानीमा देखिएका समस्या, महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अन्य आर्थिक दायित्वका कारण पालिकामाथि बढ्दै गएको भारबारे पनि उहाँले चर्चा गर्नुभयो। केन्द्र सरकारबाट प्राप्त परिपत्र तथा दरबन्दीभन्दा बढी कर्मचारी र शिक्षक व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण कटौती गर्नुपर्ने अवस्था आएको र थप करार सम्झौता गर्न नसकिएको विषयसमेत उहाँले उल्लेख गर्नुभयो।
आफ्नो बिदाइका क्रममा भावुक बन्नुभएका ढकालले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यालयको काम, कर्तव्य र नियममा रहेर जिम्मेवारी निर्वाह गर्ने क्रममा कसैको मनमा चोट पुगेको भए त्यसलाई व्यक्तिगत रूपमा नलिन आग्रह गर्दै निजामती कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भएका त्यस्ता तीतामीठा प्रसङ्गलाई आजकै दिनदेखि बिर्सेर अघि बढ्न उहाँले अनुरोध गर्नुभयो।
कार्यक्रमका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले ढकालजस्तो अनुभवी प्रमुख प्रशासकीय अधिकृतले जुनसुकै स्थानीय तहमा गएर पनि आफ्नो अनुभव र कार्यकुशलतामार्फत योगदान पुर्याउन सक्ने बताउनुभयो।
ढकालले कमल गाउँपालिकामा रहँदा निर्वाह गर्नुभएको जिम्मेवारी, पुर्याउनुभएको योगदान र कामप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै अध्यक्ष राईले उहाँको कार्यकुशलताको आवश्यकता भविष्यमा कमल गाउँपालिकालाई समेत पर्न सक्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी शाखा प्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले ढकालसँगको सहकार्य र उहाँसँग बिताएका अनुभवहरू स्मरण गर्दै आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले समापन मन्तव्य राख्नु भएको थियोे ।
दमक। भाषा, साहित्य, कला, संस्कृति र संगीतको माध्यमबाट मानवियता र मन जोड्ने उद्देश्यसहित झापाको दमकमा भोलिदेखि बृहत् उत्सव सुरु हुने भएको छ।
नाता फाउन्डेसनको आयोजनामा कात्तिक भोली बिहिबार देखि १५ गते शनिबारसम्म दमकस्थित मातृभूमि पार्टी प्यालेसमा विभिन्न कार्यक्रम सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष जितेन साम्पाङले जानकारी दिए।
महोत्सवमा कला प्रदर्शनी, दमक साहित्य महोत्सव, कला कार्यशाला तथा संगीत महोत्सवसहितका कार्यक्रम समावेश गरिनेछन्। भाषा, साहित्य, कला, संस्कृति र सिर्जनात्मक उद्यमलाई एउटै मञ्चमा जोड्दै स्थानीय प्रतिभा, सर्जक तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
“कलामा सिर्जना सोच्नेछौँ, साहित्यमा सम्भावना बोक्नेछौँ र संगीतमा राष्ट्रको भविष्य खोज्नेछौँ,” साहित्यकार प्रकाश बुढाथोकीले भने, “हामी मानवियता र मन जोड्ने काम गर्न खोजिरहेका छौँ।” साम्पाङले भने ।
उनका अनुसार उत्सवमा लोपोन्मुख जातजातिका मौलिक भेषभूषा तथा नाचसमेत प्रदर्शन गरिनेछ। यसले विविध जातजातिको पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दमक भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा परिचित ठाउँ हो। यहाँ नियमित साहित्यिक गोष्ठी, वैचारिक विमर्श तथा ठूला साहित्यिक महोत्सव हुँदै आएका छन्। यसै परम्परालाई थप विस्तार गर्दै सिर्जना, सम्भावना र उद्यमशीलतालाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको आयोजक सस्थाका सल्लाहकार जितेन मुस्कानले बताए ।
