नेपाली कांग्रेसकी नेतृ तथा झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई जारी पार्टी महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा अघि बढ्ने तयारी गर्नु भएको छ ।
नेपाल विद्यार्थी संघको विद्यालय तहको समितिबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी भट्टराई हाल नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिकी सदस्य तथा कार्यसम्पादन समिति सदस्य हुनुहुन्छ । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएकी उहाँलाई अब केन्द्रीय तहमा रहेर काम गर्ने अवसर दिनुपर्ने कार्यकर्ताको समेत अपेक्षा रहेको बताइएको छ ।
भर्खरै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मतसहित निर्वाचित भएपछि भट्टराईप्रति पार्टीभित्रको चासो थप बढेको छ । अध्ययनशील, जनप्रतिनिधिका रूपमा सक्रिय तथा संगठनभित्र निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएकी नेतृका रूपमा उहाँलाई केन्द्रीय नेतृत्वमा देख्न चाहेको कार्यकर्ताहरू बताउँछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरसमेत रहेको दमकमा नेपाली कांग्रेसबाट पहिलो पटक उपप्रमुखमा निर्वाचित भएपछि भट्टराईको राजनीतिक पहिचान स्थानीय तहभन्दा बाहिरसमेत स्थापित भएको हो । दमक नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि उहाँले स्थानीय सरकार सञ्चालन, जनसरोकारका विषय र नगरपालिकाका विभिन्न गतिविधिमा नागरिकको पक्षमा कामगर्दै आउनु भएको छ । नेपाल नगरपालीका संघमा रहेर समेत उहाँले आप्mनो क्षमता देखाउनु भएको छ । उपप्रमुखको जिम्मेवारी सम्हालिरहँदा पनि उच्च शिक्षालाई निरन्तरता दिँदै उहाँ हाल पीएचडी अध्ययनरत रहनु भएको छ ।
पार्टीका यस अघिका अधिवेशनमा पनि लोकप्रिय मतसहित निर्वाचित हुँदै आउनुभएकी भट्टराईलाई महिला नेतृत्वको प्रतिनिधित्व बलियो बनाउने सम्भावित नेतृका रूपमा समेत हेरिएको छ । उहाँ संग स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारीसँगै पार्टी संगठनमा सक्रिय रहँदै प्रदेश तहको जिम्मेवारीसमेत प्रभावकारी रूपमा निर्वाह गरेको अनुभव रहेको छ ।
उहाँले पार्टीले यसअघि दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक निर्वाह गरेको र प्रदेश समितिको कार्यसम्पादन समितिमा रहेर काम गर्ने अनुभवसमेत हासिल गरिसकेकाले अब केन्द्रीय समितिमा रहेर काम गर्ने इच्छा रहेको बताउनु भएको छ ।
“पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएकी छु । प्रदेश समितिमा रहेर काम गर्ने अनुभव पनि प्राप्त भएको छ । अवसर पाए अब केन्द्रीय समितिमा रहेर पार्टीका लागि काम गर्ने इच्छा छ,” भट्टराईले भन्नु भयो ।
पार्टीको संगठन विस्तार, महिला सहभागिता, स्थानीय तहको जनप्रतिनिधिका रूपमा प्राप्त अनुभव तथा प्रदेश तहको राजनीतिक भूमिकालाई आधार बनाएर कार्यकर्ताले भट्टराईलाई केन्द्रीय नेतृत्वमा देख्न चाहेको बताइएको छ ।

































