दमक– कांग्रेसमा भावी पुस्ताको आशा, भरोसा र विश्वासयोग्य पात्रका रूपमा परिचित युवा नेता हुन्—हुकुमसिंह राई। विकासप्रेमी व्यक्तित्वका रूपमा झापा–५ को राजनीतिक भूगोलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल राईको कांग्रेस राजनीतिमा परिचय निकै फराकिलो छ।
कांग्रेसको गाउँ, क्षेत्र हुँदै जिल्ला तहको नेतृत्वमा आफूलाई दर्विलो र सशक्त रूपमा उभ्याउँदै आएका राईले झापाको तत्कालीन तोपगाछी र लखनपुर गाविस समेटिएको कमल गाउँपालिकामा लामो समयदेखि कायम कम्युनिस्ट राजनीतिक प्रभावलाई चुनौती दिँदै नयाँ राजनीतिक अध्यायको सुरुवात गरेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षका रूपमा आफूलाई प्रस्तुत गरेका राईले २०७९ सालको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुँदै आफ्नो राजनीतिक यात्रालाई थप मजबुत बनाए।
नेपाली कांग्रेसको राजनीतिमा युवा उमेरमै सक्रिय रहेका राईले एक समय देशभरकै कान्छो महाधिवेशन प्रतिनिधि बनेर समेत इतिहास रचेका थिए। त्यसयता कांग्रेसको १४औँ महाधिवेशनमा युवा नेता राई झापा–५ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य दुवै पदमा सर्वाधिक लोकप्रिय मतसहित निर्वाचित भएका थिए।
गएको पुसको अन्तिम साता गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा पार्टीको पुनर्निर्माण, पुस्तान्तरण तथा रूपान्तरणको एजेण्डालाई अघि बढाउने युवा पुस्ताका नेतामध्ये राई पनि एक महत्वपूर्ण पात्रका रूपमा सक्रिय रहे।
यिनै युवा नेता हुकुमसिंह राई आगामी १० असोजमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार छन्। ‘अग्रजहरूको सम्मान र पार्टी संगठनमा युवा पुस्तालाई उचित स्थान’ भन्ने लक्ष्य र नारासहित महाधिवेशनमा होमिएका राईले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
कांग्रेसभित्र राईलाई तार्किक, समन्वयकारी, परिणाममुखी र सशक्त नेतृत्व क्षमताका युवा नेताका रूपमा चिनिन्छ। स्थानीय तहको नेतृत्वदेखि पार्टी संगठनका विभिन्न तहमा हासिल गरेको अनुभवलाई आधार बनाउँदै उनी अब पार्टीको महाधिवेशनमार्फत युवा पुस्ताको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने प्रयासमा छन्।

























