दमक। आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै झापाको दमकलगायत विभिन्न स्थानमा विधिवत् रूपमा सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि दमकसहित झापाका विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयमा निर्माण गरिएका छठघाटमा व्रतालु, श्रद्धालु तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन्।
चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको समापनसँगै छठघाटहरूमा भक्तिमय वातावरण देखिएको थियो। यस पर्वले आपसी सद्भाव, सामाजिक एकता, पारिवारिक प्रेम तथा धार्मिक सहिष्णुताको सन्देशसमेत दिएको छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा तथा अर्घ अर्पण गरिने छठ पर्व तराई–मधेसको मौलिक संस्कृति, परम्परा र पहिचानका रूपमा स्थापित छ। पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत छठ पर्वप्रतिको आकर्षण बढ्दै गएको छ।



























