दमक । झापाको दमकमा कला, साहित्य र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने सांस्कृतिक उत्सव आयोजना हुने भएको छ। नाता फाउन्डेसनको आयोजनामा कात्तिक १२ देखि १५ गतेसम्म विभिन्न कार्यक्रमसहित उत्सव सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार उत्सवअन्तर्गत कात्तिक १२ गते कला प्रदर्शनी तथा उद्घाटन समारोह, १३ गते दमक साहित्य महोत्सव, १४ गते कला कार्यशाला र १५ गते संगीत महोत्सव तथा सम्मान समारोह आयोजना गरिनेछ।
नाता फाउन्डेसनका अध्यक्ष जितेन सम्पाङ राईका अनुसार कला, साहित्य र संगीतको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। उत्सवका क्रममा विभिन्न विधाका कला, साहित्यिक सिर्जना तथा सांगीतिक प्रस्तुतिहरू समेटिने उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रमले विशेषगरी युवाहरूमा रहेको सिर्जनात्मक प्रतिभा उजागर गर्न, नयाँ सिर्जनालाई प्रोत्साहन गर्न तथा कला, साहित्य र संगीतको क्षेत्रमा क्रियाशील सर्जकलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
उत्सवले दमकसहित समग्र क्षेत्रको सांस्कृतिक पहिचानलाई थप सशक्त बनाउनुका साथै कला, साहित्य र संगीतप्रेमीबीच सिर्जनात्मक आदानप्रदानको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।




