बुढाथोकीले यो कार्यक्रम एउटा ठूलो उत्सव बन्ने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र सिर्जनासँग जोड्न तथा सरकारी सरोकारवाला निकायलाई समेत भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका नयाँ अभ्यास सिक्ने अवसर दिन सक्ने अपेक्षा गरिएको छ।
विराटनगर । विराटनगर जेसीजको आयोजनामा ‘जेसीज सप्ताह २०२६’ आज (कात्तिक १०) देखि सुरु हुँदैछ। अक्टोबर २७ देखि नोभेम्बर १ सम्म सञ्चालन हुने सप्ताहअन्तर्गत युवा नेतृत्व विकास, सामाजिक सेवा, स्वास्थ्य सचेतना तथा व्यक्तित्व विकाससँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिने भएको छ।
सप्ताहको पहिलो दिन मंगलबार विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा नेपाल पत्रकार महासंघ मोरङसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ। बुधबार (कात्तिक ११) जेसीआई विराटनगरको सचिवालयमा ‘राजेन्द्रबहादुर श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता’ सञ्चालन हुनेछ।
त्यसैगरी, बिहीबार (कात्तिक १२) ओली एन्ड एसोसिएट्समा ‘मास्टर द माइक’ शीर्षकमा उद्घोषण तालिम आयोजना गरिनेछ। शुक्रबार (कात्तिक १३) विराटनगरको रानीस्थित हाटखोलामा ‘जीवन सञ्जीवनी’ स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
शनिबार (कात्तिक १४) स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रमसँगै कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आधारभूत जीवनरक्षा तालिम आयोजना गरिने आयोजकले जनाएको छ।
सप्ताहको समापन नोभेम्बर १ अर्थात् कात्तिक १६ गते आइतबार विराटनगरस्थित होटल स्वागतममा समापन समारोह तथा ‘जेसीज सम्मान’ कार्यक्रम आयोजना गरी गरिनेछ।
विराटनगर जेसीजका वरिष्ठ कार्यकारी उपाध्यक्ष जेसी रञ्जनकुमार शाही सप्ताहका प्रमुख कार्यक्रम संयोजक रहेका छन्। संस्थाका महासचिव जेसी श्रीजना थापा र अध्यक्ष जेसी कबी राज दाहालले सप्ताहलाई सफल बनाउन आवश्यक तयारी पूरा गरिएको जनाएका छन्।
सप्ताहअन्तर्गतका विभिन्न कार्यक्रमको संयोजन जेसी पंकज मेहता, जेसी पवन काफ्ले, जेसी करुणा धमला, जेसी हेमन्त रजक, जेसी सबिन अधिकारी, जेसी रोशनी प्रधान र जेसी मनोज तिवारीले गर्नेछन्।
युवाको नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्वको भावना विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजना हुन लागेको जेसीज सप्ताहले युवालाई सामाजिक गतिविधिमा सक्रिय बनाउनुका साथै नेतृत्व, व्यक्तित्व विकास र सेवामूलक कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
दमक। झापाको दमकमा नेपाली कांग्रेस वडा समिति दमक–७ ले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, विपन्न परिवारलाई राहत वितरण तथा राष्ट्रिय च्याम्पियन अन्तर्राष्ट्रिय चेस खेलाडीलाई सम्मान गरेको छ।
वडा सभापति अतित बान्तवा राईका अनुसार पर्वको अवसरमा आयोजित कार्यक्रममा ४७ विपन्न परिवारलाई चामल, नुन, तेल, दाल, नुडल्स र चिप्सलगायत खाद्य सामग्री वितरण गरिएको हो। कार्यक्रममा दमक–७ का स्थानीय पूर्व राष्ट्रिय च्याम्पियन अन्तर्राष्ट्रिय चेस खेलाडीलाई प्रमाणपत्र र नगदसहित सम्मानसमेत गरिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सदस्य भूमिराज राई, क्षेत्रीय सभापति रवि केसी, नेपाल विद्यार्थी संघका निवर्तमान सदस्य ललित मगरलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम वडा सचिव मनिष श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।





