सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइला नेपाल, दमक शाखाले दमक–३ गोलाटारस्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउने तथा आवश्यक शैक्षिक सामग्रीको अभावका कारण पढाइमा समस्या नहोस् भन्ने उद्देश्यले संस्थाले विद्यालयमा कापी, कलमलगायतका सामग्री वितरण गरेको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यार्थीको शैक्षिक विकासका लागि आवश्यक सहयोग पुर्याउने यस्ता अभियानले बालबालिकामा पढाइप्रति थप उत्साह र आत्मविश्वास बढाउन सहयोग पुग्ने बताएका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सामाजिक संस्थाहरूको निरन्तर सक्रियता आवश्यक रहेकोमा जोड दिए।
पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर मगर, प्रधानाध्यापक धर्मसुन्दर भट्टराई, संस्थाका सल्लाहकार महेश घिमिरे र गणेश प्रधान तथा सामाजिक व्यक्तित्वहरू सागर दुलाल, चिरञ्जीवी घिमिरे र दधिराम ढकाल लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, संस्थाका उपाध्यक्ष लबराज खड्का, सचिव पूजा दाहाल, केन्द्रीय सचिव दिवस खतिवडा तथा सदस्यहरू सोनु चौधरी, सन्जु शिवाकोटी र निशा अधिकारी पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै पहिलो पाइला नेपालले सञ्चालन गर्दै आएका विभिन्न सामाजिक गतिविधिको प्रशंसा गरेका थिए। उनीहरूले आर्थिक तथा शैक्षिक रूपमा आवश्यकतामा रहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएका थिए।
पहिलो पाइला नेपालले आर्थिक तथा शैक्षिक रूपमा आवश्यकतामा रहेका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायतका सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै क्रममा सामाजिक व्यक्तित्व हरि अधिकारीले शैक्षिक सामग्री सौजन्य गरेका थिए।

























