दमक । झापाको दमक–६ स्थित ग्लोबल एजुकेसनल एकेडेमीले चाडपर्वका समयमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा विद्यालय परिसरमै आयोजित रक्तदान कार्यक्रममा करिब २५० पिन्ट रगत संकलन भएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीका अनुसार विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवताको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थी तथा विद्यालय परिवारलाई सामाजिक सेवाप्रति प्रेरित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।
चाडपर्वका समयमा विभिन्न कारणले रगतको माग बढ्ने र अभावसमेत हुन सक्ने भएकाले कार्यक्रमले बिरामीहरूका लागि रगतको सहज आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

































